सुरक्षा व्यवस्थाको धज्जी उड्यो -उपेन्द्र यादव (पूर्वपरराष्ट्रमन्त्री)

सुरक्षा व्यवस्थाको धज्जी उड्यो -उपेन्द्र यादव (पूर्वपरराष्ट्रमन्त्री)


० चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणलाई कसरी हेर्नु भएको छ ?
– चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण अचानकजस्तो, अति गोप्यजस्तो हुन पुग्यो । यसअघि भ्रमणको अति प्रचार भयो भने अहिले अति गोप्य हुनुको अर्थ नेपालको सुरक्षा-प्रणालीमा चिनियाँहरू विश्वस्त हुन नसकेको भन्ने लाग्छ । हुन पनि नेपालको गृहप्रशासन त यतिबेला निकम्मा नै देखिएको छ, दिनदहाडै अनेक घटना भइरहेछन्, नेपाली जनता नै विश्वस्त हुन नसकिरहेको अवस्थामा चीनजस्तो देशका प्रधानमन्त्रीलाई विश्वस्त तुल्याउन सक्ने कुरै भएन अहिलेको सरकार र गृह प्रशासनले । तर, जे-जस्तो रूपले भए पनि चिनियाँ प्रधानमन्त्रीको नेपाल आगमनलाई भने उपलब्धिपूर्ण नै मान्नुपर्छ । भ्रमणलाई नकारात्मक ठान्नुपर्ने कारण र अवस्था भने छैन । नेपाल सरकारको सुरक्षा-व्यवस्थालाई चाहिँ भ्रमणले धज्जी उडाइदियो, अपशोचको विषय यति मात्र हो ।
० सरकारले सुरक्षा संयन्त्र प्रभावकारी बनाउन नसकेको हो कि देखाउन नसकेको होला, के लाग्छ तपाईंलाई ?
– प्रभावकारी भएदेखि त नेपाली जनताले पनि महसुस गर्न सक्थे होलान् नि †
० सुरक्षा व्यवस्था यस्तो फितलो हुनुको कारण के होला ?
– सुरक्षा निकाय भ्रष्टाचारमा चुर्लुम्म डुब्नु नै मूल कारण हो । प्रहरी अधिकारीको नियुक्ति, सरुवा, बढुवा जति भए ती सबैमा लेनदेन र भ्रष्टाचार भएको समाचार जो सार्वजनिक भए, ती पक्कै निराधार थिएनन् भन्ने लाग्छ । गृह मन्त्रालय नै यतिबेला ब्रिफकेस मन्त्रालय बनिसकेको छ । यसले गर्दा सुरक्षा निकायका कर्मचारीको मनोबल गिरेको छ । राम्रो काम गर्नेहरू त्यहाँ हतोत्साही भएका छन् । राम्रो गर्नेले सजाय पाउने र चाकडी-चाप्लुसी गर्नेले अवसर पाउने भएपछि अवस्था त बिग्रन्छ नै † भ्रष्टाचार, गिरेको मनोबल र सक्षम नेतृत्वको अभावले गर्दा सुरक्षा-व्यवस्था प्रभावशाली बन्न सकिरहेको छैन । यसको नकारात्मक असर चिनियाँ प्रधानमन्त्रीको भ्रमणमा पूरापूर पर्‍यो ।
० चिनियाँ प्रधानमन्त्रीले नेपाललाई आर्थिक सहयोग त ठूलै गर्नुभयो, किन होला ?
– चीनले नेपालको शान्ति, समृद्धि र विकासमा जहिले पनि रुचि राखेको छ र अझै सहयोग गर्न तयार छ भन्ने नै मेरो बुझाइ छ । नेपालको स्थिरता र विकास चीनको चाहना हो, जो हिजो पनि थियो, अहिले पनि छ र भोलि पनि रहन्छ जस्तो मलाई लाग्छ ।
० उसको कुनै राजनीतिक स्वार्थचाहिँ छैन ?
– चीनजस्तो विशाल देश र नेपालजस्तो सानो देश । यसमा चीनको भन्दा पनि नेपालकै स्वार्थ बढी हुन्छ । तर पनि आजको अन्तर्राष्ट्रिय राजनीतिमा हरेक मुलुकले आ-आफ्नो राजनीतिक स्वार्थ हेर्नु त अस्वाभाविक पनि छैन नि †
० चीनका प्रधानमन्त्रीले ँभारतसँग सम्बन्ध अझ प्रगाढ बनाऊ है भन्ने सुझाव नेपाललाई दिएर गए, यसको कारण के होला ?
