बाबुआमा लिन अमेरिकाबाट आएका छोरीहरूको नेपालमै अन्त्यष्टि !

बाबुआमा लिन अमेरिकाबाट आएका छोरीहरूको नेपालमै अन्त्यष्टि !


यही जेठ १६ गते सोमबार हवाई दुर्घटनामा परेका गणेशनारायण श्रेष्ठ र रश्मीका छोरीहरू अमेरिकाबाट कलेजको छुट्टीमा एक हप्ताअघि मात्र घर आएका थिए । गणेश-रश्मीका दुई छोरी र एक छोरा तीनै जना अमेरिकामा रहेका थिए ।

अमेरिकाको टेक्सास र न्युजर्सीमा बस्दै आएका छोरीहरू यसपटकको छुट्टीमा बाबुआमालाई लिएर जाने गरी आएका थिए । अमेरिकामा बाबुआमालाई स्वागत गर्न पर्खिएर बसेका छोरा बाबुआमा र बैनीहरूको अन्त्येष्टी गर्न हिजो मंगलबार काठमाडौं आइपुगेका छन् ।

प्राप्त जानकारीअनुसार दुर्घटनामा परेर ज्यान गुमाएका गणेश कम्प्युटरसम्बन्धी काम गर्थे । तीनै सन्तान अमेरिका गएपछि पति-पत्नी गौशालामा बस्दै आएका थिए । जेठी छोरी रोजिना बुढानीलकण्ठकी विद्यार्थी थिइन्, छोरा र दुवैै छोरीहरू पढाइमा तेज थिए ।

गोरखा स्थाई घर भएका गणेश र रश्मीले छोरीहरूलाई मुस्ताङ देखाउने तयारी निकै अगाडिदेखि गरेका थिए । छोरीहरूको चाहना पनि निकै अघिदेखि मुस्ताङ घुम्ने थियो । आमा रश्मीलाई त्यति सञ्चो थिएन तथापि अमेरिका जानुअघि उनीहरू मुस्ताङ जान चाहन्थे । मुस्ताङ यात्राका लागि हिँड्नुअघि छोरासँग अन्तिम संवाद भएको थियो ।