होटल पौवाको स्विमिङ पुलमा डुबेर युवाको मृत्युु

होटल पौवाको स्विमिङ पुलमा डुबेर युवाको मृत्युु


उद्देश्यविपरित सञ्चालित भैरहवाको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको पुष्टि गरे ।

सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले बालउद्यान सञ्चालन गर्ने भनेर सम्झौता गरे पनि उद्देश्यविपरित संरचना बनाएर होटल चलाइरहेको छ । होटलको सोही स्विमिङ पुलमा डुबेर स्थानीय युवाको मृत्यु भएको हो ।

गर्मी बढेसँगै स्विमीङ जानेको मानिसको संख्या बढेको छ, । गर्मी छल्न साथीहरुसँग स्विमिङ गर्न पुगेका तुलाधर शुक्रबार सवा ५ बजेतिर पानीमा डुबेका थिए । उद्धार गरी अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी पौडेलले बताए ।

बालउद्यान सञ्चालन स्वीकृति पाएको कम्पनीले उद्देश्यविपरितका संरचना बनाएर होटल सञ्चालन गरिरहेको छ । होटल परिसरमा २ वटा स्वीमिङ पुल, र माछापालनसहितको एक पोखरी पनि छ, जहाँ बेलाबेलामा बोटिङ हुन्छ ।

यही साता मात्रै बुटवलमा पनि स्विमिङ पुलमै डुबेर एक युवाको मृत्यु भएको थियो । होटल तथा वाटर पार्क र स्विमिङ पुल सञ्चालकहरुले सुरक्षा मापदण्ड नअपनाउँदा एक साता नबित्दै अर्को दुःखद घटना दोहोरिएको हो । सेफ्टी गार्ड र सुरक्षा मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्नुपर्नेमा होटलहरुले बेवास्ता गर्दा दुःखद घटना घट्ने गरेको छ ।

मृतकका भाइ अशोकराज श्रेष्ठले होटेलको स्विमिङ पुलमा चरम लापर्वाहीका कारण दुःखद घटना भएको बताए । उनले घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।