‘अपरिचित व्यक्तिले दिएको नखानू’

‘अपरिचित व्यक्तिले दिएको नखानू’


अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन नखान नेपाल प्रहरीले अनुरोध गरेको छ ।

स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन ग्रहण गर्दा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको भन्दै प्रहरीले त्यस्ता व्यक्तिले दिएको प्रसाद नखान अनुरोध गरेको हो ।

प्रहरीले आइतबार सार्वजनिक सूचना जारी गरी निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाबाट सुरक्षित रहन र त्यस्तो सूचना प्राप्त भएमा प्रहरीमा खबर गर्न अनुरोध गरेको छ ।

प्रनानि महतोविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले बागलुङका प्रहरी नायव निरीक्षक रुपनारायण महतोविरुद्ध विशेष अदालतमा आर्थिक अनियमितताबारे मुद्दा दायर गरेको छ ।

विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महतोविरुद्ध रु ३८ हजार भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गइ लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । उनलाई अख्तियारको टोलीले बागलुङ सदरमुकामबाट यही वैशाख ६ गते रङ्गेहात पक्राउ गरेको थियो ।