माओवादी नेताहरू कोही दरबारमा, कोही झोपडीमा

माओवादी नेताहरू कोही दरबारमा, कोही झोपडीमा


-नवीन उप्रेती
माओवादी अध्यक्ष प्रचण्ड करिब तीस करोड मूल्यबराबरको भव्य महलमा (नयाँ बजारबाट लाजिम्पाट) सर्नुभएपछि सोही पार्टीका अन्य नेताहरूले चाहिँ कस्ता वासस्थानमा कसरी जीवन निर्वाह गर्दै होलान् भन्ने जिज्ञासा सर्वत्र पैदा भएको छ । अध्यक्ष प्रचण्डलगायत सत्ताकेन्द्रित राजनीतिमा घुमिरहेका केहीका निम्ति राजधानीमा घरको कुनै दु:ख छैन । त्यस्ता नेताहरूलाई बसोबासको व्यवस्था मिलाएर गुन लगाउन व्यापारीहरू प्रतिस्पर्धा नै गर्छन् । कतिले सिङ्गै घर दिएका छन् त कतिले नि:शुल्क फ्ल्याट उपलब्ध गराएका छन् । सत्ता र पार्टी नेतृत्वमा घुमिरहेकाहरू नि:शुल्क उपलब्ध भएको घरमा बस्दै आएका छन् । एक समय युद्धमा होमिएका अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष एवम् युवा नेता लेखनाथ न्यौपानेलगायत माओवादीका कतिपय नेताहरू घरभाडा तिर्न नसकेर भौंतारिएका भए पनि आफ्ना अध्यक्ष प्रचण्ड दरबारजस्तै भव्य महलमा बसोबास गर्न पुग्नुलाई सायद पार्टीभित्र’गौरवपूर्ण’ मानिएको छ । तर, न्यौपानेजस्ता विचारकेन्द्रित राजनीतिमा मात्र समर्पित केही नेताले भने चार हजार रुपैयाँ भाडा तिर्न नसकेर सकसपूर्ण जीवन निर्वाह गरिरहेका छन् । त्यस्ता नेताका वासस्थानको व्यवस्था न पार्टीले मिलाइदिएको छ न त अरूले नै ।
भव्य महलमा भर्खर मात्र र्सर्नुभएका अध्यक्ष प्रचण्डलाई क्रान्तिकारीका पूर्वअध्यक्ष एवम् युवा न्यौपानेजस्ता धेरै नेताहरू मासिक घरभाडा तिर्न नसकेर भौंतारिइरहेका छन् भन्ने कुराको राम्रो जानकारी छ । वनस्थलीपछाडि इचङ्गुनारायण गाविसमा पार्टीकै एक साधारण सदस्यको घरमा मासिक पैंतालीस सय भाडा तिरेर बसेका न्यौपानेको आर्थिक अवस्थाबारे त प्रचण्डनिकटकै नेताहरूले बेलाबखत चर्चा पनि गर्ने गरेको बताइन्छ । तै पनि न्यौपानेलाई आर्थिक सहयोग गरेका छैनन् प्रचण्ड र उनको पार्टीले । ‘आर्थिक अभावका कारण यतिबेला शरणार्थी जीवन बिताइरहेको छु,’ नेता न्यौपानेले मंगलबार बिहान घटना र विचारसँग भन्नुभयो, ‘मैले कोठाको भाडा नतिरेको सात महिना भयो ।’ पारिवारिक समस्यामा समेत झेलिनुभएका न्यौपानेले भावुक हुँदै भन्नुभयो, ‘विद्यार्थी राजनीतिबाट टाढिएको करिब १४ महिना भयो, यसबीचमा पार्टीका कुनै नेताले तेरो आर्थिक अवस्था कस्तो छ, दैनिक खर्च कसरी चलाएको छस् भनेर सोधेकासमेत छैनन्, सहयोग गर्नु त परै जाओस् ।’ भूमिगतकालमा विद्यार्थी सङ्गठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको न्यौपानेलाई पार्टीले आर्थिक सहयोग नगरेको मात्र होइन, आजसम्म कुनै भूमिका पनि दिएको छैन । पार्टी राजनीतिमा मात्र समर्पित रहेका र आम्दानीको कुनै श्रोत नभएका नेता तथा पूर्णकालीन कार्यकर्ताको सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने माओवादीको नीतिमै प्रस्ट छ । तर, पछिल्लो समयमा ती सबै नीति बिर्सिंदै नेतृत्व सुविधाभोगी हुँदै जानुका साथै पार्टीमा नयाँ वर्गको जन्म भएको न्यौपानेको कथन छ ।
