दीपक पासवानको हत्याआरोपित दुई युवक पक्राउ

दीपक पासवानको हत्याआरोपित दुई युवक पक्राउ


बाराको जितपुरसिमरा २० निवासी दीपक पासवानको हत्याको आरोपित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा गोठ टोलदेखि करिब ५०० मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा दीपक पासवानको शव प्रहरीले जेठ ६ गते बरामद गरेको थियो ।

स्थानीय राजबंशी पासवानको छोरा वर्ष २५ को दीपक पासवानलाई कर्तव्य गरी मारेको अवस्थामा मृतक लास फेलापरेको बाराको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

बारा प्रहरीले गरेको अनुसन्धानबाट जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा टोल बस्ने शेख मीर हसनको छोरा वर्ष २० को शेख नवि आलम र सोही ठाउँ बस्ने शेख जैनुलको छोरा वर्ष २१ को शेख सलिम समेत मिली मृतक दीपक पासवानको घाटीमा धारिलो घरेलु हतियार बखुवा (खुर्पा)ले प्रहर गरी निर्ममतापुर्वक घाँटी रेटी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अपराधबाट बच्नको लागि मृतक लासलाई कठोह खोला छेउमा रहेको बालुवामा पुरी वारदातपश्चात गाउँघर छाडी फरार भएको र उनीहरुलाई खोजतलासको क्रममा जेठ ८ गते पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनामाथि ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान)मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ दिनको म्याद अनुमति लिइ हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराको प्रहरीले जनाएको छ ।