उपेन्द्र यादवलाई जिल्ल्याउँदै नयाँ दलको जन्म !

उपेन्द्र यादवलाई जिल्ल्याउँदै नयाँ दलको जन्म !


निर्वाचन आयोगले नयाँ राजनीतिक दलका रुपमा ‘जनता समाजवादी पार्टी’ दर्ता गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले उक्त दल दर्तासम्बन्धी निर्णय गरेको सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिएका छन् ।

हिजो आइतबार जनता समाजवादी पार्टी, (जसपा) नेपालका सात जना सङ्घीय सांसदले नयाँ दल दर्ताको निवेदन आयोगमा दर्ता गरेका थिए । ‘नेपालको संविधान २०७२, राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४, तथा प्रचलित सङ्घीय कानुन बमोजिमा प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ’, पाण्डेयले जानकारी दिएका छन् ।

नयाँ दर्ता भएको दलको नाम संक्षिप्तमा जनता समाजवादी र अङ्ग्रेजीमा ‘पिपुल्स सोसलिस्ट पार्टी’ (पिपुल्स सोसलिस्ट) रहेको छ ।

आयोगको सोमबारको बैठकले जनता समाजवादी पार्टीले पेश गरेको विधान अभिलेख गर्ने र उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिनेसमेत निर्णय गरेको छ ।

त्यसैगरी, सङ्घीय संसद् सचिवालय, सबै प्रदेशसभा सचिवालय र सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई दल दर्ताको जानकारी दिने निर्णय आयोगले गरेको पाण्डेयले जानकारी दिए ।

अशोक राईको नेतृत्वमा जसपा नेपालका सात जना सांसदले नयाँ दल दर्ताका लागि आइतबार (२३ वैशाख) निर्वाचन आयोगमा निवेदन दिएका थिए । राईसँगै सङ्घीय सांसदहरु वीरेन्द्र महतो, प्रदीव यादव, सुशीला श्रेष्ठ, हसिना खातुन, रञ्जु ठाकुर र नवलकिशोर साह सुडी नयाँ दर्ता भएको दलमा छन् ।

ज्ञातव्य छ, जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका यात्रामा रहेको बेला यता आकस्मिक तवरले उनको दल विभाजित भएको छ । यसलाई राजनीतिक विश्लेषकहरुले अर्थपूर्ण रुपमा हेरेका छन् ।