विचारप्रधान राजनीतिमा मात्र केन्द्रित रही लाभको पदमा नपुगेका नेताहरूमा सबैभन्दा बढी आर्थिक समस्या देखिएको छ । चरम आर्थिक समस्या देखिएको परिवारमा निकै ठूलो पारिवारिक समस्यासमेत देखिएको छ । अध्यक्ष्ँ प्रचण्डनजिक, पति वा पत्नीमध्ये एक सभासद् भएका, मन्त्री, श्रीमान् वा श्रीमतीमध्ये एक राजनीतिक नियुक्ति पाई मासिक आम्दानी हुने क्षेत्रमा रहेकालाई त्यति धेरै आर्थिक समस्या देखिँदैन । अझ राजधानीमा घर भएका नेताहरूलाई त त्यो समस्याले छुँदै छुँदैन । उनीहरूले उल्टै घरभाडा लिएर आफ्नो गुजारा चलाइरहेका छन् । आर्थिक स्रोत नभएका नेताहरूको सूचीमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण पनि पर्नुहुन्छ । किरण सभासद् हुनुहुन्न । र, उहाँको आम्दानीको स्रोत केही छैन । उहाँ गोंगबुस्थित एक भाडाको घरमा मासिक सोह्र हजार तिरेर बस्दै आउनुभएको छ । उक्त घरको दुई तला उहाँले नै प्रयोग गर्दै आउनुभएको छ । किरण बसेको घरको भाडा र किरणको व्यक्तिगत खर्च पार्टीले व्यहोर्दै आएको छ । किरणले भन्नुभयो, ‘मेरो बसोबास र खानपिनमा लाग्ने खर्च पार्टीले नै व्यहोरेको छ ।’ उहाँले थप्नुभयो, ‘सीमित खर्च पार्टीले दिन्छ, केही कार्यकर्ताको सहयोग हुन्छ, हामी त्यसैबाट चलेका छौँ ।’
अर्का उपाध्यक्ष ‘स्वच्छ छवि’का बाबुराम भट्टराई प्रधानमन्त्री भएर बालुवाटार छिर्नुअघि ‘मैलो छवि’का उपप्रधानमन्त्री विजयकुमार गच्छदारको सालो नाता पर्ने विवादास्पद सहदेव कक्षपति नाम गरेका व्यक्तिको घरमा पत्नी यमीका साथ बस्ने गर्नुहुन्थ्यो । प्रधानमन्त्रीनिवास बालुवाटार छिर्नुअघि भट्टराईले पनि उक्त घरको भाडा १५ हजारभन्दा बढी रकम आफैं तिर्ने गर्नुहुन्थ्यो । त्यस्तै अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि मन्त्री हुनुअघि झम्सीखेलस्थित सिङ्गै घरमा महँगो मूल्य तिरेर बस्ने गर्नुहुन्थ्यो । उक्त घरको भाडा कति थियो, खुलाइएको छैन ।
