सादा जीवन र उच्च विचारमा राष्ट्र र जनताको सेवामा लाग्दा न सानो भइन्छ न ठुलो हुनबाट रोकिन्छ भन्ने उदाहरण हर्क साम्पाङ बनेका छन् । साम्पाङको सामान्य व्यक्तित्वबाट देशैभरिका स्थानीय समस्यासँग जुद्धै अन्याय र अत्याचार भगाउन र नवचेतना फैलाउन सबैलाई अनुकरणीय बनोस् ।
- कृष्णराज शर्मा

गत मङ्सिर महिनादेखि नै नेपाली राजनीतिक समाजमा एउटा शब्द घनिभूत भएर गुञ्जिन थाल्यो । पूर्वका लिम्बुका छोरा राजेन्द्र लिङ्देनले त्यो शब्दलाई उचित ठाउँमा उचित तरिकाले राखेपछि क्षणभरमै उक्त शब्द देशव्यापी बन्यो । भित्रभित्र सबैले बोलिरहने तर कसैले पनि बाहिर स्पष्ट प्रकट गर्न नसकिरहेका त्यो शब्द थियो- ‘चोर !’ यो चोर भन्ने शब्द वर्तमान प्रमुख भनिएका राजनीतिक दलहरूका नेताका लागि बडो सन्दर्भ मिलाएर लिङ्देनले सार्वजनिक गरिदिएका थिए, त्यसपछि नेताहरूको विशेषण बनेर जनजिब्रोमै बस्यो । जो-जो चोर थिए, तिनले तत्काल आफू चोर नभएको भन्दै सफाइ दिन खोज्दा त्यहीँ उपस्थितजनले ‘तैँ होस् चोर !’ भन्ने आशयमा लिङ्देनको अभिव्यक्तिलाई कर्तल ध्वनीसहित समर्थन गर्दै ‘हो’मा ‘हो’ मिलाए । यो चोरको परिभाषा भन्दा अझ ‘डरलाग्दो चोरको’ खुलासा भएपछि राजनैतिक दलका नेताहरूको पछिलाग्ने अन्धभक्तहरू झस्किए । साथसाथै, जस्तोसुकै गलत काम गरे पनि ठिक हो हजुर भन्ने सोझासिधा जनतालाई पनि एकप्रकारको चेतना जबर्जस्ती उठ्यो । लिङ्देनको त्यो अभिव्यक्तिले विद्रोहको लागि मलजल गऱ्यो । नवचेतनाको सञ्चार भयो । त्यसकारण दलका उम्मेदवारविरुद्ध बोल्न र लड्नसक्ने हिम्मत गत मङ्सिरबाट बढेर आयो ।
अहिले स्थानीय निर्वाचनसँगै नवोदित दुई पात्रले फेरि अर्को तहल्का मच्चाए । माथि उल्लिखत पृष्ठभूमिमा आजित नेपाली समाजमा नयाँ चेतनाको सञ्चार भरियो । काठमाडौका बालेन साह र धरानका हर्क सम्पाङ राईको चुनावी विजय त्यसैको द्योतक हो भन्दा फरक पर्दैन । राजधानी त सधैं चेतनशील नागरिक बस्ने ठाउँ हो, त्यहाँ जस्तो र जतिबेला पनि यौटा लहर (ह्वीम) आउँछ भन्ने आम विश्वास रहेको थियो । तर पूर्वको लाहुरेको शहर अझ भनौँ नेपालको ‘मिनी हङकङ’ भनेर पनि चिनिने धरान शहरमा काठमाडौंको जस्तो उन्मुक्त चेतना छैन भन्ने नै थियो । तर यसपालि काठमाडौंलाई माथ गर्दै एउटा सामान्य तथा नपत्याउँदो युवालाई आफ्नो प्रिय नेताको रूपमा छाने । धरान र धराने जनताका हरेक समस्यामा हातेमालो गर्दै वर्षौंदेखि सङ्घर्ष गरेका राईका छोराले अर्को अनौठो चेतना नेपाली जनतामा दिन दुगुणा रात चौगुणाको तरिकाले फैलाए ।
जसरी राप्रपाका कपटी र छद्मभेषी नेतृत्वलाई पछारेर राजेन्द्र लिङ्देन सर्वाधिक चर्चामा आए, उसैगरि राजधानीका बालेनभन्दा चर्को रूपमा धरानका हर्क साम्पाङ राई उदाए । आफ्नो भन्दा अरुको भलोमा रमाउने साम्पाङले एक्लै समाजको हितका लागि लडे । उनको प्रारम्भिक थालनीलाई लिएर अनेक धज्जी उडाउनेहरू आज जनताको साथ पाएर उपमहानगर प्रमुखमा विजयी हुँदा पूरै देश-विदेश उनकै विगतका भिडियो फुटेजहरू फर्काइ-फर्काइ हेर्न थालेका छन् । उनका विगतका सङ्घर्षका कथा हेर्दै उनको निम्छरो एक्लो सङ्घर्षमा सगरमाथाभन्दा अग्लो हिम्मत देखेर दुनियाँ दङ्ग परेको छ । जनतामा चेतना र हिम्मत जाग्यो भने हरेक नगर वा शहरमा हर्क साम्पाङ जस्ता लुकेर बसेका थुप्रै नेपाली ली क्वान युहरूलाई जन्माउन सक्छन् भन्ने अतुलनीय उदाहरण हर्क सम्पाङ बनेका छन् । नेपाली समाजमा नवचेतनाको तुफान ल्याएका छन् उनले ।
