अमेरिका भ्रमणको गुप्त तयारी !

अमेरिका भ्रमणको गुप्त तयारी !


प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी उच्च तहमा र अति गोप्य तवरमा भइरहेको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार कुनै अप्रत्याशित अवरोध नभए प्रधानमन्त्री देउवाबाट आगामी असारमा संयुक्त राज्य अमेरिकाको विशेष भ्रमण हुँदैछ । तर प्रधानमन्त्रीको भ्रमणबारे अहिलेसम्म परराष्ट्र मन्त्रालय जानकार छैन । परराष्ट्र मन्त्रालयलाई समेत समयमै जानकारी नदिएर ‘अति उच्च तहमा’ प्रधानमन्त्रीको भ्रमण तयारी भइरहेको छ । यस सम्बन्धमा परराष्ट्रका उच्चाधिकारीहरूसँग सम्पर्क गर्दा उनीहरूले अति उच्च तहमा कुरा भइरहेकोले यसबारे आफूहरू अहिलेसम्म जानकार नभएको बताए ।

प्रधानमन्त्री देउवा मात्र नभइ प्रधानसेनापति पनि अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनको भ्रमणलाई पनि गुप्त राख्ने प्रयास गरिएको छ । प्रधानमन्त्री र प्रधानसेनापति एक साथ अमेरिका भ्रमणमा जाँदैछन् या अलग–अलग भन्ने पनि यकीन हुन सकेको छैन । तर नेपाली सेनापतिको अमेरिका भ्रमण हुने र, त्यसपश्चात अमेरिकी सेनापतिको पनि नेपाल भ्रमण हुने बताइएको छ ।

ज्ञातव्य छ, शेरबहादुर देउवाको नेतृत्वमा वामपन्थी गठबन्धनको सरकार गठन भएयता नेपालले खुलेर चीनको विरुद्ध, भारतसँग सन्तुलनको र अमेरिकासँग निकटतम सम्बन्ध राख्दै आएको छ । एमसीसी अनुमोदनपछि नेपालको वर्तमान सरकार र सत्ताप्रति अमेरिकी सहानुभूति निकै बढेको छ र, यसैसँग नेपालमा अमेरिकी गतिविधि पनि निकै नै बढेको छ । केही साताअघि मात्रै एक अमेरिकी सहायकमन्त्री भारत हुँदै नेपाल आएर सोझै तिब्बती शरणार्थी भेट्न बौद्ध पुगेकी थिइन् । भारतमा रहँदा उनले दलाई लामासँग भेटवार्ता गरेकी थिइन् । यस घटनाले उत्तरको छिमेकी राष्ट्रलाई कस्तो असर पारेको हुन सक्छ भन्नेबारे नेपालको सरकारी पक्ष बेसरोकार देखिन्छ । युक्रेन मामिलामा पनि नेपाल सरकारले सिधै युक्रेनको पक्ष लिएर आफू पश्चिमी मुलुकको पक्षमा उभिएको सन्देश दिएको छ ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई सामान्य ठानिएको छैन । यो भ्रमणपछि नेपाल थप अङ्कुशमा पर्ने आशङ्का कुटनीतिक क्षेत्रका जानकारहरूले गरेका छन् ।