सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध साउन १ देखि खुल्ने मन्त्री बडूको आश्वासन

सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध साउन १ देखि खुल्ने मन्त्री बडूको आश्वासन


file photo

नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ । नाडाका अध्यक्ष ध्रुवबहादुर थापाको नेतृत्वमा गएको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी आयातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको हो ।

देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै उद्योग मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै चालु आर्थिक वर्षका लागि (असार मसान्तसम्म) विभिन्न १० वस्तुको आयातमा रोक लगाएको थियो । जसमा कार, जीप, भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा रोक लगाइएको थियो । नाडाले सरकारले उक्त निर्णय खारेज गरी अटोमोबाइल व्यवसायीलाई आफ्नो व्यवसाय गर्ने वातावरण सिर्जना गर्न उद्योगमन्त्रीसँग आग्रह गरेको हो । अध्यक्ष थापाले मन्त्री बडूसँग पछिल्लो समय अटोमोबाइल्स क्षेत्रमा ८० प्रतिशत ह्रास आएको जानकारी दिए ।

नाडाले अटो एक्सपो २०२२ आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म आयोजना गर्न लागेको भन्दै उक्त समयमा निजी सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन समेत आग्रह गरेको छ ।

अटो मोबाइल्स व्यवसायीसँगको भेटमा मन्त्री बडूले सरकारले असार मसान्तसम्म मात्रै आयातमा रोक लगाएको भन्दै धैर्य गर्न व्यवसायीलाई आग्रह गरेका थिए । उनले आगामी साउन १ गतेदेखि सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध फुकुवा हुने आश्वासन दिएको नाडाले जनाएको छ ।