छिमेकीसँगको सम्बन्धलाई बढी महत्व दिनुपर्ने अध्यक्ष ओलीको धारणा

छिमेकीसँगको सम्बन्धलाई बढी महत्व दिनुपर्ने अध्यक्ष ओलीको धारणा


photo oli

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति र कूटनीतिक सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । पूर्वराजदूत समूहले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र मामिला’ विषयक साक्षात्कार कार्यक्रममा उनले नेपाल जस्तो देशका लागि कूटनीतिक सम्बन्धबारे दलहरुबीच सहमति आवश्यक भएको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री ओलीले राजनीतिक दलले परराष्ट्र मामिलामा सहमतिका साथ अगाडि बढ्न आवश्यक रहेको बताए । ‘दलहरुबीच प्रतिस्पर्धा, सहमति र सहकार्यको राजनीति आवश्यक छ’, उनले भने । सरकारले प्रतिपक्षमा रहेको दलसँग परामर्श गर्नुपर्ने उनको भनाइ थियो । विदेश सम्बन्ध राष्ट्रिय हितमा केन्द्रीत हुनुपर्ने अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले छिमेकी मुलुकसँग भरपर्दो, विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए । ‘हामी स्वाधिन छौँ । हामी आफ्ना आन्तरिक वा बाह्य नीति निर्णय गर्न स्वतन्त्र छौँ । कसैबाट शासित हुनुपरेको छैन,’ अध्यक्ष ओलीले भने । छिमेकीसँगको सम्बन्धलाई बढी महत्व दिनुपर्नेमा उनको जोड थियो ।

अध्यक्ष ओलीले छिमेकीसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने धारणा राख्दै भने- ‘छिमेकीसँग समस्या भए छलफल गरी समाधान गर्नुपर्छ । हामीले आफ्ना कुरा खुलस्तसँग राख्न सक्नुपर्छ ।’

राजनीतिक खटपट नभएको भए कालापानी, लिपुलेक र लिम्पियाधुरा वा अन्य सीमा समस्या अहिलेसम्म समाधान भइसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।