मनोनयन दर्ताको अघिल्लो दिनसम्म कांग्रेसमा रहेका थापा राप्रपाबाट मेयर भए !

मनोनयन दर्ताको अघिल्लो दिनसम्म कांग्रेसमा रहेका थापा राप्रपाबाट मेयर भए !


  • कपिलवस्तु प्रतिनिधि

कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शिवराज नगरपालिकाको मेयर जितेको छ । सबैलाई आश्चर्यचकित पार्दै राप्रपाका अजय थापाले शिवराजको मेयर पदमा विजय हात पारेका हुन् ।

११ वटा वडा रहेको शिवराजमा सुरुवातदेखि अग्रता बढाउँदै गएका थापा बिहीबार अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहे । सो पार्टीका युवा नेता थापाले मेयर जित्दा एमालेका महादेव पोख्रेल पराजित भएका छन् ।

गएको निर्वाचनमा शिवराजको मेयर र उपमेयर एमालेले जितेको थियो ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा थापा स्वयम् राप्रपाबाट उम्मेद्वार थिए । मेयरमा पराजित थापा मंसिरमा सम्पन्न संघीय र प्रदेशको चुनावमा नेपाली कांग्रेस प्रवेश गर्दै प्रदेशसभामा चुनाव लडेका थिए । त्यहाँ पनि पराजित भएका थापा मनोनयन दर्ताको अघिल्लो दिनसम्म कांग्रेसमै सक्रिय थिए ।

पार्टीले मेयरमा टिकट नदिएपछि कांग्रेसबाट विद्रोह गर्दै राप्रपामै फर्किएका थापा अन्ततः मेयरमा निर्वाचित भए । शिवराजमा कांग्रेसका मेयरका उम्मेद्वार हुमकान्त खनाल तेस्रो स्थानमा सीमित रहे ।

नगरको उपमेयरमा भने शिवकुमारी थारु निर्वाचित भएकी छिन् । निवर्तमान उपमेयर थारु आफ्नो प्रतिस्पर्धीलाई पछि पार्दै उपमेयरमा निर्वाचित भएकी हुन् ।