जिल्ला समन्वय समिति अर्घाखाँचीमा एमालेको प्यानल निर्विरोध

जिल्ला समन्वय समिति अर्घाखाँचीमा एमालेको प्यानल निर्विरोध


जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् । पाँचदलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाई एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत गरिएन ।

यससँगै अब जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका नेता जीवनारायण कोइराला निर्विरोध चयन भएका छन् । पाणिनी-५ मैदान निवासी कोइराला नेकपा एमाले प्रदेश कमिटीको सदस्यसमेत रहेका छन् ।

यसैगरी उपप्रमुखमा एमाले नेतृ लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएकी छन् । छत्रदेव-१ चिदीका निवासी ज्ञवाली नेकपाको निरन्तरताको रुपमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट एमाले राजनीतिमा प्रवेश गरेकी हुन् ।

यसैगरी समन्वय समितिको खु्ल्ला सदस्यमा नेकपा एमालेका युवा नेताहरू पाणिनी-७ का कमल घिमिरे, भुमिकास्थान-८ का झुपलाल खनाल र सन्धिखर्क-७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् ।

महिला सदस्यमा एमाले नेतृ टुल्कादेबी आचार्य, मालारानी-४,डालकुमारी भण्डारी, शितगंगा-१०,सीता आचार्य, मालारानी-१ चयन भएका छन् । दलित तथा अल्पसंख्यक सदस्य पदमा मिना बिसी परियार चयन भएकी छन् ।

जिल्लाका ६ वटा पालिका मध्ये तीन वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुई वटा पालिकामा उपप्रमुख जितेसँगै एमालेको जित सुनिश्चित भएको थियो ।

समन्वय समिति गठनको निम्ति आवश्यक १२ मत मध्ये नेकपा एमालेको आठ,नेपाली कांग्रेसको दुई, राष्ट्रिय जनमोर्चाको एक र नेकपा माओवादी केन्द्रको एकमत रहेको छ ।

कुनै पदमा पनि उम्मेदवारी नदिएसँगै ५ दलीय गठबन्धन जिल्ला समन्वय समितिबाट बाहिरीएको छ भने नेकपा एमालेले २०५४ सालको विरासत फिर्ता गरेको छ । निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।