– वास्तवमै चीन चाहन्छ कि भारत, नेपाल र चीन तीनवटै देशबीच राम्रो सम्बन्ध रहोस् † भारतसँग पनि उसको सम्बन्ध यतिबेला राम्रो रहेको र अझै राम्रो सम्बन्ध बनाउन तल्लीन रहेको अनुभूति गरिएको छ । हामीले भारतसँग मित्रता बढाउनुको अर्थ चीनसँग टाढिनु र चीनसँग मित्रता बढाउनुको अर्थ भारतसँग टाढिनु होइन, चीनले यो राम्ररी बुझेको छ । भारतसँग नेपालको खुला सीमा छ, उससँगको सम्बन्धको महत्त्व आफ्नै खालको र विशिष्ट छ, त्यसैले उक्त सम्बन्धलाई महत्त्व देऊ भनेर चीनले भनेको हो । यो अत्यन्त सकारात्मक कुरा हो ।
० चीनका प्रधानमन्त्रीको नेपाल भ्रमणले यहाँ जारी शान्तिप्रक्रिया, संविधानलेखन र विकास निर्माणका लागि सकारात्मक भूमिका खेल्नेमा विश्वस्त हुन सकिन्छ, होइन त ?
– हाम्रो यहाँ नेताहरू सुध्रिए भने उल्लेखित सवालमा यो भ्रमण फलदायी नै रहन्छ । कोही परिवर्तन नै नचाहने कोही अति उग्र हुने, कोही यत्तिकैमा कुवेर बन्ने, देश र जनतालाई लत्याउने प्रवृत्ति नेताहरूमा कायम रहे त अरूले जे-जति भरथेग गरे पनि के अर्थ रहन्छ र ?
० यस भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ आयाममा प्रवेश गर्‍यो भन्न सकिन्छ ?
– त्यो त निश्चित रूपमा सकिन्छ । नेपालको आर्थिक विकास र जनताको समृद्धिका सवालमा यो भ्रमण एउटा कोसेढुङ्गा नै हो । भविष्यले यो दर्शाउनेछ । तर, उसले सहयोग गर्ने हो, सुझाव दिने हो, गर्ने त हामीले नै हो । उसले हात समातेर सधैं डोर्‍याइरहन त कहाँ सक्छ र ? तर, जुन सद्भाव र सहयोग चीनबाट प्राप्त भएको छ योचाहिँ नेपाली जनताका लागि ठूलो योगदान हो उसको ।

वार जोनको भ्रमणजस्तो भयो-प्रकाशचन्द्र लोहनी (पूर्वपरराष्ट्रमन्त्री)
० चिनियाँ प्रधानमन्त्रीको भ्रमणलाई उपलब्धिमूलक भयो भनिएको छ, तपाईंले के अनुभव गर्नुभयो ?
– यो भ्रमणलाई मैले पनि उपलब्धिमूलक नै ठानेको छ । किनकि, चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ छोट्टै समयका लागि आउनुभएको भए पनि मित्रराष्ट्र चीनले नेपालप्राप्ति आफ्नो चासो छ, नेपालको विकास समृद्धिमा सहयोग र सद्भावना रहन्छ र नेपालको शान्तिप्रक्रियालाई सघाउन पनि आफू तयार छु भन्ने सन्देश दिएको छ यो पक्ष महत्त्वपूर्ण छ ।
० तर, छोटो अवधिका लागि सुटुक्क आएझैं गर्दा त राम्रो सन्देश जाँदैन होला नि †
– हो, पाँच घण्टा मात्रका लागि आवश्यक पूर्वजानकारी नदिए उहाँ आएकोचाहिँ कुनै ‘वार जोन’मा आएजस्तो भयो । आफूमाथि खतरा हुन सक्छ, अथवा आफ्नो लागि आवश्यक सुरक्षा नहुन सक्छ भनेर चिनियाँ प्रधानमन्त्री त्यसरी आउनुभएबाट नेपाल राज्यको सुरक्षा-साख अथवा सुरक्षा-क्षमतामा ठूलो कमजोरी छ, सुरक्षा-क्षमता घटिरहेको छ भन्ने सन्देश विश्वास समुदायमा जान सक्छ ।
० यसरी सुरक्षा-क्षमता घट्नुको कारण के होला त ?
