कारबाही नभए अपराधीमा थप दम्भ बढ्ने कांग्रेस नेता महरको ठहर

कारबाही नभए अपराधीमा थप दम्भ बढ्ने कांग्रेस नेता महरको ठहर


नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बलात्कारीको पहिचान जतिसुकै वर्षपछि भए पनि कानुनअनुसार कारबाहीको भागेदार हुने बताएका छन् । राजधानी काठमाडौंमा शनिबार आयजित एक कार्यक्रममा बोल्दै नेता महरले न्याय पाउनका लागि पीडित छटपटाउनु कानुनी राज्यको उपहास हुने बताए ।

सौन्दर्य प्रतियोगिताका आयोजकले एक युवतीलाई बलात्कार गरेको समाचार सार्वजनिक भएपछि महरको उक्त धारणा आएको हो । समस्यामा परेकालाई न्याय दिनु राज्यको पहिलो दायित्व र धर्म भएको उनले बताए ।

‘अहिले संसद् चलिरहेको छ । यस्ता घटनाप्रति संसदको पनि ध्यानाकृष्ट गराउन चाहन्छु । यो समाजमा जतिबेला जोसुकैको जीवनमा पनि घट्ने घटना भएकाले सबै सजग हुनुपर्छ,’ उनी भन्छन् ।

‘कानुनी राज्यमा कानुनको पालना हुनुपर्छ । दोषी उम्किन पाउनु हुँदैन । यी किशोरीले यति लामोसमयसम्म मुख खोल्न किन सकिनन् । उनलाई दिइएको दबाब र धम्कीको पनि अनुसन्धान हुनुपर्छ,’ महरले भने । कानुनी कारबाही नभए अपराधीमा थप दम्भ बढ्ने उनी बताउँछन् ।

‘अपराधिलाई कारबाही भएन भने उसको आत्मवल थप बढ्छ । र, उसले आफ्नो अपराध लीलालाई बढाउँदै लग्छ। त्यसैले अपराधिमाथि चाँडो कारबाही गर्न म सरकारसँग माग गर्छु,’ उनी भन्छन् ।

महिलालाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार कानुनले सुनिश्चित गरेको महरको भनाइ छ । यतिबेला बलात्कारविरुद्ध माग राख्दै माइतीघर मण्डला र बालुवाटारमा स्वस्फूर्त रुपमा युवाहरूले प्रदर्शन गरिरहेका छन् ।