अवैध चिनीसहितको ट्रक नियन्त्रणमा

अवैध चिनीसहितको ट्रक नियन्त्रणमा


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा ठूलो परिमाणमा चिनी बोकेको एक ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दघाट नगरपालिका वडा नं. १३ धनेवास्थित एक गोदामको अघिल्तिर अवैध चिनी लोड गरिरहेको अवस्थामा सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो ।

लु १ ख ९७६२ नम्बरको ट्रकलाई चेकजाँचको क्रममा शंका लागि उक्त सवारीसाधनबाट चलानी कागजात नभएको १०९ क्विन्टल अवैध चिनी सुरक्षा वेश सेमरीका सशस्त्र प्रहरी निरिक्षक नरेश कुमार खडकाको नेतृत्वमा खटिएको टोली र नेपाल प्रहरीसहितको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको चिनीसहितको ट्रकलाई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व एवं अनुसन्धान कार्यालय बुटवल पठाइएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सूचना अधिकारी माधव रेग्मीले जानकारी दिएका छन् । सुरक्षा निकायद्वारा बरामद गरिएको उक्त चिनीको मूल्य ७ लाख ६३ हजार रहेको बताइएको छ।