- सनत आचार्य
नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ वैशाख १८ गतेको निर्णयअनुसार वैशाख १९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका धिरजप्रताप सिंहलाई सोमबार गृह मन्त्रालयमा आयोजित एक विशेष समारोह बीच गृहसचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्हबाट सुशोभित गरिएको छ । यससँगै सिंहले नेपाल प्रहरीका २९औँ प्रहरी महानिरीक्षकको स्थानमा आफ्नो नाम अङ्कित गराएका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै गृहसचिव पाण्डेले नेपाल सरकार गृहमन्त्रालयको तर्फबाट प्रहरी महानिरीक्षक सिंहलाई बधाई तथा सफलताको कामना गर्दै नेपाल प्रहरीको नयाँ नेतृत्वले राज्य, सरकार, आमनागरिक र सिङ्गो समाजले राखेको अपेक्षा पूरा गराउन दृढतापूर्वक अगाडि बढ्न पहल गर्ने विश्वास व्यक्त गरे ।
हालै प्रहरी संगठनको तर्फबाट प्रस्तुत स्थानीय तह निर्वाचन र शान्तिसुरक्षाको खाका समावेश भएको कार्ययोजना कार्यान्वयनका लागि गृहमन्त्रालयले अभ्यास, प्रयास र निरन्तरता दिने गृहसचिव पाण्डेले बताए ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले व्यावसायिक निष्ठाका साथ राष्ट्र सेवामा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, प्रधानमन्त्री, गृहमन्त्री तथा गृहमन्त्रालयप्रति कृतज्ञतासहित आभार व्यक्त गरेका थिए ।
नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले नेपाल सरकार र गृहमन्त्रालयको मार्गनिर्देशनले प्रहरी संगठनको मार्ग प्रशस्त गर्ने आधार भएको उल्लेख गर्दै मानवअधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दै विधिको शासन स्थापना एवम् आर्थिक समृद्धि हासिल गर्नका लागि नेपाल प्रहरी कटिवद्ध र कृतसंकल्पित रहेको धारणा अघिसारे ।
महानिरीक्षक सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवं पारदर्शी बनाइ कर्मचारीहरुमा जवाफदेहिता बढाउने र अकर्मण्यता पूर्णतः निर्मूल गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता कामय राख्ने, आपराधिक तत्वहरूसँगको साँठगाँठलाई निमिट्यान्न पार्नेमा केन्द्रीत रहेर संगठन सुधारका कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै शहरकेन्द्रित अपराधहरुको स्वरुपमा भैरहेको तीव्र परिवर्तनले थपिएका चुनौतीको सामना गर्न नेपाल प्रहरीलाई आधुनिकीकरण गर्दै लैजानुको विकल्प नभएको तर्क राखे ।
अपराध र सुरक्षा चुनौतीका आधारमा मापदण्ड बनाइ शहर र ग्रामीण क्षेत्रकेन्द्रीत प्रहरीको अवधारणाअनुरुप ‘सुरक्षित शहर र सुरक्षित गाउँ’ निर्माणका लागि आमनागरिकबीच नेपाल प्रहरीको विश्वास अभिवृद्धि गर्नेतर्फ प्रहरी रणनीति केन्द्रीत रहने र राष्ट्रिय प्राथमिकतामा रहेको स्थानीय तहको निर्वाचनलाई सुरक्षित एवं भयरहित तवरबाट प्रत्येक नागरिकले आफ्नो बालिग मताधिकारको प्रयोग गर्न सक्ने गरी निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण स्रोतसाधन प्रभावकारी रुपमा परिचालित हुने जानकारी दिए ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले सोमबारै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन् ।

