माधवलाई छोड्दै मन्त्रीहरू

माधवलाई छोड्दै मन्त्रीहरू


प्रेम आले प्रधानमन्त्री देउवा तथा उनकी पत्नी आरजुलाई रिझाउन लागिपरेका छन् । एमालेले स्वीकार नगरेको अवस्थामा काङ्ग्रेसकै टिकट लिएर उम्मेदवार बन्ने उपायको खोजी आलेले गरिरहेको बुझिएको छ । मन्त्री रामकुमारी झाँक्री पनि सम्मानजनक ढङ्गले फर्किन पाए एमालेमै जाने मानसिकतामा रहेको उनका निकटवर्तीहरूले जनाएका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा समाजवादीका नेता र कार्यकर्ताहरू स्थानीय चुनाव परिणामबाट निरास भएको पाइएको छ । पोखरा महानगरपालिकाको प्रमुख र हेटौँडा उपमहानगरको प्रमुख पद हात पार्न समाजवादी पार्टी सफल भए पनि डेढ दर्जन पालिकामा सीमित हुनुपर्ने अनुमानसम्म उक्त पार्टीका नेता तथा कार्यकर्ताहरूले गरेका थिएनन् । र, मतसङ्ख्या पनि पाँच लाखको हाराहारीमा खुम्चिने उनीहरूको ठम्याइ थिएन । चुनाव परिणामले एमालेलाई सशक्त सङ्गठन र बलियो जनमत भएको पार्टीका रूपमा प्रमाणित गरिदिएपछि समाजवादीका नेता-कार्यकर्ताहरूमा छटपटी बढेको छ । त्यसैले आगामी संसदीय निर्वाचनभन्दा पहिले नै समाजवादीका धेरै नेता तथा कर्याकर्ताहरू एमालेमा फर्कने सम्भावना देखापरेको छ ।

प्राप्त जानकारी अनुसार मन्त्री प्रेम आले, रामकुमारी झाँक्री र किसन श्रेष्ठसमेत माधव नेपालको साथ छाड्ने मानसिकतामा पुगेका छन् । उनीहरूले एमालेमा फर्कने सूरक्षित र विश्वासयोग्य बाटो खोजिरहेका छन् । किसन श्रेष्ठले आगामी संसदीय निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्न पाउने विश्वास गरेका छैनन् । उनको क्षेत्रमा रामचन्द्र पौडेल नै उम्मेदवार बन्ने सम्भावना अधिक छ । त्यसैले निर्वाचनमा उम्मेदवार बन्नकै निम्ति पनि श्रेष्ठले एमालेमा फर्कने मानसिकता बनाएको बताइन्छ । मन्त्री प्रेम आलेचाहिँ केपी ओलीले स्वीकार गर्ने सम्भावना नरहेको र समाजवादीको टिकटमा चुनाव जित्ने अवस्था पनि नरहेकोले ज्यादा छटपटिमा परका छन् ।

बुढानीलकण्ठस्थित एक सूत्रले जनाएअनुसार प्रेम आले प्रधानमन्त्री देउवा तथा उनकी पत्नी आरजुलाई रिझाउन लागिपरेका छन् । एमालेले स्वीकार नगरेको अवस्थामा काङ्ग्रेसकै टिकट लिएर उम्मेदवार बन्ने उपायको खोजी आलेले गरिरहेको बुझिएको छ । मन्त्री रामकुमारी झाँक्री पनि सम्मानजनक ढङ्गले फर्किन पाए एमालेमै जाने मानसिकतामा रहेको उनका निकटवर्तीहरूले जनाएका छन् । झाँक्रीको चर्को स्वभावका कारण एमालेले उनलाई सहजै स्वागत गर्ने सम्भावना कम भएको बताइन्छ । एमालेमा फर्कनकै निम्ति पनि झाँक्रीले अलिक बढी नै मेहनत गर्नुपर्ने अवस्था रहेको छ ।

यसरी समाजवादीका नेताहरूमा उत्पन्न छटपटी हेर्दा अधिकाङ्शले माधव नेपाललाई छोड्न सक्ने देखिएको छ ।