पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई भाडा पनि बढ्यो

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई भाडा पनि बढ्यो


नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा पनि बढेको छ । नेपाल वायु सेवा सञ्चालक सङ्घले आगामी बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादरमा रु ९० देखि रु ४४५ सम्म वृद्धि भएको छ ।

सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौं–धनगढीको भाडा रु ४४५ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौं–सिमराको भाडा रु ३,७२५ कायम भएको छ भने काठमाडौं–धनगढी रु १५,६६५ कायम भएको छ । काठमाडौं–भद्रपुर ११,९३५, काठमाडौं–विराटनगर ९,३२५, काठमाडौं–जनकपुर ५,२५०, काठमाडौं–भरतपुर चार हजार ४३५ र काठमाडौं–पोखरा ६,३०५ कायम भएको छ । काठमाडौँ–भैरहवा ७,८८०, काठमाडौं–नेपालगञ्ज १२,८९५ र काठमाडौं–तुम्लिङटार ७,४६० कायम भएको छ ।

माउन्टेन फ्लाइटको भाडादर रु १३,७६५ कायम भएको सङ्घले जनाएको छ । नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो । अहिले हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु १६६ छ ।