विसं २०२४ कात्तिक २० गते दैलेख जिल्लाको नारायण नगरपालिका वडा नम्बर ७ मा जन्मेका प्रहरी महानिरीक्षक सिंह २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका थिए भने २०६२ जेठ २२ गते प्रहरी नायव उपरीक्षक, २०६९ माघ ११ गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७७ वैशाख ७ गते प्रहरी नायब महानिरीक्षक र २०७८ चैत ८ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका हुन् ।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका प्रहरी महानिरीक्षक सिंहले कम्प्रिहेन्सिभ क्राइसिस मेनेजमेन्ट, अपराध अनुसन्धान, क्रिमिनल इन्टेलिजेन्स एनालाइसिस कोर्ष, एडभान्स ट्रेनिङ अन नेशनल सेक्युरिटी, ट्रेनिङ कोर्स अन बोर्डर ल इन्फोर्समेन्ट फर नेपाल, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न १३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन् ।
महानिरीक्षक सिंह सुप्रवल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, लगायतका विभूषणबाट विभूषित हुनुका साथै समय समयमा उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसा पत्रहरूद्वारा सम्मानित भएका छन् ।
यसैबीच सोमबार प्रहरी महानिरीक्षक सिंहले दर्ज्यानी चिन्ह प्राप्त गरेलगत्तै प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी संगठनमा असल अभ्यासहरूलाई निरन्तरता दिँदै समयअनुकूल पद्धति र प्रविधिउन्मुख नयाँ परम्पराको शुरुवात गर्ने प्रतिबद्धता जनाए ।
नवनियुक्त प्रहरी प्रमुख सिंहले नैतिक आचरणयुक्त प्रहरी व्यावसायिकता अभिवृद्धि र अपराध अनुसन्धानमा वैज्ञानिकीकरणका साथै सुशासन प्रवर्द्धन गर्न कार्यविधि तथा मापदण्ड निर्माण, आर्थिक पारदर्शिता कायम र प्रहरी जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल हुने जानकारी दिए । आसन्न स्थानीय तहको निर्वाचन यतिबेला राष्ट्रिय प्राथमिकताको विषय भएको उल्लेख गर्दै महानिरीक्षक सिंहले निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सफलतापूर्वक सम्पादन गर्न संगठनलाई निर्देशन दिए ।
कुनै पनि व्यक्ति वा संगठन आलोचनामुक्त नहुने उल्लेख गर्दै आईजीपी सिंहले नेपाल प्रहरी र यसमा आवद्ध सकल दर्जा नागरिक जीवनको एक अभिन्न अंश भएकोले प्रहरीका हरेक क्रियाकलापमाथि नागरिकले प्रदान गरेको सुझाव, गुनासो र आलोचनालाई सकारात्मक रुपले स्वीकार गर्दै त्यसको उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
महानिरिक्षक सिंहले भने– ‘नेपाल प्रहरीको आधार भनेकै नागरिक विश्वास र भरोसा हो, त्यसैले समाज र राष्ट्रको हित र सुरक्षाका लागि संगठन र यसमा आवद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूले कानूनी राज्यको मान्यता अनुरुप निष्पक्ष एवम् व्यावसायिक रुपमा सेवा प्रवाह गर्न र अवान्छित तवरले कुनै प्रकारको सम्झौता नगर्न निर्देशन दिन्छु ।’
महानिरीक्षक सिंहले प्रहरी संगठनभित्र गैरव्यावसायिक आचरण किञ्चित सह्य र क्षम्य नहुने चेतावनी दिँदै कानूनसम्मत जिम्मेवारी बहन गर्ने सिलसिलामा कुनै अधिकृत तथा जवानहरूबाट अकर्मण्यता, लापरवाही र उदासीनता नहुनेमा आफू विश्वस्त रहेको जिकिर गरे । भष्ट्राचारमा शून्य सहनशीलता अवलम्बन गर्नुका साथै चोरी निकासी गर्ने, प्राकृतिक स्रोतको दोहन गर्ने तथा अन्य आपराधिक कार्यमा संलग्न हुने तत्वहरूसँगको साँठगाँठ एवम् अवान्छित क्रियाकलापमा संलग्न रहने, त्यस्ता कर्मलाई प्रश्रय दिने तत्वहरूको पहिचान गरी कारवाही गर्ने सवालमा आफू कठोर रूपमा प्रस्तुत हुने आईजीपी सिंहले बताए ।
प्रतिक्रिया