सरुवाको मौसममा निजामतिको दौडधुप

सरुवाको मौसममा निजामतिको दौडधुप


-यदुनाथ बञ्जारा
माघदेखि सूर्य मकर राशिमा प्रवेश गर्‍यो । अब दिन तात्तिने क्रम सुरु हुन्छ । माघ महिना धार्मिक तथा भौगोलिक चक्रिय रूपले मात्र महत्त्वपूर्ण नभई नेपालको निजामती कर्मचारीतन्त्रमा पनि यसले छुट्टै महत्त्व राख्दछ । वर्षभरि एउटै कार्यालयमा कुथर्ुर्केर जागिर पकाउनेहरू हुन् या आकर्षक र मालदार अड्डामा जमेर जीवनशैलीमै छलाङ मार्ने कर्मचारी यी दुवैथरीका मनोवृत्तमा माघको विशेष महत्त्व रहने गर्दछ ।
निजामती सेवा ऐनअन्तर्गत रहेर जागिर खाइरहेका कर्मचारीहरूको सरुवा हुने महिना हो माघ । सामान्य प्रशासन मन्त्रालयले माघ मसान्तभित्र मुलुकभरका कर्मचारीहरूको सरुवा गर्ने प्रावधान छ । सामान्यले गर्ने सरुवा सेवा समूहअन्तर्गत मिल्ने कुनै पनि कार्यालयमा हुनसक्ने व्यवस्था छ । हिमालबाट तराई, तराईबाट पहाड, पूर्वबाट पश्चिम, पश्चिमबाट दक्षिण जहाँ पनि पुर्‍याउन सक्ने भएकोले कर्मचारी वृत्तमा माघे सरुवाप्रति व्यापक चासो र चलखेल हुने गर्दछ ।
मूलत: दुर्गम र सुगम मिलाएर कर्मचारीहरूको चित्त बुझ्नेगरी सरुवा गर्नुपर्ने आधार मापदण्ड लिखित-अलिखित रूपमा कायम रहने भए पनि पहुँच, पैसा र शक्तिकेन्द्रहरूको निर्देशन दबाब प्रभावले सरुवालाई अस्वाभाविक पार्दै लगेकोतर्फ असन्तुष्टि व्यक्त गर्दै जागिरसँगै जीवन खानेहरू पनि थुप्रै भेटिने गरेका छन् ।
कर्मचारी सरुवामा चलखेल एउटा नियमित शृङ्खला नै बनिरहेको छ । मन्त्रीदेखि सचिवसम्मका लागि माघ महिना ‘घ्यू खाने’ महिना बन्ने गरेको बताइन्छ । सामान्य प्रशासनमन्त्री, सचिव, कर्मचारी प्रशासन शाखा प्रमुख र तिनका वरिपरि घुम्ने ट्रेड युनियनका नेता गणहरूका लागि माघ महिना दसैंभन्दा राम्रो चाड बन्ने गरेको छ । मालदार र आकर्षक अड्डाहरूमा सरुवा जान चाहनेहरूले गोप्य टेण्डर हाल्ने बेला हो माघ । खल्तीमा रहेका कर्मचारीको सूची र टेण्डरको बोलकबोलको जिम्मा लिनेमा लाइन मिनिस्टरको राजनीतिक दलका हनुमान कार्यकर्ताको बोलवाला पनि उत्तिकै सशक्त रहने गरेको छ ।
यतिखेर चतुर कर्मचारीहरू, मन्त्रालय धाउन थालिसकेका छन् । हरेकजसो कार्यालयबाट कर्मचारीहरू राजधानी दौडमा जाने क्रम सुरु भएको छ । मन्त्रीको नजिकको सर्म्पर्क सूत्र खोजेर होस् या सचिवको चाकडी गरेर आफूले रोजेको ठाउँमा जानु वा जहाँको तहीँ थमौदी हुनु प्रयत्नरत छन् । कमाउ अड्डामा गतिलै शुभलाभ गर्नेहरू अझै त्यहीँ थमौती रहन चाहने र कमाइ भए पनि बद्नामी बन्दै जाँदा अप्ठेरोमा पर्नेहरू त्यस्तै प्रकृतिको अर्को अड्डामा स्थानान्तरण हुन पनि चलखेल सुरु हुन थालेको छ ।
