कृषि पेशा र कृषकहरूको अवमूल्यन गर्ने र गैरकृषि पेशालाई महिमामण्डित गर्ने राजनैतिक चलनले सत्ता-सुख प्राप्त गर्न नेताहरूलाई सहायता होला । मुलुकलाई आर्थिक, सामाजिक दास बनाउन खोज्ने विदेशी शक्तिले सञ्चालन गरेको गैससबाट केही हजारले राम्रो धन कुम्ल्याउन पाउलान् । तर, यस कार्यले उनै नेता, नागरिक अगुवाहरूका आफन्त पनि पीडित हुन्छन् ।
- स्वयम्भूनाथ कार्की
किसानले धरतीको छाती पगारेर सारालाई जीवन धान्न आवश्यक पर्ने खाद्य-सामाग्री जुटाइदिन्छ । पृथ्वी, आकाश, तेज, वायु र जल पञ्चमहाभूतलाई आफ्नो हिम्मत, मिहेनत, कौशलले उपासना गरेर किसानले नवसृजना गर्छ । किसानले गर्ने सृजनामध्येको कुनै पनि बस्तु कारखानामा उत्पादन हुँदैन, प्रविधिले प्रयोगशालामा बनाउन सकिँदैन । किसानले उब्जाएको अन्न अरूले अनेकौँ रूपमा परिवर्तन त गर्न सक्छन् तर त्यही अन्नचाहिँ बनाउन सक्दैनन् । त्यसैले कृषिकर्म सबै कर्मभन्दा आदरणीय अनि कृषक अरुभन्दा सम्मानित हुनुपर्ने हो । तर सबैभन्दा अपहेलित पेशा नै कृषि र, सबैको तारो कृषक नै भएका छन् । कुन बेला के कुरामा दण्ड पाइने हो भनेर कृषक हमेसा त्रसित रहन्छन् । मल बिउ आपूर्ति गर्न अक्षम सरकार जमिन बाँझो भएमा जरिवाना गर्ने भन्छ बेला-बेलामा !
श्रम बेचेर जीवनयापन गर्ने श्रमिकहरू, व्यापारीहरू हुन् वा कच्चा पदार्थ प्रशोधन उत्पादन गर्ने उद्योगी- कृषिपछिका महत्वपूर्ण पेशा हुन् । निजीक्षेत्र वा सरकारी क्षेत्रसँग सम्बन्धित यावत पेशाहरू पनि कृषिपेशा भन्दा उपल्ला हैनन् । यसै गरेर खुम्चामा सामान लिएर दैलो-दैलो चाहार्ने फेरीवाला वा वातानुकुलित कार्यालयमा बसेर करोडौँ/अर्बौंको कारोबार गर्ने सबै व्यापारी नै हुन् । फलाम पिटेर कृषकका ज्यावल बनाउने सानो आरन थाप्ने वा हजारौँलाई रोजगारी दिने ठुल्ठूला उद्योग-सञ्चालक उद्योगी नै हुन् । केवल मात्रा र कमाइको फरक हो । यी सबैको प्राण तथा पेशाको आधार कृषकका उत्पादन हुन् । कृषिबाहेक अन्य पेशामा जो ठूलो मात्रामा काम गर्दछ वा जसको कमाइ धेरै छ उ प्रतिष्ठित मानिन्छ !
