सिन्धुलीको तीनपाटन गाउँपालिका–१ नक्कलेमा भएको बलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी सिन्धुली अस्पतालमा उपचार शुरु गरिएको जानकारी प्राप्त भएको छ ।
सात जना घाइतेमध्ये कर्णबहादुर विक, तुल्सिराम पहाडी र चालक राजु खत्रीलाई थप उपचारका लागि सिन्धुली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिएका छन् । अन्य घाइतेको बेलघारी स्वास्थ्यचौकीमा उपचार भइरहेको बताइएको छ ।
दुर्घटनामा तिनपाटन गाउँपालिका–९ आम्बोटेका अन्दाजी ५२ वर्षीय रामजी भण्डारी, कमलामाई नगरपालिका–७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमा नै मृत्यु भएको प्रनाउ लामाको भनाइ छ ।
सात जना घाइते र तीन मृतक गरी १० जना उक्त बलेरोमा सवार रहेको अनुमान गरिएको छ । सडकबाट तल खोल्सामा गाडी खसेको र गाडीमुनि मानिस थिचिएको छ कि भन्ने आशंका गरिएको छ । दुर्घटनास्थलबाट गाडी निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सिन्धुलीबाढीबाट तीनपाटन गाउँपालिकाको चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०७५६ नंको सिङ्गलक्याप पिकअप बलेरो दुर्घटना भएको थियो । उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ ।
प्रतिक्रिया