हतियारको बहानामा कमिसनको दाउ

हतियारको बहानामा कमिसनको दाउ


प्रहरीमा अर्बौं रुपैयाँको हातहतियार खरिद हुन लागेका समाचार पढँे । ती हतियार किन खरिद हुन गइरहेका छन् ? त्यो भने मैले बुझिनँ । सेनामा एक सैनिकबराबर एक हतियार चाहिन्छ किनकि सेनालाई लडाइँका लागि नै स्थापना गरिएको हुन्छ । यदि देशका लागि बाह्य वा आन्तरिक खतरा नहुने भए सेना पनि चाहिँदैनथ्यो होला । सशस्त्र प्रहरीमा हतियारका साथै लाठी, ढाल, टियरग्यास पनि चाहिन्छ । सशस्त्र फौज देशभित्र हुने अराजक भीड तथा आन्तरिक सशस्त्र व्रि्रोहहरू नियन्त्रण गर्न स्थापना गरिएको हुँदा त्यहाँ हतियारको आवश्यकता पर्दछ । तर, जुन देशमा सेना र सशस्त्र प्रहरी छन् त्यो देशका जनपथ प्रहरीहरूलाई अर्बौं रुपैयाँको हतियार थप्नुपर्ने आवश्यकता किन पर्‍यो ? के जनपथ प्रहरीको उद्देश्य देशको सीमा बचाउने वा सशस्त्र आन्दोलनसँग मुकाबिला गर्ने हो ? यदि होइन भने ठूलो परिमाणको अटोमेटिक हातहतियारको आवश्यकता अहिले अरूलाई किन पर्‍यो ?
सर्सर्ती अहिलेको देशको स्थिति हेर्दा हिजो माओवादी युद्धकालझैं प्रहरीहरूलाई आफ्नै देशको सशस्त्र समूहसँग लड्नुपरेको छैन । जति हातहतियार प्रहरीहरूसँग अहिले छन् ती हतियार प्रयोग गरेर शान्तिसुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका निभाएको वा गुण्डा, अपहरणकारीहरूलाई इन्काउन्टरमा मार्ने काम भएको वा घाइते गराउने काम भएको पनि देखिएको छैन भने खुल्लमखुल्ला साना हतियार बोकेर समाजलाई त्रसित गराउनेहरू प्रहरीसँग भएका हतियार थोरै भएकै कारण नतर्सेको स्थिति पनि छैन । त्यसैले हतियार खरिद गर्न निर्णय गर्ने अधिकारीसँग मेरो प्रश्न के छ भने के प्रहरीहरूलाई हतियार खरिद गर्न लागेको शान्तिसुरक्षा मजबुत गराउनका लागि हो ? साँच्चिकै हतियारको आवश्यकता परेर हो ? वा यसबाट कमिसन प्राप्त हुन्छ भनेर हो ?
यदि प्रहरीमा हतियार बढाएर अहिलेको शान्तिसुरक्षाको स्थिति सपार्न सकिन्छ भन्ने खरिद गर्ने अधिकारीहरूलाई लागेको छ भने पहिला त्यो उदाहरण सरकारले पेस गरोस् जुन उदाहरणले प्रहरीसँग हतियार पर्याप्त नभएकै कारणले शान्तिसुरक्षामा ठूलो कमजोरी आएको होस् । केन्द्रीय कारागारमा रहेका बन्दीमाथि गोली चल्यो । गोली चलाउनेसँग एउटा पेस्तोल मात्र थियो र त्यहाँ कार्यरत प्रहरीहरूसँग दर्जनौँ हतियार थिए । आखिर त्यो हतियार किन चलेन ? के कारागारमा हतियार अपुग भएकोले नचलेको हो ? आज थुपै्र गुण्डा-अपहरणकारीहरूको जीवनीपत्र पत्रिकामा प्रकाशित भएका छन् तिनलाई निरुत्साहित गर्न र निमिट्यान्न गर्न किन प्रहरीका हतियार चलेका छैनन् । तराईमा राजनीतिको नाममा सक्रिय सशस्त्र समूह प्रहरीभित्र रहेका हयितार चलेर कति मारिए ? के तराईमा प्रहरीसँग रहेका हतियारमध्ये दुई प्रतिशत पनि वर्षमा चलेका छन् ? कम से कम हवाई फायरसम्म भएको छ ? त्यो पनि नभए के हतियारकै जाँचका लागि पनि ती बन्दुकहरू चाँदमारी स्थलमा पुगेर एकपटक पड्कन पाएका छन् ? अब त मलाई लाग्छ स्वयम् ती बन्दुकहरूलाई पनि म पड्कन सक्छु भन्ने विश्वास छैन होला । यदि प्रहरीमा भएका बन्दुकहरू नै वर्षौंसम्म एकपटक पड्कने सौभाग्य पाएका छैनन् भने हालका गृहमन्त्रीज्यूलाई अर्बौं रुपैयाँका नयाँ हतियार ल्याउन किन जाँगर लागिरहेको छ ? मजस्तो प्रहरीमा सेवा गरेको व्यक्तिलाई मनमा प्रश्न उठ्नु स्वाभाविकै हो ? यदि म सुरक्षा सल्लाहकार भएको भए वा निर्णय गर्न सक्ने स्थानमा भएको भए यो निर्णयविरुद्ध उभिने थिएँ ।
