राज्यमन्त्री विमला वलीको घटनाबारे छानबिन गर्न समिति गठन

राज्यमन्त्री विमला वलीको घटनाबारे छानबिन गर्न समिति गठन


राज्यमन्त्री विमलालाई मानसिक पीडापछि बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको मुख्यमन्त्री कार्यालयको भनाइ

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीको घटनाको विषयमा छानबिन गर्न समिति गठन गरेको छ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । समितिमा कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । घटनाको सत्य तथ्य छानबिन गरि समितिले १५ दिन भित्र प्रतिवेदन पेस गर्ने सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए।

यसैबिच राज्यमन्त्री विमला खत्री वली उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् । मुख्यमन्त्री कार्यालय श्रोतले दिएको जानकारी अनुसार मानसिक पीडापछि एक्कासी बेहोस भएको अवस्थामा उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालको क्याविन नम्बर १ मा राखिएको मन्त्री वलीलाई बुधबार दिउँसो करिब २ बजे भर्ना गरिएको अस्पताल श्रोतले जनायो ।

कुटपिटमा परेकी पीडित मिना भण्डारी बस्नेतले मन्त्री वलीविरुद्ध मंगलबार दाङमै किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरी परेपछि मुख्यमन्त्री केसीले दाङका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई बारम्बार फोन गरी हिरासतबाट छुटाएर बुटवल ल्याउन दबाब दिएका थिए । मुख्यमन्त्रीको दबाबपछि वलीलाई प्रहरी हिरासतबाट छुटाएर बुटवल ल्याइ मुख्यमन्त्री निवासमा राखिएको थियो ।