– कुनै विदेशीको कारणले हाम्रो सुरक्षा-क्षमता घटेको त होइन, हाम्रो आन्तरिक झगडाकै कारणले हो । हरेक पार्टीमा आज तीनवटा गुट छन् भनिन्छ । मेरो एक व्यवसायी मित्रका अनुसार एउटा पार्टीबाट एकथरी आएर ‘लौन हामीलाई चन्दा चाहियाो भन्छन् अरे, उसलाई चन्दा दिएर पठाउन पाएको छैन सोही पार्टीको अर्को समूह आएर ‘उसको बारेमा थाहा छैन हामी त फलाना गु्रपका हौँ, हामीलाई अलग्गै चाहिन्छ’ भन्छ अरे † हामी त हाहाकारमा पर्‍यौँ, चल्नै नसक्ने भयौँ भनी उनी भन्थे । यो अत्यन्त गम्भीर विषय हो । यसरी पार्टीको आन्तरिक झगडाले गर्दा नेपालको आन्तरिक प्रशासन, राज्य सञ्चालन भताभुङ्ग भएको छ । अव्यवस्था व्याप्त छ । त्यसैको फल सुरक्षा-क्षमतामा पनि परेको छ ।
० त्यति ठूलो छिमेकी राष्ट्रका शक्तिशाली नेताको सङ्क्षिप्त नै भए पनि भ्रमण त भयो, यसको लाभ नेपालले उठाउन सक्यो कि सकेन होला –
– त्यस अर्थमा चाहिँ नेपालले पूरै लाभ उठाउन सक्यो भन्न सक्ने ठाउँ रहेन । एक दिनका लागि कमसेकम लुम्बिनी भ्रमण गराएर देखाउन सकिएको भए पनि त्यसबाट राम्रो लाभ हुन सक्थ्यो । हाम्रो क्षमता अभावका कारण त्यस्तो हुन सकेन, सुरक्षामा भर गरेन चीनले ।
० त्यत्रो प्रयत्न गरेर पनि नेपालको सुरक्षाप्रति आश्वस्त पार्न नसक्नुको कारण के होला ?
– यो त अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीलाई सोध्दा मात्र वास्तविक कारण पत्तो लाग्ला । उहाँहरूको अक्षमता, राजनीतिक दलहरूको एकले अर्कोलाई दोष थोपरेर आफू चोखिने प्रवृत्ति, शान्ति र संविधान निर्माणमा बढाएको अन्योलजस्ता कारणले नै यस्तो भएको हो जस्तो लाग्छ ।
० शान्तिप्रक्रिया अघि बढाउन चीनको पनि चासो त रह्यो नि, होइन ?
– शान्तिप्रक्रिया मात्र होइन, त्यसका साथसाथै आर्थिक विकास, नयाँ संविधान, नेपालको स्थायित्वजस्ता महत्त्वपूर्ण विषयमा चीनले पूरै चासो राखेको प्रतीत हुन्छ । चीनले यतिबेला अफि्रकाजस्तो अर्को महादेशसम्म पुगेर पनि आर्थिक सहायता दिइरहेको छ, विश्व बैंकभन्दा पनि बढ्ता सहायता गर्ने देशका रूपमा चीन देखापरेको छ भने एकदमै संवेदनशील क्षेत्र जोडिएको आफ्नो छिमकी मुलुकमा उसको चासो रहनु के अनौठो भयो र – नेपालमा राजनीतिक स्थायित्व भए मात्र आफ्नो स्वार्थमा सहायक हुनसक्छ भन्ने चीनलाई राम्ररी थाहा छ । आफ्नो स्वार्थको सशक्त संरक्षण गर्न सक्ने राजनीतिक शक्ति नेपालमा निर्माण होस् भनी चीन दत्तचित्तका साथ लागेको छ भन्ने ठान्छु म । चीनले यसपटक दिएको सहायता प्याकेजमा पनि यो प्रतिविम्बित भएको छ ।
० यत्रो सहयोग घोषणा गर्नुको तार्त्पर्य के होला त ?
– चीनको मुख्य स्वार्थ भनेको नेपालको भूमि कुनै पनि हालतमा चीनको तिब्बतमा गडबडी मच्चाउनका लागि प्रयोग हुन नसकोस् भन्ने छ झैं लाग्छ । यसका लागि नेपालमा स्थिरता, शान्ति हुनैपर्छ, नेपाली जनता विकासको बाटोमा लाग्नैपर्छ । अर्थात् नेपालको शान्ति र स्थिरताले नै चीनको पनि स्वार्थ एक हदसम्म सिद्धि हुन्छ । यही विश्लेषणका आधारमा यो सहायता दिइएको हो भन्न सकिन्छ ।
-ऋषि धमला