नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त


दुई एआईजी अदालत जाने तयारीमा

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंह नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री देउवाको रूची र चाहनाअनुसार नै सुदूरपश्चिम प्रदेश घर भएका सिंहलाई सिंहलाई आईजीपी नियुक्त गरेको हो ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बसेको थियो । बैठकमा आईजीपी नियुक्तिको विषयमा छलफल भएको थियो । छलफलको क्रममा वरीयताक्रम अनुसार विश्व पोखरेललाई नेपाल प्रहरीको आईजीपीमा नियुक्त गर्न सुझाव दिइएको बुझिएको छ । परामर्शका लागि गठबन्धनका शीर्ष नेताहरूलाई प्रधानमन्त्रीले बालुवाटारमा बोलाएका थिए ।

दुई महानिरीक्षकसहित १८ वैशाख २०४९ बाट सेवा प्रवेश गरेका सबै उच्च अधिकारीले आइतबार एकैपटक अनिवार्य अवकाश पाएका छन् । गठबन्धनमा गृहमन्त्री बालकृष्ण खाण र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पोखरेललाई आईजीपी बनाउनुपर्ने अडान लिएका थिए ।

तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई नै आईजीपी बनाउने अडान लिएका थिए, जसले गर्दा बिहान ११ बजेलाई बोलाइएको मन्त्रिपरिषद् बैठक बस्न ढिलाइ भएको थियो ।

यसैबीच सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक आईजीपीमा बढुवा गरेपछि दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले अदालत जाने तयारी गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा अदालत जाने तयारीमा लागेका हुन् । त्यसका लागि उनीहरूले छलफल थालेका बुझिएको छ ।

पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि मात्रै सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।

आईजीपी नियुक्त गर्ने विषयमा प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणबीच मतभेद थियो । गृहमन्त्री खाण पोखरेललाई नै आईजीपी नियुक्त गर्नुपर्ने अडानमा थिए तर देउवाले सिंहलाई नै आईजीपी बनाउने बताएका थिए । आईजीपी नियुक्तिको विवाद पाँचदलीय गठबन्धनको बैठकमा समेत पुगेको थियो । जहाँ शीर्ष नेताहरू पनि विभाजित देखिएका थिए । आईजीपी नियुक्तिको विषयमा नेताहरूबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवा आफ्नै अडानअनुसार अघि बढेका हुन् ।