एमालेमा भीषण अन्तर्घात !

एमालेमा भीषण अन्तर्घात !


तुलनात्मक रूपमा अनुशासित र सङ्गठित मानिने एमालेमा समेत अराजकता र अन्तर्घातका घटना देखिएको हुँदा अब उक्त पार्टी समयमै सुध्रिन सकेन भने त्यसको असर संसदीय निर्वाचनमा नराम्रोसँग पर्ने ठानिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चौतर्फी घेराबन्दीका बीच स्थानीय निर्वाचनमा राम्रो सफलता हाशील गरेको छ । देशका ६ वटा महानगरमध्ये एमालेले विराटनगर र काठमाडौंमा उपमेयर हात पारेर चित्त बुझाउनु परेको भए पनि कुल दुई सय भन्दा बढी पालिकाका प्रमुखमा एक्लै विजय हाशील गर्न सक्नुलाई उसको ठूलो सफलता ठानिएको हो ।

काठमाडौंका उम्मेदवार केशव स्थापितले शालिन र भद्र बोली-व्यवहार देखाउन सकेका भए परिणाम भिन्न आउन सक्ने ठानिन्छ । स्थापितको उत्ताउलो प्रस्तुति, अराजक व्यवहार र ‘ओभर कन्फिडेन्स’लाई पराजयको मूख्य कारण मानिएको छ । तर काठमाडौंमा स्थापितको पराजयको एउटा कारण रामवीर मानन्धरको असहयोगलाई पनि मानिएको छ । भनिन्छ, मानन्धर र विद्यासुन्दर शाक्य दुवैजना स्थापितको उम्मेदवारीविरुद्ध थिए । स्थापितले पराजय ब्यहोर्ने परिस्थिति निर्माण भए पनि उपप्रमुख सुनिता डङ्गोलले एमालेको नाक जोगाइदिएकी छन् ।

एमाले विजयी बन्नेमा निश्चिन्त रहेको महानगर हो पोखरा । सबै विपक्षीहरू समेत पोखराको प्रमुख र उपप्रमुखमा एमालेले विजय हाशील गर्ने ठान्दथे । तर पोखरा महानगरमा एमालेका दुई स्थानीय नेताबीचको द्वन्द्व उत्कर्षमा रहेको निर्वाचनका क्रममा छर्लङ्गै देखियो । पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीका गुटहरू एकले अर्को पक्षलाई समाप्त गर्न लाग्नुको परिणाम पोखरामा एमालेले नराम्रोसँग भोग्यो । तीस वर्षदेखि एमालेले एकलौटी विजय हाशील गर्दै आएका वडासमेत यसपटक उक्त पार्टीले गुमाउनुपऱ्यो ।

ज्ञातव्य छ, पोखरामा एमालेले पहिले दीपक पौडेल नामक व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पौडेलद्वारा सुनपसलमा चोरी भएको जनाउने एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि एमालेले दीपकलाई दिएको टिकट खोसेर कृष्ण थापालाई दिन बाध्य भएको थियो । भनिन्छ, चोरीकाण्ड भएको सुन पसल एमालेसमर्थक कार्यकर्ताकै भएको हुँदा केही वर्षअघिको उक्त घटना भित्रभित्रै साम्य पारिएको थियो । चुनावमा दीपकले टिकट पाएपछि खगराज अधिकारी पक्षले उक्त भिडियो सार्वजनिक गरिदिएको ठहर पृथ्वी सुब्बा गुरुङ पक्षले गऱ्यो र, गुरुङका पक्षधरहरू कृष्ण थापालाई निर्वाचनमा पराजित गराएर खगराजको शेखी झार्ने निर्णयमा पुगेको बताइन्छ । कृष्ण थापालाई पराजित गराउन पृथ्वी सुब्बा गुरुङ, राजीव पहारी र पुष्पज्योति ढुङ्गानालगायतका व्यक्तिहरू मूख्य रूपले सक्रिय रहेको जानकारी सम्वद्ध सूत्रबाट मिलेको छ ।

भरतपुर महानगरमा पनि यसपटक विजयी बन्ने विश्वास एमालेले गरेको थियो । निष्ठावान काङ्ग्रेसको पन्ध्र हजार वा सोभन्दा बढी मत जगन्नाथ पौडेलतिर जाँदा एमालेका विजय सुवेदी सजिलै विजयी बन्ने विश्वास उक्त पार्टीले गरेको हो । त्यसमाथि विक्रम पाण्डेसमर्थकहरूको तीन चार हजार मतसमेत थपिँदा एमाले पराजित नहुने निश्चित मानिएको थियो । तर भरतपुरमा पनि एमालेले विजय हात पार्न सकेन, नसक्नुको मूल कारण अन्तर्घातलाई मानिएको छ । देवी ज्ञवाली र कृष्णभक्त पोखरेलको असहयोगका कारण भरतपुर महानगर गुमाउनुपरेको ठहर एमाले नेतृत्वले गरेको छ । चितवनको एमाले वृत्तमा ज्ञवाली र पोखरेलले प्रचण्डबाट मोटो रकम लिएर रेणु दाहाललाई सहयोग गरेको भन्ने चर्चा व्याप्त भएको छ र, एमाले नेतृत्वले समेत यस्तो चर्चाको कारण तथा आधार भएको ठानेको छ ।

विराटनगर र वीरगञ्जमा विजयी बन्ने आशा एमालेले गरेको थिएन । तथापि विराटनगरमा उपमेयर पाउनुलाई उक्त पार्टीले ठूलो उपलब्धि ठानेको छ । विराटनगरमा जसपाबाट उपमेयरको उम्मेदवार उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई बनाइएको थियो । जसपाकै एकथरी नेताहरू अमरेन्द्रको उम्मेदवारीविरुद्ध उभिएकोले एमालेलाई अवसर प्राप्त भएको बुझिन्छ । वीरगञ्जमा प्रमुखका उम्मेदवार कमजोर भए पनि लोसपासँगको गठबन्धन र विमल श्रीवास्तव जस्ता नेताको साथ रहेका कारण विजयको झिनो आशा भने एमाले नेतृत्वले गरेको थियो । तर वीरगञ्जमा एमालेको आशामाथि तुषारापात भयो ।

त्यसैगरी, ललितपुरमा अघिल्लोपटक करिब दुई सय मतान्तरले पराजित एमालेका हरिकृष्ण ब्यञ्जनकार यसपटक विजयी बन्ने सम्भावना एमाले नेतृत्वले देखेको थियो । कुन कारणबाट ललितपुरमा एमाले पराजित भएको भन्ने विषयमा एमालेभित्र विशेष जिज्ञाशा र चासो उत्पन्न भएको छ । ललितपुरमा एमालेका कसैले अन्तरघात गरेको पाइएको छैन, तथापि पराजयको कारण पत्ता लगाउने प्रयास एमालेभित्र भइरहेको छ ।

राजधानी काठमाडौं, भरतपुर र पोखरा महानगरमा अन्तर्घातका कारण एमाले पराजय भएको निष्कर्शमा उक्त पार्टी पुग्यो भने अन्तर्घातमा संलग्न नेता तथा कार्यकर्ताहरूलाई उक्त पार्टीले कुन स्तरको कारवाही गर्ला ? चासोको विषय बनेको छ । तुलनात्मक रूपमा अनुशासित र सङ्गठित मानिने एमालेमा समेत अराजकता र अन्तर्घातका घटना देखिएको हुँदा अब उक्त पार्टी समयमै सुध्रिन सकेन भने त्यसको असर संसदीय निर्वाचनमा नराम्रोसँग पर्ने ठानिएको छ ।