मोडलमाथि बलात्कारको आरोप लागेका पाण्डे पुर्पक्षका लागि थुनामा

मोडलमाथि बलात्कारको आरोप लागेका पाण्डे पुर्पक्षका लागि थुनामा


मानव बेचबिखन, ओसारपसार र बालयौन दुरुपयोगको गरेको आरोप लागेका मनोज पाण्डे भनिने मनोजकुमार जैशी पुर्पक्षका कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं जिल्ला अदालतको सोमबारको आदेशले उनलाई पुर्पक्षका लागि कारागार कार्यालय, डिल्लीबजार चलान गरिएको हो । बालयौन दुरुपयोग र मानव बेचबिखन तथा ओसारपसारमा जाहेरी परेपछि पाण्डेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि परिसरमा बुझाएको थियो ।

पाण्डेमाथि आफूलाई बालयौन दुरुपयोग गरेकोलगायत विषय उल्लेख गरी पीडितले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को बालयौन दुरुपयोग गर्न नहुने कसुरमा गत जेठ ८ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । पीडितकी आमाले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कसुरमा जेठ ९ गते अर्काे जहेरी दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

जाहेरीमा पाण्डेमाथि कहिले फोटो सुट, कहिले सक्सेस पार्टी दिने नाममा होटल तथा विभिन्न स्थानमा बोलाई डर, त्रासमा पारी धाक, धम्की दिई पेयपदार्थ भनी नसालु पदार्थ खुवाएर बेहोस बनाइ नियन्त्रणमा राखी आफूले जबरजस्ती करणी गरी वेश्यावृत्तिमा लगाउने गरेको आरोप छ ।

दुवै जाहेरी दर्ता गरी जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रारम्भ गरेकामा जिल्ला सरकारी वकीलको कार्यालयमार्फत गत जेठ २७ गते काठमाडाँै जिल्ला अदालतमा आरोपपत्र दर्ता भएको थियो । आठ वर्ष अघि सौन्दर्य प्रतियोगिताको नाममा आफुमाथि जबरजस्ती करणी गरेको भन्दै पीडितले जेठ ४ गते सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरेकी थिइन् ।

हदम्यादका कारण करणी मुद्दा चलाउन अफ्ठेरो परेको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि त्यसको सर्वत्र विरोध भएको थियो भने सडकदेखि सदनसम्म हदम्याद हटाउन माग भएको थियो ।