अन्य बस्तु वा सेवा उपभोग गर्नेहरूको खल्तीबाट निकालेर सरकारलाई बुझाउनु पर्ने कर बुझाएबापत उ ठुलो करदाता भनेर सम्मान खोज्छ र पाउँछ पनि । तर त्यो कर उसले तिरेको नभइ उसले अन्यबाट उठाएर बुझाएको कुरा भने गौण हुन्छ । पेशाकर्मी भएर सर्वसाधारण भन्दा ज्यादाको हैसियत खोज्नै पर्दैन- त्यसै पाइन्छ, केवल ओहदा अथवा पहुँच ठुलो हुनु प¥यो । ठूला व्यापारी वा उद्योगीहरू त समानान्तर सरकार नै चलाउँछन् निजी क्षेत्रको नाममा । तर, वास्तवमा जसले सबैको निमित्त दाना (खाना) जमिनको छाती चिरेर उत्पादन गर्दछ, जसले मान्छे मात्र होइन मान्छेका नजिक रहने जीवहरूको पनि पेट भर्दछ त्यो किसानलाई हमेसा तुच्छ व्यवहार हुन्छ । उच्चपदस्थ कर्मचारीहरू, ठुला व्यापारीहरू अनि ठुला उद्योगीहरू भने हमेसा अतिरिक्त सम्मान र सुविधाका हकदार ठहरिन्छन् ।
एघारबिघे (एक बिगाहामा बहत्तर हजार नौ सय वर्ग फुट हुन्छ) नियम लागु भएपछि कुनै किसान ठुलो रहने त कुरै भएन । यो क्षेत्रफल एक मझ्यौला उद्योगले आफ्नो परिसरको निमित्त चर्चेको क्षेत्रफलको हाराहारीमा हुन्छ । त्यस्तै ठुला व्यापारीले विभिन्न स्थानमा गोदाम तथा कारोबारस्थलको रूपमा चर्चेको जमिनको एउटा किसानले खेती गर्न राख्ने अनुमति पाएको कुल क्षेत्रफल भन्दा धेरै हुन्छ । अझ मुख्य सडक बनाउने हो भने करिव दुई किलोमिटरमै त्यो एघार बिगाहको क्षेत्रफल सीमित हुन्छ । उत्पादनको मुख्य पेशा ‘कृषि’माथिको यो विभेदले प्रतिएकाई उत्पादन घटेको घट्यै छ । विदेशबाट आयात गरेको रसायनिक मल, वर्णशंकर बिउ, विदेशी जोत्ने साधन अनि त्यो साधन चलाउने विदेशी इन्धनले उत्पादनको ठुलो हिस्सा किसानको हातमा रहँदैन ।
कृषि पेशा र कृषकहरूको अवमूल्यन गर्ने र गैरकृषि पेशालाई महिमामण्डित गर्ने राजनैतिक चलनले सत्ता-सुख प्राप्त गर्न नेताहरूलाई सहायता होला । मुलुकलाई आर्थिक, सामाजिक दास बनाउन खोज्ने विदेशी शक्तिले सञ्चालन गरेको गैससबाट केही हजारले राम्रो धन कुम्ल्याउन पाउलान् । तर, यस कार्यले उनै नेता, नागरिक अगुवाहरूका आफन्त पनि पीडित हुन्छन् । उन्नति र अग्रगमनका नाममा मुलुक विकसित मुलुकका निमित्त मजदूर पैदा गर्ने कारखाना बनाउन परिवर्तनका नेतृत्व सफल भएका छन् । नेपाल तीव्र गतिले अशक्त बुढाबुढी तथा अबोध केटाकेटी मात्र बस्ने मुलुकमा रुपान्तरण हुँदै गएको छ । त्यसैले सम्पुर्ण राजनीति वृद्धभत्तामा टिकेको छ, शक्ति छउन्जेल विदेशमा मजदूरी छँदैछ । लाजै पचाएर रेमिट्यान्सले मुलुक धानेको छ भनेर गर्व गर्न नेपालका नेताहरू पछि पर्दैनन् ।
गोर्खा सैनिकको रूपमा नेपाली पाखुरी विदेशमा पठाउनु विगतका शासकहरूको अपराध थियो भनेर कुर्लिने राजनेताहरू आज आफैं नेपालीलाई निकृष्ट श्रम गर्न भत्भती तातेको खाडी मुलुक पठाउँदैछन् । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भनेर मुलुकमा आफ्नो काम गर्न नदिनेहरू महिनामा चार दिन अनिवार्य ओभरटाइम र दिनमा चार घण्टा अनिवार्य अतिरिक्त श्रमलाई सुविधाको नाम दिएर वैदेशिक राजगारीको नाममा नागरिकलाई श्रमशिविर हुल्दैछन् । मुलुकमा भने जबर्जस्ती बन्द गराएर अत्यन्त कठिन श्रम गर्न नागरिक विदेश पठाएर मख्ख छन् ।
मुलुकको मुख्य पेशा कृषि र त्यसमा लाग्ने कृषकलाई अपराधीसरह व्यवहार गरेर कुन मालिकको भक्ति गरिँदै छ यो कुरा मनन गर्न आवश्यक छ । मुलुकको उत्पादन वृद्धि गर्ने प्रयत्नलाई निस्तेज बनाइ नेपालीहरूलाई तातेको बालुवामा जोताएर त्यसबाट प्राप्त रेमिट्यान्सको सहारामा वातानुकुलित बासस्थान र वातानुकुलित बाहनमा सुविधासम्पन्न रिसोर्टमा गर्ने मोजलाई ‘जनताको चिन्ता गरेको’ विशेषण दिने चलन नेपालको नौलो संस्कृति हो । बचेखुचेका नागरिकलाई थाम्नै नसक्ने करको बोझ बोकाएर गरिने मोज र त्यस मोजलाई वैधानिकता दिने शासनप्रणाली अब नागरिकले अनन्त कालसम्म सहनैपर्ने भएको छ !
प्रतिक्रिया