महासचिव रामबहादुर थापा बादल भाडाकै घरमा बस्दै आउनुभए पनि उहाँले उक्त घरको भाडा तिर्नु नपर्ने माओवादीका एक नेताले बताउनुभयो । पार्टीमा आबद्ध तथा व्यापार-व्यवसाय गर्ने एक व्यक्तिले उपलब्ध गराउँदै आएको जोरपाटी नयाँबस्तीमा रहेको घरमा बादल बस्दै आउनुभएको छ । निकै सुविधायुक्त उक्त घर कसको हो भन्नेबारेमा भने बादल तथा उनका सहयोगीहरूले केही बताउन चाहेनन् । एक सहयोगीले भन्नुभयो, ‘कसको घर हो, कति भाडा तिर्नुपर्छ यसबारेमा हामीलाई जानकारी छैन र भए पनि भन्न मिल्दैन ।’ सीपी गजुरेल पनि भाडाकै घरमा बस्दै आएको बताउनुहुन्छ । मासिक ११ हजारभन्दा बढी भाडा तिरेर कोटेश्वरमा बस्दै आएको उहाँको भनाइ थियो । माओवादीभित्र धनी वर्गका नेताहरूमध्येमा गनिनुहुने गजुरेल भाडामा बसेको भनिएको घर आफैले खरिद गरेको तर गजुरेलको नाममा नरहेको बताइन्छ । ऊर्जामन्त्री हुनुअघिसम्म नेता पोष्टबहादुर बोगटी भाडाकै घरमा बस्दै आउनुभएको थियो । मासिक १४ हजारभन्दा बढी भाडा तिर्नुहुने बोगटी मन्त्री भएपछि मन्त्रीक्वाटरमा बस्दै आउनुभएको छ ।
कृष्णबहादुर महरा बालकुमारीस्थित सिङ्गै घरमा बस्नुहुन्छ । भाडामा बसेको भनिए पनि उक्त घर महराकै भएको माओवादी नेताहरू बताउँछन् । जनमोर्चा नेपालबाट माओवादीमा प्रवेश गर्नुभएका नेता अमिक शेरचन लागूपदार्थका व्यापारी भाइ चित्रलाल शेरचनले बनाइदिएको सानेपास्थित घरमा बस्दै आउनुभएको छ । त्यस्तै निनु चापागाईं सानेपामा, पम्फा भुसाल गुसिंगाल, कोपुण्डोल, लीलामणि पोखरेल कोटेश्वरमा, वर्षमान पुन एकान्तकुनामा र हर्कबहादुर शाहीको टोखामा घर छ । उहाँहरू सबै आ-आफ्ना घरमा बस्दै आउनुभएको छ । त्यस्तर्ैईश्वरी दाहालको पनि राजधानीमा धेरै पहिलेदेखि घर छ । उहाँ उक्त घरमा छोरा महेश्वर दाहालसँग बस्दै आउनुभएको छ । महेश्वर पनि माओवादीका केन्द्रीय सदस्य हुन् ।
मन्त्री हुनुअघि नेता टोपबहादुर रायमाझी सिनामंगलमा मासिक १५ हजार भाडा तिरेर बस्नुहुन्थ्यो । उक्त घरको भाडा रायमाझीले आफैंले तिर्नुहुन्थ्यो । युवानेता नेत्रविक्रम चन्द चाबहिलमा भाडाको घरमा बस्नुहुन्छ । चन्दले १० हजार तिरेर एउटा फ्ल्याट भाडामा लिनुभएको छ र उक्त भाडा पार्टीले नै तिर्दै आए पनि पछिल्लो समयमा पार्टीले तिर्न छाडेको चन्दका एक सहयोगीले बताए । सुरुमा त पार्टीले नै तिर्ने गरेको थियो तर, पछिल्लो समयमा पार्टीले सहयोग गरेको देखिँदैन ।
दीनानाथ शर्मा पनि मन्त्री हुनुअघि सामाखुसीमा मासिक आठ हजार तिरेर भाडाकै घरमा बस्दै आउनुभएको थियो । सञ्चार क्षेत्रमा समेत लगानी गर्नुभएका शर्माले राजधानीमा जग्गा किन्नुभएको छ अर्कै व्यक्तिको नाममा । हरिबोल गजुरेल पनि ज्ञानेश्वरमा मासिक १३ हजारभन्दा बढी भाडा तिरेर बस्नुहुन्छ । गजुरेलले भन्नुभयो, ‘बत्ती-पानीको गरेर मासिक १३ हजारभन्दा केही बढी भाडा तिर्नुपर्छ त्यो पार्टीले सहयोग गर्छ ।’
