सर्लाहीमा कार दुर्घटना हुँदा बालकको मृत्यु, सात जना घाइते

सर्लाहीमा कार दुर्घटना हुँदा बालकको मृत्यु, सात जना घाइते


सर्लाहीको दक्षिण पश्चिम क्षेत्र धन्कैलमा भएको कार दुर्घटनामा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । आइतबर बिहान धन्कौल गाउँपालिका-५, छठीघाट पुलमा कार दुर्घटना हुँदा रौतहटको वृन्दावन नगरपालिका-४, निवासी ४ वर्षका गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा सोही स्थानका ७० वर्षका महेन्द्र राय गम्भीर घाइते भएका छन् । उनको शरीरको विभिन्न भागमा चोट लागेको र बायाँ खुट्टाको तिघ्रा भाँचिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते हुनेहरूमा बृन्दावन नगरपालिका-४, का ४ वर्षका अमित कुमार यादव, १४ वर्षकी मिरा कुमारी यादव, ३२ वर्षका जितेन्द्र कुमार यादव, १७ वर्षकी शोभाकुमारी यादव, १० वर्षका गौतम यादव र ६ वर्षका अनिकेत यादव रहेका प्रहरीले जनाएको छ । उनीहरु आठै जना एकै परिवारको हुन सक्ने प्रहरीको आशंका छ । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

सर्लाहीको छतौनाबाट छठियारको भोज खाएर घर फर्कंदै गर्दा उनीहरु सवार भारतीय नम्बर प्लेट बिआर ०५ एआर ५१३७ नम्बरको कार दुर्घटनामा परेको थियो । अनियन्त्रित भएर कार दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ । कारण पुलबाट १५ फिट तल खसेको प्रहरीले जनाएको छ । घटनालगतै चालक फरार रहेका इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

मृतक बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । फरार चालकको खोजी भइरहेको जिल्ला पहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले जनाकारी दिए ।