कबड्डी-४ नेपालसँगै अष्ट्रेलियामा पनि

कबड्डी-४ नेपालसँगै अष्ट्रेलियामा पनि


  • राजन घिमिरे

प्रबासमा नेपाली चलचित्र हेर्ने अष्ट्रेलियामा रहनुहुने प्रबासी नेपालीहरूको इच्छा अब पूरा हुने भएको छ । कोरोना कहरको बीचमा कुनै नयाँ चलचित्र प्रदर्शन नहुँदा खिन्न हुन पुगेका अष्ट्रेलियाबासी नेपालीहरूमा चलचित्र कबड्डी–४ ले उत्साह ल्याउने भएको छ ।

अष्ट्रेलियामा नेपाली सांस्कृतिक कार्यक्रमको आयोजना र नेपाली चलचित्रहरूको प्रदर्शनमा अगाडि रहेको ‘हो र होइन होला इभेन्टसुले अष्ट्रेलियामा यो चलचित्रको प्रदर्शनको ब्यवस्थापन मिलाएको हो । एस पिपुल ऐजुकेशन एण्ड भिसा सर्भिसेसका रोशन भट्टराईका अनुसार चलचित्र कबड्डी-४ नेपालसँगै अष्ट्रेलियाका विभिन्न शहरहरूमा प्रदर्शनमा आउने निश्चित भएको हो । यो चलचित्र सिड्नीको बरूउडमा रहेको इभेन्टस सिनेमा हलमा मे २७ र २८ तारेखका दिन साँझ ६ बजे प्रदर्शन हुने छ । चलचित्रको अष्ट्रेलियाका अन्य शहरहरूमा पनि क्रमशः प्रदर्शन हुँदै जाने जानकारी दिइएको छ ।

पछिल्लो समय लोकप्रियताको शिखर चढ्दै दर्शकहरू माझ चासो बढाउन सफल यो चलचित्रको अघिल्ला तीन सिरिजहरू दर्शकहरूले मन पराइसकेका छन् । कबड्डी-४ को यो सिरिज पनि दर्शकहरू माझ चासो र प्रतीक्षाको चलचित्र बनिसकेको छ ।