नेता देव गुरुङ धापाखेल हात्तीवनमा मासिक साढे आठ हजार भाडा तिरेर बस्नुहुन्छ । गुरुङले भन्नुभयो, ‘पानी र बिजुलीको बिल तिर्दा दश हजार हुन पुग्छ, त्यो म आफैंले तिर्दै आएको छु ।’ आम्दानीको श्रोत नभएका र आर्थिक अवस्था कमजोर भएका नेताहरूको सम्पूर्ण खर्च पार्टीले नै व्यहोर्ने हो तर, हाम्रो त सभासद् भएबापत आउने रकमले सबै व्यवस्था गरिरहेका छौँ । अग्नि सापकोटा मासिक साढे एघार हजार तिरेर भाडाकै घरमा बस्दै आएको बताउनुहुन्छ । ‘सापकोटाले भन्नुभयो, ‘एक फ्ल्याट लिएको छु, त्यसको मासिक १५ हजार जति तिर्नुपर्छ, त्यो आफैंले म्यानेज गर्दै आएको छु ।’ गिरिराजमणि पोखरेल पनि सिनामंगलमा भाडाकै घरमा बस्दै आउनुभएको छ । मासिक २० हजारभन्दा बढी घरभाडा बुझाउनुहुन्छ पोखरेल । पोखरेलले भन्नुभयो, ‘मैले व्यक्तिगत रूपमा नै घरको भाडा तिर्दै आएको छु ।’ हितमान शाक्य भने आफन्तको घरमा बस्दै आउनुभएको छ कुलेश्वरमा । तर, मासिक १७ हजारभन्दा बढी भाडा तिर्ने गरेको शाक्यका एक सहयोगीले बताउनुभयो । नारायण शर्मा चण्डोलमा मासिक १० हजार तिरेर भाडाको घरमा बस्दै आउनुभएको छ । हरिभक्त कँडेल टोखा जाने रोडनजिक मासिक १० हजार तिरेर भाडाको घरमा बस्दै आउनुभएको छ । कँडेलको उक्त घरको भाडा पार्टीले व्यहोर्दै आएको छ । कँडेलले भन्नुभयो, ‘हामी आर्थिक रूपमा निकै सकसपूर्ण जीवन बिताउँदै आएका छौँ ।’
जनार्दन शर्मा कुलेश्वरमा भाडाकै घरमा बस्दै आउनुभएको छ । शर्मा मासिक १५ हजार भाडा तिर्नुहुन्छ । तर, शर्माले पनि उक्त घर किन्नुभएको पार्टीकै एक केन्द्रीय नेता बताउनुहुन्छ । प्रधानमन्त्रीका सल्लाहकार देवेन्द्र पौडेल बत्तीसपुतलीस्थित भाडाको घरमा बस्दै आउनुभएको छ । पौडेल मासिक १० हजार भाडा तिर्ने गर्नुहुन्छ । कुलप्रसाद केसी हात्तीसारमा मासिक १० हजार भाडा तिरेर बस्नुहुन्छ । गोपाल किराँती कोटेश्वर, खड्गबहादुर विश्वकर्मा कालोपुल, इन्द्रमोहन सिग्देल सुकेधारा, धर्मेन्द्र बस्तोला कोटेश्वरमा भाडाकै घरमा बस्दै आउनुभएको छ । नरबहादुर कर्मचार्य भने पाटन बंगलामुखीनजिक इखाँछेमा रहेको आफ्नो घरमा बस्दै आउनुभएको छ ।
नन्द प्रर्साईं स्वयम्भू ठूलोभर्‍याङनजिक भाडाकै घरमा बस्नुहुन्छ । श्रीराम ढकाल बलम्बुनजिक एलआरआई स्कुलनजिक आफ्नै घरमा बस्दै आउनुभएको छ । गणेशमान पुन भाडाकै घरमा बस्दै आउनुभएको छ स्वयम्भू सानोभर्‍याङमा मासिक १० हजारमा । पुष्पविक्रम मल्ल पनि वनस्थलीस्थित मासिक १० हजार भाडामा बस्दै आउनुभएको छ । हितबहादुर तामाङ मन्त्री हुनुअघि भाडाकै घरमा बस्ने गर्नुहुन्थ्यो ।
यसरी धेरै नेताहरूले भाडाको घरमा जीवन गुजारिरहेका भए पनि प्रचण्डसहित केही टाठाबाठाले भने सबैलाई जिल्याउँदै काठमाडौंमा शानको जीवन बिताइरहेका छन् । यसबाट समानताको नारा दिएर कहिल्यै नथाक्ने कम्युनिस्टहरू आफैंमा समेत असमान छन् भन्ने पुष्टि गरेको छ ।