रविले परिवारवाद निषेध गर्ने भनेपछि हरिशरणको उद्घोष- ‘रविको पार्टीमा आजीवन संलग्न हुन्न’

रविले परिवारवाद निषेध गर्ने भनेपछि हरिशरणको उद्घोष- ‘रविको पार्टीमा आजीवन संलग्न हुन्न’


वरिष्ठ सञ्चारकर्मी हरिशरण लामिछानेले आफ्ना भाइ रवि लामिछानेले गठन को ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका छन् ।

रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले सो पार्टीमा आफू आजीवन संलग्न नहुने घोषणा गरेका हुन् । मंगलबार राष्ट्रिय सभागृहमा कार्यक्रम गरी रविले घोषणा गरेको नयाँ पार्टीले परिवारवाद निषेध गर्ने बताइएपछि हरिशरणले सो घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत हरिशरणले लेखेका छन्, ‘राजनैतिक रुपले त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)मा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।’

सो घोषणा गर्दै हरिशरणले फेसबुकमा लेखेका छन्-

जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी

नैतिक न राजनैतिक ?

नयाँ पार्टी घोषणा गरेकोमा रवि लामिछानेलाई बधाई । पार्टीको नीतिअनुसार, परिवारवाद निषेध गरिनु राम्रो प्रयास हो । यस क्रममा मनमा लागेको एउटा रोचक कुरा :

कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नुहोला । पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है ।

दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले संलग्न हुने त कुरै भएन । राजनैतिक रुपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।

स्वतन्त्र र दलगत राजनितिका लागि मसङ्ग अपार अवसर र सम्भाबना छन् । बाँकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन । नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहनेछ ।

‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’