प्रचण्डविरुद्ध स्वतन्त्र उम्मेदवारीको तयारी

प्रचण्डविरुद्ध स्वतन्त्र उम्मेदवारीको तयारी


नेपाली काङ्ग्रेसको विद्रोही पक्षले चितवनको क्षेत्र नं. ३ बाट बेग्लै उम्मेदवार खडा गर्न आवश्यक गृहकार्य शुरु गरेको छ । त्यसनिम्ति जिल्लाका वरिष्ठ नेताहरू भीमबहादुर श्रेष्ठ, कृष्णलाल अधिकारी र जगन्नाथ पौडेललगायतका बीच निरन्तर बैठक र संवाद चलिरहेको छ ।

उक्त निर्वाचन क्षेत्रमा पुनः प्रचण्डले उम्मेदवारी दिने विश्वास गरिएको छ । अहिलेसम्मको स्थितिले उक्त क्षेत्रबाट काङ्ग्रेसको समर्थन लिएर प्रचण्डले उम्मेदवारी दिने निश्चत मानिन्छ । त्यस्तो अवस्था आउने विश्वासका आधारमा विद्रोही पक्षले छुट्टै गृहकार्य शुरु गरेको हो ।

सो क्षेत्रमा नेता जगन्नाथ पौडेल नै खडा हुने हो या मीना खरेल या अरु कोही भन्ने यकीन भइसकेको छैन । तर प्रचण्ड-काङ्ग्रेस गठबन्धनविरुद्ध सशक्त उम्मेदवार खडा गर्ने निर्णयमा विद्रोही समूह पुगिसकेको छ ।

त्यसरी उम्मेदवार खडा गर्दा नेकपा एमालेलगायत अन्य दलहरूको पनि समर्थन लिनुपर्ने निष्कर्श विद्रोही पक्षका नेताहरूको छ । प्रचण्डका विरुद्ध स्वतन्त्र र सबैको साझा उम्मेदवार खडा गर्ने र कुनै पनि हालतमा प्रचण्डलाई पुनः संसद्मा प्रवेश गर्नबाट रोक्ने अठोट उनीहरूले गरेका छन् । यस प्रकारको तयारी भइरहेको सुइँको पाएमा प्रचण्डले कतै त्यस क्षेत्रबाट उम्मेदवारी नै नदिने हुन् कि भन्ने चिन्ता भने चितवनमा देखिएको छ ।