विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसका कोइराला, उपप्रमुखमा एमालेका निरौला

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसका कोइराला, उपप्रमुखमा एमालेका निरौला


मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी बनेका छन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्की २५ हजार ६८० मत प्राप्त गरी विजयी बनेकी छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गरे ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले वडा नं १, २, ३, ४, ८, १०, ११, १४ र १९ का वडाध्यक्षमा विजयी भएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार ५, ६, ७ ९, १५, र १६ वडाको अध्यक्षमा विजयी भएका छन् ।

यसैगरी जनता समाजवादी पार्टीले वडा नं १२ र १७, राप्रपा १३ र स्वतन्त्र १८ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।

को हुन् नागेश कोइराला ?

नागेश कोइरालाको जन्म बुबा उमेश कोइराला र माता जया कोइरालाको कोखबाट वि.सं. २०३० साल जेठ ३१ गते विराटनगरमा भएको हो ।

विद्यालयमा अध्ययन गर्दादेखि नै राजनीतिमा लागेका कोइरालाले युनिभर्सिटी अफ बावियो फिलिपिन्सबाट जनप्रशासनमा स्नातकोत्तर अध्ययन गरे । २०५४ सालमा नेपाल तरुण दल मोरङको कोषाध्यक्ष हुँदै २०५६ सालमा सभापतिसमेत भएका छन् । त्यस्तै २०६६ सालमा नेपाली कांग्रेस मोरङको कोषाध्यक्ष र २०७२ सालमा सचिवमा अत्याधिक मतका साथ निर्वाचित भएका कोइराला २०७८ सालमा सम्पन्न १४औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भए ।

कोइराला सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका छन् । उनी रोटरी क्लब अफ विराटनगर मिट टाउनको अध्यक्ष र राउण्ड टेवल–५ विराटनगरको अध्यक्षको जिम्मेवारीसमेत पूरा गरिसकेका छन् । विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिको दुई कार्यकाल अध्यक्ष भएका कोइराला लायन्स क्लब अफ ग्रिनसिटीको सदस्य भइसकेका छन् ।

सेवा नै धर्म हो भन्ने मूलमन्त्रका साथ राजीतिमा लागेका कोइरालाले विराटनगर पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरमा गुरुकुल विद्यालय सञ्चालनका लागि २ करोड मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।