धरानको जस्तै समस्या देशैभरि छ । तर देशैभरि हर्क साम्पाङ भेटिँदैनन् । हुन खोज्छन् तर लोभलालचमा फसेर पानीको फोका झैँ हराउँछन् । खोलानाला उकेरेर खाएको खायै छन्, प्रहरी प्रशासनसँग मिलिमतो गरेर सकेका छन् । कोही बोल्न सक्दैनन् । साम्पाङले नदीनाला दोहन गर्नेसँग एक्लै लडेर रगतपच्छे बन्दै उल्टै झुठा मुद्दामा फँसाइएका भिडियो क्लिप यतिखेर सामाजिक सञ्जालभरि छाएका छन् । खानेपानी आयोजनाहरूमा यस्तै ब्रह्मलुट छ । डोजरले बाटो खोस्रँदा धराहरू रुवाबासी गर्छन् । यता रुवाबासी उतापटि भट्टीमा ठेकेदार, वडाध्यक्ष, ड्राइभर लगायतका समूह नाचगान गर्छन् । धारामा पानी आएपनि खानेपानी त के आसन धुन पनि नहुने पानी आउँछ । खानेपानीका हाकिमहरू वर्षातमा यस्तै त हुन्छ भन्दै उपभोक्तालाई थर्काउँछन् । जताततैको यस्तो बेथिति र बेहाल अवस्थामा हर्क साम्पाङ जस्तो स्वच्छ र निःस्वार्थी भावनाका अभियन्ता बनेर कोही बाहिर आउनै सक्दैनन् । केहीगरि प्रकट भए भने दलकै झोलेहरू तम्सन्छन् । आपसी मिलिमतोमा ‘म पिटे जस्तो गर्छु, तँ रोए जस्तो गर्’ भन्दै बेलुका दोहोरीमा जम्छन् । कमसेकम धरानको चुनावी परिणामले उदाएको हर्क साम्पाङ अबका दिनमा अन्यत्र पनि देखापरे भने नेपाल आमा कति खुशी हुँदिहुन् !
साम्पाङको विजयपछिको शैलीले अन्य ठाउँका मेयर-उपमेयरलाई लाजमर्नु बनाइदिएका छन् । आफ्नो नगरभरि आफ्नै थोत्रो मोटरसाइकलमा सवार हुने करोडौँका गाडी नचढ्ने भनेर पत्रकारसँग प्रतिबद्धता जनाइसकेका छन् उनले । विजयमाला पहिरिँदा लगाएको रातो अबीर पनि नपखाली सिधै खानेपानीको मुहानमा कामदारसँग आफैं पाइप उचाल्न पुगेका छन् । अन्यत्रका जनप्रतिनिधिलाई धन्यवाद दिने बहानामा वडा-वडामा पुगेर खादामाला र अबीरले पुरिनै ठिक्क छ । तर धरानका एकजना निःस्वार्थी सेवाभावको राईको छोराले अरुलाई पनि मैले पो यस्तो उत्ताउलो काम किन गर्नु ! भन्ने नैतिक पाठ पढाइरहेका छन् ।
महात्मा गान्धीले एक समान्य गरिब भारतीयको पहिरनमा जिन्दगी फाले । एउटा धोती, लौरो र चश्मा महात्मा गान्धीको एउटा सग्लो रुप थियो र अमरत्व पनि यसैमा छ । महात्मा गान्धीले विश्व साम्राज्यको नायक बेलायतलाई त्यही सामान्य पहिरनको व्यक्तित्व लिएर भारतबाट भगाएरै छाडे । गरिबी अशिक्षा अज्ञानताको अन्धकारमय भारतबाट आजको शक्तिशाली भारत बन्नुमा उनकै देन हो । उनलाई त्यसैले भारतीयहरूले ‘बापु’को नाम पुकार्दै पूजा गर्छन् । त्यस्तै आफ्नो सामान्य खेलो गर्ने टेम्पोमा एक-दुईजना साथमा लिएर नाङ्गो सडकमा एक्लै जनताका दुःखका आवाज बोल्दै हिँड्ने धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङ राईले देशका नेताहरूमा बढ्दै गरेको बडप्पन भगाउन अर्को चेतना पढाउँदै छन् । सादा जीवन र उच्च विचारमा राष्ट्र र जनताको सेवामा लाग्दा न सानो भइन्छ न ठुलो हुनबाट रोकिन्छ भन्ने उदाहरण हर्क साम्पाङ बनेका छन् । साम्पाङको सामान्य व्यक्तित्वबाट देशैभरिका स्थानीय समस्यासँग जुद्धै अन्याय र अत्याचार भगाउन र नवचेतना फैलाउन सबैलाई अनुकरणीय बनोस् ।
अन्तमा, पुर्वका दुई व्यक्तित्व लिङ्देन र साम्पाङले उठाएका आवाज र सुकर्मले सम्पुर्ण नेपाली समाजलाई निर्भयतापूर्वक अन्याय अत्याचार भ्रष्टाचार माफियातन्त्र र तस्करको जालो तोड्नका लागि नवजागरण ल्याउने अपेक्षा गर्दै सम्पुर्ण नेपाली समाजमा जकडिएको दलीय दासतालाई उखेल्न सर्वोत्तम प्रेरणा मिलोस् ! लिङ्देन र साम्पाङको जादुमयी चमत्कार देशैभर फैलियोस् ! सबैको जय होस् !
प्रतिक्रिया