मेरो विचारमा जनपथ प्रहरीहरू शान्तिसुरक्षा कायम राख्न यदि असफल भइरहेका वा आशा गरिएझैं सफल छैनन् भने त्यसको कारण हतियार अपुग भएर होइन वल्की अराजक समाज र कमजोर प्रहरी मानसिकताका कारणले हो । आज समाज क्रमश: अराजक बन्दै छ । मन्त्री भएका राजनीतिज्ञहरू नै अपहरणमा संलग्न हुन थालेका छन् । सरकारमा बस्नेहरू नै आफ्ना कार्यकर्ताहरूलाई हत्याजस्ता आरोपबाट बचाउन लागिपरेका छन् । राजनीतिज्ञहरू नै गुण्डा परिचालन गरी पार्टी र आफूलाई पैसा जुटाउन थालेका छन् । जबर्जस्ती कब्जा गरिएका सम्पत्तिलाई हाकाहाकी फिर्ता नदिने अडान लिएर राज्यलाई चुनौती दिइरहेका छन् । यस्तो अवस्थामा त्यस्ता आपराधिक र कानुन मिच्ने राजनीतिज्ञ, गुण्डा, अपराधीहरू के अहिले थपिने नयाँ हातहतियारले नियन्त्रण हुन सक्छन् । मेरो विचारमा बिल्कुलै हुँदैनन् ।
अराजकताको आधारमा टेकेर, बन्दुकको बलमा जनता तर्साएर, पूरा प्रशासन यन्त्रलाई हरुवाचरुवाझैं प्रयोग गर्न राज्यसत्तामा पुगेका कार्यकारिणी अधिकार प्रयोग गर्ने राजनीतिज्ञहरू जो त्यो स्थानमा पुगेर आफ्नो पार्टीलाई जिताउन गर्न हुने र नगर्न हुने सबै काम गर्न किञ्चित नहिचकिचाउने नीति लिएर राज्य सञ्चालन गर्ने ठाउँमा पुगेका छन् । के तिनलाई र तिनका कामलाई नियन्त्रण गर्न नयाँ हतियार सक्षम हुन्छ ? हुँदैनन् । बरु मेरो विचारमा नयाँ हतियार बोकेका थप सुरक्षाकर्मी तिनका वरिपरि हिँडेका कारण तिनले समाजमा आफू झन् अराजक काम गर्नेछन् । के नयाँ हतियार सर्वोच्चबाट सजाय भएको तर जेल जान इन्कार गरेको सभासद्लाई जेल लान किन्नुपरेको हो ? के नयाँ हतियार तराईका राजनीतिज्ञ जो सरकारमै छन् तिनले संरक्षण दिएका बन्दुकधारीहरूलाई नियन्त्रण गर्न किन्न लागिएको हो ? के नयाँ हतियार राजनीतिज्ञको संरक्षणमा अपहरण गर्ने, रक्तचन्दन तस्करी गर्ने र चन्दा उठाउनेहरूलाई मार्नको लागि हो ? मेरो विचारमा होइन । गरिब नेपालीको रगत-पसिनाबाट तिरेको करको पैसाबाट किनिने नयाँ हतियार यिनै गरिब र विवश नेपालीहरूलाई ती राजनीतिक धम्कीहरूको स्वार्थी निर्णयविरुद्ध आवाज उठाउन नदिन किनिएको हुन सक्छ । संविधानसभामा काम गर्न नसक्ने सभासद्हरूलाई हटाउ भनी जनता उठे तिनलाई मुखमा बुटले हान्न नयाँ हतियार चाहिएको हुनसक्छ । सत्ता कब्जा गर्ने सपना साकार गर्न नदिने जनतालाई घुँडामुनि गोली हान्ने नाममा छातीमा ठोक्नका लागि र यही असफल राजनीतिक प्रणालीलाई रक्षा गर्न प्रयोग गर्ने योजना हुनसक्छ ।
देशको शान्ति सुरक्षा ब्रि्रनुको दोस्रो कारकतत्त्व सुरक्षा फौजको आत्मविश्वासको कमी हो । आज अधिकांश प्रहरी कर्मचारीहरू जागिरलाई देशको काम नठानी व्यक्तिगत काम ठान्न थालेका छन् । उनीहरू जनताको सुरक्षामा भन्दा आफ्नो सुरक्षामा बढी चिन्तित छन् । आफ्नो उद्देश्य बिर्संदै छन् । समय बिर्संदै छन् । आफ्नो एक तह पदोन्नति र राम्रो सरुवाका लागि राजनीतिज्ञसँग जस्तोसुकै अनुचित गठबन्धन बनाउन पनि पछि परेका छैनन् । उनीहरू रिक्स लिन चाहँदैनन् । बन्दुक पड्काउन पनि आँट चाहिन्छ त्यो आँट नै अनावश्यक छानबिन समिति, अपारदर्शी वृत्त विकास प्रणाली र षड्यन्त्रमूलक वातावरणका कारण प्रहरीहरूले गुमाइसकेका छन् ।
अत: मेरो विचारमा जनपथ प्रहरीहरूलाई हतियार आवश्यक छैन बरु राजनीतिक व्यक्तिहरूलाई सभ्य राज्यको शासन प्रणाली कसरी चलाउनुपर्छ भनी बुझाउन त्यो रकम खर्च गर्नुपर्दछ । उनीहरूलाई ज्यादै ठूलो प्रशिक्षणको आवश्यकता छ । प्रहरीमा भएका हतियार काफी छन् बरु भएका हतियार चलाउन सक्ने आँट र भएका ऐन-नियम लागू गराउन सक्ने साहस वृद्धि गर्न आवश्यक पर्ने कार्यक्रमका लागि त्यो पैसा जरुरी छ । जबसम्म यी दुई पक्ष सुधार हुँदैन हतियारले शान्ति ल्याउँदैन बरु यो प्रहरीको नाममा कमिसन खाने उपाय मात्र बन्नेछ । जस्तो हुँदै छ ।