३ करोड ६३ लाख भारतीय सहयोगमा पोखरामा नयाँ विद्यालय भवन

३ करोड ६३ लाख भारतीय सहयोगमा पोखरामा नयाँ विद्यालय भवन


कास्की जिल्लाको पोखरा महानगरपालिका-१३ ढाँडबेसीस्थित आर्वा विजय माध्यामिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । मित्रराष्ट्र भारतको सहयोगमा निर्माण भएको विद्यालय भवनको भारतीय राजदूतावास (काठमाडौं)का कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले उद्घाटन गर्नुभएको हो ।

आर्वा विजय माध्यामिक विद्यालय कास्की जिल्लाको एक पुरानो विद्यालय हो । ‘भारत-नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजनाअनुरुप भारत सरकारको अनुदान सहयोगमा ३ करोड ६३ लाखको लागतमा यस विद्यालय भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघिसारेको ‘India@75 छ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक भएको जनाइएको छ ।

ज्ञातव्य छ, सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघिबढाएकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये कास्की जिल्लाका ११ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यस परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको विकासमा नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने जनाइएको छ ।