‘छिटको सारी’ म्युजिक भिडियोमा मिनीस्कर्टको पहिरन !

‘छिटको सारी’ म्युजिक भिडियोमा मिनीस्कर्टको पहिरन !


गायक लक्ष्मण गुरुङको सुमधुर स्वरमा रहेको ‘छिटको सारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नाचप्रधान गीतमा प्रेम पाण्डे ‘अनुपम’को शब्द/सङ्गीत रहेको छ । सङ्गीत संयोजन साहस शाक्यले र नवराज उप्रेतीले छायाङ्कन गरेको यस भिडियोमा दीपक एम सिंहको कोरियोग्राफी रहेको छ । भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

म्युजिक भिडियो छिटको सारी शीर्षकमा निकाले पनि दृश्यमा भने तिघ्रासमेत देखिने पहिरन लगाएर नाचेको देखिन्छ । गीतको अन्त्यमा मात्र छिटको सारी लगाएको दृश्यमा देखाइएको छ । आफ्नै वेषभूषा र पहिरनमा गीत राम्रो हुँदैन भन्ने मनोविज्ञान कलाकारले पालेको देखिन्छ । धेरै दर्शक र स्रोताले नेपालीपनका गीत मन पराउने भए पनि निर्माता, निर्देशकको ध्यान यसतर्फ नगएको देखिन्छ ।

म्युजिक भिडियोमा ‘तिमी खोला पारि मचाहिँ यता वारि, तिमीलाई भनी ल्याइदिएको छु मैले छिटको सारी’, ‘जोडी ढुकुर बस्यो हेर घरैको छानामा’, ‘चोखो माया लेखौँ आज दिलैको पानामा’ लगायत गीत समावेश गरिएको छ भने नायक आकाश श्रेष्ठ र कविता विष्टको अभिनय छ । श्याम लामाको निर्देशनमा तयार भिडियोलाई ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।