अति संवेदनशील मतदान स्थलमा तालिमप्राप्त कुकुरबाट निरीक्षण

अति संवेदनशील मतदान स्थलमा तालिमप्राप्त कुकुरबाट निरीक्षण


स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न मतदानस्थलहरूको निरीक्षण गरिएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ल्याइएको तालिमप्राप्त कुकुरसहित सम्बन्धित इलाकामा पर्ने प्रहरी युनिट इन्चार्जलगायतको टोलीले संवेदनशील मानिएका मतदानस्थल निरीक्षण गरेको हो ।

जिल्लाको मिर्चैया, गोलबजार, धनगढी, कसाहा र लहानका अति संवेदनशील मतदानस्थलको निरीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सिराहा प्रहरीका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मानेका एक सय ७० मध्ये बिहीबार दिनभर हरेक स्थानीय तहमा एउटा पर्ने गरी नमुनाका रूपमा मतदानस्थल निरीक्षण गरिनेछ ।

जिल्ला सुरक्षा समितिले विगतमा निर्वाचन बिथोलिएका, झडप भएका र अन्य भूमिगत समूहका सुरक्षा थ्रेट रहेका मतदानस्थलहरूलाई अति संवेदनशील मतदानस्थलको रूपमा सूचीकृत गरी सुरक्षाकर्मी परिचालन गरेको उनले बताए ।

स्थानीय तह निर्वाचनका लागि जिल्लामा दुई सय २१ मतदानस्थलअन्तर्गत चार सय ९८ मतदान केन्द्र तोकिएको छ । जसमा अतिसंवेदनशील एक सय ७०, संवेदनशील ४६ र पाँचवटा मतदानस्थल सामान्य सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहाको आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहमा दुई लाख १९ हजार पाँच सय ६४ पुरुष, एक लाख ९४ हजार छ सय महिला र दुई तेस्रोलिंगी गरी चार लाख १४ हजार एक सय ६६ मतदाता रहेका छन् ।