उपेन्द्रको सत्यानास !

उपेन्द्रको सत्यानास !


स्थानीय निर्वाचन परिणामले जनता समाजवादी पार्टी (जसपा) का मूख्य नेता उपेन्द्र यादवलाई सबैभन्दा ठूलो क्षति पुऱ्याइदिएको छ । यादवको आफन्तवादी एवम् जातिवादी सोच र भ्रष्ट चरित्रका कारण जनताले उनलाई राम्रैसँग दण्डित गरेको ठानिएको छ ।

उपेन्द्रले गठबन्धनमा सामेल भएर पनि पार्टीलाई जिताउन सकेनन्, उनकै कारण विराटनगर महानगरमा उपप्रमुखको उम्मेदवार रहेका छोरा अमरेन्द्र यादवको शर्मनाक पराजयको कारण पनि उपेन्द्रलाई नै मानिएको छ ।

गत (२०७४) स्थानीय निर्वाचनमा जसपाका उमेश यादव विराटनगरमा प्रमुख पदका उम्मेदवार बनेकोमा उनी काङ्ग्रेसबाट पराजित भएका थिए । यसपटक गठबन्धनको उम्मेदवार बन्नुपर्ने स्थिति आएपछि उमेशलाई उपप्रमुखको टिकट नदिएर उपेन्द्रले विजयी बन्ने विश्वासका साथ आफ्नै छोरा अमरेन्द्रलाई उम्मेदवार बनाएका थिए । विराटनगरमा गठबन्धनका उम्मेदवार नागेश कोइराला भारी मतका साथ प्रमुख पदमा विजयी बने, तर अमरेन्द्र करिब दश हजार मतान्तरले एमालेको उम्मेदवारसँग पराजित भए । यस घटनाले मोरङ-सुनसरी क्षेत्रमै उपेन्द्र यादवको प्रभाव न्यून भइसकेको देखाएको छ ।

त्यसैगरी उपेन्द्रका खास मानिस प्रदेश २ का मूख्यमन्त्री लालबाबु राउतकी पत्नीलाई पनि जनताले नराम्रोसँग पराजित गरिदिएका छन् । पर्साको एक पालिकाबाट प्रमुख पदमा चुनाव लडाइएका लालबाबु राउतका पिए दीपक यादव पराजित मात्र भएनन्, उनले जमानत बचाउन पनि सकेनन् । त्यस्तै, उपेन्द्र यादवको मुन्सीका रूपमा समेत चिनिएका पशुपति यादव नामक व्यक्तिलाई धनुषाको कमला नगरपालिकामा प्रमुख पदको उम्मेदवार बनाइएकोमा उनी नराम्रोसँग पराजित भए । यस पराजयले उपेन्द्रलाई निकै ठूलो धक्का पुऱ्याएको बुझिएको छ ।

त्यसैगरी जनकपुर उपमहानगर आफ्नो भागमा परेपछि उपेन्द्रले मोटो रकम लिएर लालकिशोर साहलाई प्रमुख पदको उम्मेदवार बनाइदिए । तर त्यहाँ साह विजयी बन्न सकेनन्, जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार अधिक मतका साथ विजयी बने । सिराहाको सिराहा नगरपालिकामा नगद लिएर उपेन्द्रले अशेश्वर यादवलाई उम्मेदवार बनाएका थिए । जिताइने विश्वासका साथ नगद बुझाएर टिकट लिएका अशेश्वर यादव निर्वाचनमा पराजित भए ।

पराजित भएपछि निजले उपेन्द्र यादवसँग रकम फिर्ता मागेर हैरान बनाइरहेको बुझिएको छ । रकम फिर्ता नगरे अशेश्वर उपेन्द्रविरुद्ध जस्तोसुकै ‘कारबाही’का निम्ति पनि तयार हुने बताइएको छ ।