काठमाडौंको मेयरमा बालेन, उपमेयरमा सुनिता विजयी

काठमाडौंको मेयरमा बालेन, उपमेयरमा सुनिता विजयी


अन्ततः काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर)मा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । प्रमुख प्रतिष्पर्धीद्वय नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवारहरुलाई फराकिलो मतान्तरले पछि पार्दै बालेन निर्वाचित भएका हुन् ।

गएराति मध्यरातमा सम्पन्न मतगणनाबाट बालेनलाई ६१ हजार ७ सय ६७ मत प्राप्त भएको छ भने दोस्रो स्थानमा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठलाई ३८ हजार ३ सय ४१ मत हासिल भएको छ । यस्तै, निर्वाचनअघि नै आफूलाई विजेता घोषणा गरेर नकारात्मक चर्चामा रहेका एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत पाएर तेस्रो स्थानमा रहेका छन् ।

महानगरपालिका मेयरका लागि बालेनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको चुनाव चिह्न लौरो रहेको थियो । आँखीझ्याल चुनाव चिह्न पाएका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि १३ हजार ७ सय ७० मत पाएका छन् ।

यसैगरी काठमाडौं महानगरको उपप्रमुखमा सुनिता डंगोल भारी मतका साथ निर्वाचित भएकी छन् । नेकपा एमालेकी उम्मेदवार सुनितालाई ६८ हजार ६ सय १२ मत हासिल भएको छ । उपमेयरमा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठ उम्मेदवार थिए । उनलाई २३ हजार ८ सय ६ मत हासिल भएको छ ।