विधिको शासन चलाउन प्रत्यक्ष रूपले सहयोग गर्ने कर्मचारीतन्त्र स्थायी सरकार हो तर उनीहरू स्वयम् विधिको खिलाफमा सङ्गठित भएर उत्रने गरेका छन् । ट्रेड युनियनको आवरणमा भएका गतिविधिले युनियनहरूमा बलियो र कसिलो वर्चस्व नराख्ने कर्मचारीहरू अहिले पनि थिचोमिचो र ओझेलमै छन् । दुई वर्ष दुर्गममा सेवा गरेपछि सुगम र घरपायक जान पाइने व्यवस्था कागजमा भए पनि वर्षौंसम्म दुर्गमबाट झर्ने राहत पाएका छैनन् भने पैसा र पहुँच हुनेहरूले उनीहरूलाई विस्थापित गरेका छन् ।
न्युटनले गहिरो भागमा पानी जम्ने पुष्टि गरेझैं नेपालको कर्मचरीतन्त्रमा पनि यही सिद्धान्त लागू भएको छ । लोकतन्त्रको कथित अभ्यास राम्रै भएको छ । अधिकारमुखी प्रवृत्तिको पारो ह्वात्तै बढेको छ । राज्यले स्वतन्त्र, निष्पक्ष र आवश्यकताअनुसार कर्मचारी खटाउन पाउने अधिकारमा तुर्लुङ्ग ठोकिएको छ । कर्मचारी सङ्गठन ?युनियन) हरूको सहमतिका नाममा हस्तक्षेप बढेको छ । निजामती कर्मचारीहरूका लागि यो माघ महिना अवसर र आतङ्कको संगम बन्ने गरेको छ । पहुँच र पैसावालहरूलाई नवीन अवसर हो भने निमुखा, निरीह कर्मचारीहरूका लागि आतङ्क पनि ।
माघको सामान्य मन्त्रालयको सरुवा चलखेल सरगर्मी सेलाउन नपाउँदै फागुनमा सुरु हुन्छ मन्त्रालयअन्तर्गतको सरुवा चलखेल । सामान्यको घुँएत्रोबाट बचेका मट्याङ्ग्राहरू विभागीय मन्त्री र सचिवको गुलेलीको सिकार हुने गर्छन् । फागुन महिनाभर मन्त्रालयले आफूमातहतका कर्मचारीलाई सरुवा गर्ने गर्छ, यसमा पनि उही यथापूर्व कल्पयते भनेझैं चलखेल र लिगलिगे दौड सुरु हुन्छ फलत: उही घ्यू घसेका बलिया-बाङ्गा त्रि्रेहरू नै पुग्छन् शुभलाभको सिंहासनमा ।
चैत्र महिनामा शिला खोजेर चित्त बुझाउँछन् विभागीय प्रमुखहरूले । महानिर्देशकहरूले पनि शिला खोजेरै पनि स्वार्थको गोजेरो भर्ने गर्छन् । राम्रो अड्डामा कार्यालय सहयोगी सरुवा गर्दासम्म लाखमा खेल्ने विभागका प्रमुखहरूको अन्य च्याँखेदाउ पनि मोटोघाटै हुने गरेको पाइन्छ ।
त्यसो त विभागीय प्रमुखहरू जहिले पनि लाइन मन्त्रीको चेपुवामा फत्रक-फत्रक भएर बाँच्न विवश हुन्छन् । महिनैपिच्छे विभागीय प्रमुख फेरिने कतिपय अड्डा मन्त्रीका मादल साबित भएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई भ्रष्ट मुलुकको अग्रपङ्क्तिमा राखेका कारणहरू पनि यिनै गतिविधि र परिवेशभित्र हुर्किएका छन् ।
तलबको भरमा जागिर खाने कर्मचारीलाई श्रीमतीले त गन्न छोड्ने अवस्था छ भने अरूको के कुरा ? स्वाभिमानलाई धरौटी राखेरै भए पनि कमाउनुपर्ने-रमाउनुपर्ने भएपछि कर्म गर्ने आचारी भ्रष्ट बन्ने आचारीमा रूपान्तरण हुन बाध्य र विवश छन् । के गर्नु मूल नै धमिलो भएपछि धारामा सङ्लो पानीको अपेक्षा गर्नेहरू नै मूर्खसिवाय के हुन सक्छन् ।