स्वस्थानी सुन्नुहुन्छ ?

स्वस्थानी सुन्नुहुन्छ ?


पुस-माघको यो जाडोमा कठ्याङ्ग्रिँदो राजधानीको शालीनदीमा स्वस्थानी ब्रत बस्ने महिलाको भीडले प्रत्येक वर्ष अचम्मै बनाउँछ । लाग्छ- मान्छेको आस्थाका अगाडि कसको के लाग्छ – सानो छँदा हाम्रो गाउँमा पनि स्वस्थानी निकै लोकप्रिय थियो, खोटाङ सालम्बुका क्षेत्री-महिला मात्र नभएर राई महिला पनि ब्रत बस्थे । महिनाभरि साँझमा स्वस्थानी कथा भनिसकेपछि साङ्गेको दिन पूजाआजा, सेल रोटीसहितको प्रसाद खुव रमाइलो लाग्थ्यो । मानिसको उमेर, परिवेश, शिक्षालगायतका कुराहरूसँगै विषयवस्तुलाई हेर्ने दृष्टिकोणहरू पनि परिवर्तन हुँदै जान्छन् । कुरा बुझ्दै जाँदा समयक्रममा स्वास्थानीका केही कुराहरू अलि असहजझैं लागे, पूजापछिको प्रसाद खाने कुरामा भनिएको छ, ‘पति भए पतिलाई, नभए छोरालाई, छोरा पनि नभए मीतछोरालाई, मीतछोरा पनि नभए खोलामा बगाइदिनु ।’ ल…छोरीले चाहिँ खान नहुने ? किन होला ? जिज्ञासा अर्को पनि थियो, लोग्नेमान्छेहरू स्वस्थानी ब्रत बस्छन् कि बस्दैनन् होला ? अनि उनीहरू ब्रत बस्दा प्रसाद पत्नीलाई दिने कि कसलाई दिने होला – लामो समय भएको थियो स्वस्थानी नसुनेको । आमाले भन्नुभो घर छोडेपछि त स्वास्थानी सुन्नै पाइएको छैन, तिमीहरू नहुँदा म घरमा गाउँका मानिस बोलाएर त भन्न लाउँथेँ…धेरै भयो, कति कुरा बिर्सिसकियो, एकपल्ट दोहोर्‍याएर पढुँ/सुनु जस्तो लाग्यो आफूलाई पनि । सानो छँदा ठाउँठाउँमा बडो रोमाञ्चित र कतै अति खिन्न हुँदै पढेको स्वस्थानी किन्न कहाँ पाइने हो थाहा पनि थिएन । प्रसिद्ध गायिका आनी छोइङको आत्मकथा फूलको आँखामा, वरिष्ठ पत्रकार किशोर नेपालको उपन्यास सहरको कथालगायतका पुस्तक किन्नका लागि पाटन बुक सप पस्दा अगाडि नै रातो रंगको कभरमा स्वस्थानी देखियो । ‘बुक सप’मा पुगेपछि नयाँ पुस्तकहरू के छन् भनेर एकछिन् अल्मलिँदाको समयमा थाहा भयो, स्वस्थानी त केही दिनदेखि सबैभन्दा बढी बिक्री हुने ग्रन्थ पो रहेछ । पाका, भरखरका, अधबैंसे धेरैथरी मानिस आए र स्वस्थानी साथमा बोकेर फर्किए । ‘सबैले लगे मलाई पनि राखिदिनुस् न त’ भन्ने स्टाइलमा स्वस्थानीसमेत थपेर म बाहिरिएँ ।
सानोमा सुनेको स्वस्थानीका कथा र उल्लिखित दृश्यबारे गरिने परिकल्पनाप्रतिको दृष्टिकोण फरक हुनु स्वाभाविक हुने नै भयो । अचम्म त के भने यत्तिका वर्ष कसैले नसोेधेको प्रश्न एउटा एफएमका कार्यक्रम सञ्चालकले गरे, फोनमा हेलो… भन्नासाथ उनले भने, ‘हामी अहिले ‘लाइभ’मा छौँ, तपाईं स्वस्थानी सुन्नुहुन्छ – ‘लाइभ’ भनिसकेपछि त्यहाँ उनलाई कहाँ, के, कता, अलिकति अगाडि जानकारी दिनुपर्दैन – जस्ता कुरा गर्ने प्रश्नै भएन । जवाफ सुरु गरेँ, ‘म स्वस्थानी मात्र होइन, रामायण, महाभारत, गीता, मनुस्मृति, विभिन्न पुराण, चाणक्य नीति, हितोपदेश, वेदलगायतका उपलब्ध भएसम्मका धार्मिक ग्रन्थहरू पढ्छु, सुन्छु र हिजोआज त यस्ता ग्रन्थका आधारमा टेलिसिरियलहरूसमेत बनाइएका हुँदा हेर्छु पनि ।’ समय अभावका कारणले कति ग्रन्थहरू सानोमा पढेको दोहोर्‍याउन पाएको छैन, दोहोर्‍याउने इच्छा छ । कतिपय मानिसको धारणा छ- महिलाको बारेमा लेख्ने, बोल्ने या काम गर्नेहरूले धार्मिक ग्रन्थ किन पढ्ने ? किन सुन्ने ? उनले पनि यस्तै प्रकारको प्रत्रि्रश्न गरे- शालीनदीमा ब्रत बसिरहेका महिलाको बारेमा सोधे । मैले भने- नपढीकन त कहाँ के लेखिएको छ कसरी थाहा पाउने त – अभ्यास कसरी गर्ने भन्ने मानिसको व्यक्तिगत धारणा हो, कसैलाई हानि नहुने गरी कसैले कुनै पनि कुराको अभ्यास गर्छ भने त्यो उसको निजी स्वतन्त्रताको कुरा हो । यदि कोही मान्छे आफूखुसी हुनका लागि, नितान्त आत्मसन्तुष्टिका लागि आफैंले कष्ट उठाएर केही गरिरहेको छ भने उसको खुसी र स्वतन्त्रतामाथि प्रश्न उठाउनका लागि म को हुँ र ? सन् २००० मा म माल्दिभ्स जाँदा राजधानी मालेमा पसलहरू दिउँसो ३ बजेदेखि ५ बजेसम्म बन्द थिए, के भएको हो भनेर सोध्दा थाहा भयो- त्यो समय त नमाज पढ्नका लागि छुट्याइएको रहेछ, कार्यालयहरूसमेत बन्द गरेर मानिसहरू नमाज पढ्दा रहेछन् । हामीजस्ता बाहिरबाट गएकाहरूले किनमेल गर्न पाएनौँ भनेर उनीहरूलाई गाली गर्ने कुरा आएन । आफ्नो देशको अर्थतन्त्रलाई नै फरक पर्ने गरी मानिसले धार्मिक आस्था राखेको देखेको हुनाले शालीनदीमा ब्रत बसेको कुराले मलाई खासै अचम्भित बनाएको पनि छैन ।
जहिले लेखिएका र जसले लेखेका भए पनि हिन्दू धर्मग्रन्थहरूमा गजब-गजबका परिकल्पनाहरू छन् । स्वस्थानीकै कुरा गरौँ, महादेवले आफ्नी पत्नी सतिदेवीको लासलाई बोकेर संसार घुमेको प्रसङ्ग मार्मिक मात्र होइन त्यत्तिकै प्रेमयुक्त पनि छ । हिजोआज बाँचेकी पत्नीले त माया नपाउने समयमा यो प्रसङ्ग पति-पत्नीबीचको प्रेमको नमुना उदाहरण पनि हो । तर, यसप्रकारका सकारात्मक कुराहरूलाई पूरै छायामा पारिएको छ । महिला पात्रको कुरा गर्दा तत्कालीन समय र हेर्ने दृष्टिकोण स्पष्ट हुन्छ । धर्मग्रन्थहरूमा प्रायः महिलालाई ऋषिपत्नी, महारानी, अप्सरा या यस्तै कुनै पात्रका रूपमा खडा गरिएको छ । त्यतिबेलै पनि केही पहिचानयुक्त देवी, सरस्वती, लक्ष्मीहरू पनि हिन्दू धर्मग्रन्थमै छन् । हो, विभेद छ, तर के विभेद अहिले छैन र ? अचम्म त के भने मानवीय सम्बन्धमा अहिले देखिएका अनेक बहावहरू त्यतिबेला वर्णन गरिएका ‘भगवान्’ का चरित्रसँग मिल्दाजुल्दा छन् । जालझेल, छलकपट पनि त्यत्तिकै । अहिलेका कतिपय पुस्तक पढ्दा लाग्छ तिनका महिला पात्रभन्दा त हाम्रा धर्मग्रन्थका महिला पात्रले धेरै सम्मान पाएका छन् । त्यतिबेला बालविवाहलाई प्रश्रय दिइएको प्रसङ्ग हामी उठाउँछौँ, हो, जोसँग जसरी विवाह गरिदिए पनि छोरीहरूले लुरुलुरु पछि लागेर जानुपर्ने बाध्यता थियो । त्यतिबेलाका लेखकले गरेका परिकल्पना हुन् ती, प्रायः परिकल्पनाका लागि पनि तत्कालीन विषयवस्तुलाई आधार बनाइएको हुन्छ । त्यतिबेला पनि सबै लेखक एउटै मानसिकताका थिएनन्, अहिले पनि छैनन् । महाभारतमा आमाहरूलाई गरिने सम्मान बिचरा अहिलेका आमाहरूले कहाँ पाएका छन् र ? राम्रा कुराहरूको सिको गरेर आमालाई सम्मान गरिएको भए अहिले वृद्धाश्रमको आवश्यकता नै पर्ने थिएन । कुनै पनि सिर्जनाका राम्रा-नराम्रा दुवै पाटा हुन्छन्, छन्, मान्छेमा पनि यो कुरा लागू हुन्छ । कुनै पनि मानिस सर्वगुण सम्पन्न हुँदैन र खराबीले भरिएको मात्र पनि हुँदैन । हामी सबैका राम्रा-नराम्रा पक्ष छन्, गुण र दोषहरू छन् । नकारात्मक पाटाहरूलाई छोड्दै सकारात्मक कुराहरूलाई आत्मसात् गरेर अघि बढ्यो भने असल मानव हुनका लागि मद्दत पुग्छ जस्तो लाग्छ ।