चिरिबाबुले नाक काट्ने प्रसंग निकालेपछि नेताहरुले दिए यस्तो जवाफ

चिरिबाबुले नाक काट्ने प्रसंग निकालेपछि नेताहरुले दिए यस्तो जवाफ


ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नाक काट्ने प्रसंग झिकेपछि पार्टीभित्रको घात-अन्तर्घातको आरोप प्रत्यारोपका साथ विवाद सतहमा देखिएको छ ।

नवनिर्वाचित मेयर महर्जनले आफूले स्थानीय निर्वाचन टिकट पाउने सन्दर्भमा टिकट ल्याएर देखाए आफ्नो नाक काट्ने उद्घोष पार्टीका कतिपय व्यक्तिले गरेको खुलासा गरे । उनले भने, ‘फेरि चिरिबाबुले टिकट पाइ जितेको खण्डमा आफ्नो नाक काट्ने भन्दै हिँडेका थिए । तिनले अहिले कसरी सास फेर्लान् ?’

उनले पार्टीको स्कुलिङ कमजोर भएको बताउँदै नाक काट्छु भन्दै हिँड्ने नेताले आफूलाई भोट दिए त ? भन्दै प्रश्न उठाए ।

जिल्ला नेतृत्वको गलत निर्णयका कारण मेयर महर्जनले आफूसँगै ११ जना वडाध्यक्षले जितेको भन्दै टिकट वितरणमा गडबडी भएको जिकिर गरे । उनले भने, मैले भनेअनुसार टिकट वितरण नहुँदा कार्यपालिकामा बहुमत भएन ।’

कांग्रेस जिल्ला सभापति जितेन्द्र श्रेष्ठले आफूले टिकट वितरणमा कुनै गडबडी नगरेको मञ्चबाटै जवाफ फर्काए । आफूले टिकट वितरणमा पैसा नखाएको स्पष्टीकरण दिँदै श्रेष्ठले भने, ‘कांग्रेसले जिल्लामा लज्जास्पद हार व्यहोरेको भए मैले राजीनामा दिन्थेँ । जिल्लामा ६९ वटा उम्मेदवारी परेको वडामा ३८ वटामा जित भएको छ । यो सफलतालाई हेरेर धन्यवाद भन्नु पर्दैन ?’

केन्द्रिय सदस्य तथा ललितपुरका नेता उदयशम्सेर राणाले दक्षिण ललितपुरको वागमती र महाँकाल गाउँपालिकामा राम्रो टिमका साथ काम गरेको कारण लगभग क्लिन स्विप गरेको बताउँदै महानगरले यहाँबाट सिक्नुपर्ने बताए । मेयर चिरिबाबु महर्जनलाई जवाफ दिँदै उनले भने, टिकट दिँदा हस्तक्षेप भएको छैन । जिते आफूले गर्दा जितेको र हारेको ठाँउ अरुले बिगारेको नभनौं । उनले नाक काटेको वा नकाटेको कुरामा गएर विवाद निकाले पार्टीलाई कुनै फाइदा नहुने तर्क गरे ।

केन्द्रिय सदस्य उर्मिला केसीले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवालाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको र गणेशमान सिंह रुँदै हिँडेको प्रसंग निकाल्दै जिल्लाको विवाद सामान्य रहेको बताइन् ।

जिल्ला नेतृत्वले टिकट दिँदा विधान लत्याएर केन्द्रिय सदस्यहरुलाई उपस्थित गराएर निर्णय गराउनुपर्नेमा आफूसँग कसैले नसोधेको गुनासो उनले गरिन् । उनले भनिन्, ‘मलाई पार्टीभित्रका साथीहरुले मेरो हैसियत नभएको बताउने गरेका छन् ।’ पार्टीभित्र निषेधको राजनीति नगर्न चेतावनी दिँदै केसीले भनिन्, ‘निषेधले पार्टीमा द्वन्द्व निम्त्याउछ । द्वन्द्वले कमजोर भइन्छ ।’

केन्द्रीय सदस्य जितजंग बस्नेतले नेपाली कांग्रेसमा धेरै अनुशासनहीन काम भएको बताए । उनले मेयर महर्जनको भनाइप्रति लक्षित गर्दै भने, ‘यहाँ जसले जे बोले पनि हुन्छ ।’

पार्टीका उपसभापति पूर्णबहादुर खड्काले छिट्टै पार्टीको समीक्षा बैठक राख्न जिल्ला अध्यक्ष जितेन्द्र श्रेष्ठलाई निर्देशन दिँदै भने, ‘समीक्षा बैठकमा पार्टीका ठूला नेता के भन्ला भनेर नसोच्नुस र सबै कुरा खुलस्त राख्नुस् ।’