रसुवाको दक्षिणी भेगमा दर्जनौँ घर चोरी, प्रहरीले थाल्यो अनुसन्धान

रसुवाको दक्षिणी भेगमा दर्जनौँ घर चोरी, प्रहरीले थाल्यो अनुसन्धान



चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा भवनबाट सरकारी तथा निजी धनमाल चोरिएका छन् ।

जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार गए राति दक्षिणी रसुवाको कालिका गाउँपालिका-३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका-५ को माझगाउँ तथा बनुवा घुम्तीमा चोरीको घटना भएको हो ।

चोरी भएको क्षेत्रमा अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली परिचालन गरिसकिएको र चोरीका सामग्रीको विवरण सङ्कलन एवं चोरका समूहको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ ।

कालिका गाउँपालिकाको धारापानीमा सातवटा निजी घर तथा बेतिनीको सामुदायिक स्वास्थ्य एकाइ साथै सहकारी संस्था तोडफोड गरेको अवस्थामा भेटिएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक झलक शर्मा पौडेलले जानकारी दिएका छन् । उत्तरगया गाउँपालिका-५ वडा कार्यालय र माझगाउँ क्षेत्रमा निजी स्तरको तीन घरसमेत तोडफोड भएको पाइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट निजी घरहरूबाट रू चार लाख नगद तथा चार तोला सुन र उत्तरगया वडा नं ५ को वडा कार्यालयमा जडान भएका सिसिटिभीको मनिटरसमेत चोरी भएको पाइएकाले चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ ।