उपेन्द्रलाई हटाउन अन्तिम कसरत !

उपेन्द्रलाई हटाउन अन्तिम कसरत !


जसपा नेता उपेन्द्र यादवको कार्यशैली, चरित्र र भ्रष्ट क्रियाकलापलाई लिएर पार्टीमा ठूलै विद्रोह हुन सक्ने सम्भावना देखापरेको छ । स्थानीय निर्वाचनमा उम्मेदवार चयन गर्दा यादवले मनपरी गरेको र टिकटमा मनपरी गरेकै कारण पार्टी नराम्रोसँग पराजित (तीस पालिकामा सीमित) हुनुपरेपछि नेतादेखि कार्यकर्तासम्म उनीप्रति क्रुद्ध भएका छन् । उपेन्द्र यादवलाई पार्टीको कार्यकारी जिम्मेवारीबाट पन्छाउने आवाज जसपाभित्र जोडतोडका साथ उठिरहेको छ ।

प्राप्त जानकारीअनुसार जसपाका कुल सांसदहरूमध्ये कम्तिमा एकाउन्न प्रतिशत उपेन्द्रको विरुद्ध उभिन पुगेका छन् भने ४५१ सदस्यीय केन्द्रीय समितिमा बहुसङ्ख्यक सदस्यहरू यादवलाई पन्छाउने पक्षमा छन् । उनीहरूले उपेन्द्र यादवविरुद्ध हस्ताक्षर अभियानसमेत सञ्चालन गरिरहेको बुझिएको छ ।

अब हुने जसपा केन्द्रीय समितिको बैठकबाट उपेन्द्रलाई कार्यकारी जिम्मेवारीबाट पन्छाएर उक्त जिम्मेवारी बाबुराम भट्टराईलाई दिने तयारी भएको छ । संसदीय दलको नेता र पार्टीको कार्यकारीबाट हटाएपछि उपेन्द्रको राजनीतिक भविष्यमा विराम लाग्ने विश्वास गरिएको छ । उपेन्द्र हटेको अवस्थामा पार्टीको कमाण्ड बाबुराम भट्टराई, अशोक राई, राजकिशोर यादव र राजेन्द्र श्रेष्ठको हातमा पुग्ने बताइएको छ ।