एसपिपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोजेको कांग्रेस प्रवक्ताको आरोप

एसपिपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोजेको कांग्रेस प्रवक्ताको आरोप


photo: rss

अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)लेचुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. महतले यसबारे धारणा राख्दै भने, “यो केही ठूलो कुरा थिएन, जबकि ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र, त्यो खुलिसकेको पनि छ, तर एजेण्डाविहीन बनेको एमालेले एसपिपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्यो ।”

प्रवक्ता डा. महतले गएको स्थानीय तहको निर्वाचनपछि एमाले एजेण्डाविहीन बनेको र त्यसैले सरकारका विरुद्धमा आगामी संसदीय निर्वाचनलाई लक्ष्य गरेर विभिन्न अनर्गल प्रचारमा लागेको बताए ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता डा. महतले नेपालले कुनै देश या समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

एक फरक प्रसङ्गमा उनले वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना पुनः सञ्चालनको सम्भावना कमै रहेको धारणा राखे ।

निजी क्षेत्रलाई प्रतिस्पर्धीरुपमा अघि बढाउनुपर्ने नीति सरकारको हुनुपर्ने भन्दै नेता महतले स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माण जस्ता क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने विचार व्यक्त गरे । निजी क्षेत्रको सक्रिय सहभागिताविना देशको आर्थिक विकास सम्भव नहुने भएकाले उद्योग व्यापारका क्षेत्रमा सरकारले हात हाल्न नहुने तर्क उनको थियो ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेकाले आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलको गठबन्धन बन्ने उनले बताए ।