आइजिपी बढुवाविरुद्ध परेको रिट निवेदनमाथि आज पनि सुनुवाइ जारी

आइजिपी बढुवाविरुद्ध परेको रिट निवेदनमाथि आज पनि सुनुवाइ जारी


नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आइजिपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सुनुवाइ आज पनि जारी रहने भएको छ । बुधबार भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा हिजो बुधबार मुद्दाको सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण सुनुवाइ नसकिएपछि बिहीबारको लागि हेर्दाहेर्दैमा राखिएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन् ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ ।

ज्ञातव्य छ, वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । नवनियुक्त महानिरीक्षक सिंहले गत सोमबार नै पदबहाली गरिसकेका छन् ।