स्थानान्तरणको विरोधमा सुधारगृहका बालकद्वारा सुरक्षाकर्मीमाथि आक्रमण

स्थानान्तरणको विरोधमा सुधारगृहका बालकद्वारा सुरक्षाकर्मीमाथि आक्रमण


  • मोहम्मद हबिब, भैरहवा

रुपन्देहीको भैरहवामा रहेको बाल सुधारगृहमा रहेका बालकहरुलाई स्थानान्तरण गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको छ । अत्याधिक चापका कारण १७ जना बालकलाई विभिन्न स्थानमा स्थानान्तरण गर्न खोज्दा भित्र रहेका किशोरहरुले प्रहरीमाथि नै आक्रमण गर्दा रुपन्देहीका डीएसपी नवरत्न पौडेल र उनका अंगरक्षक प्रहरी जवान टोपबहादुर राखल मगर घाइते भएका छन् ।

डिएसपीको टाउको र अंगरक्षकको हातमा चोट लागेपछि उपचाररत छन् ।

कारागार विभागले बालकहरुलाई स्थानान्तरण गर्न पत्राचार गरेको थियो । मंगलबार स्थानान्तरण गर्न खोज्दा उनीहरुले अनेक गतिविधि गरी प्रहरीमाथि नै आक्रमण गरेको बाल सुधारगृह प्रमुख शुभद्रा गौतमले बताइन् ।

‘बढी चाप भएको कारणले घरपायक र यहाँ अवाञ्छनिय कार्य गर्नेमध्येबाट १७ जनालाई पत्राचारअनुसार नै पठाउन लागेका थियौँ, ठूलाहरुले साना किशोरमाथि दमन गर्दै पनि आएका थिए’, बाल सुधारगृह प्रमुख गौतमले भनिन् ।

जान्न भन्दै किशोरहरु आक्रोशित भइ भित्र तोडफोड गर्ने, त्यहाँ जाने सबैलाई तथानाम गाली गर्ने, भित्र भएको सामानहरुले प्रहार गर्ने लगायतका क्रियाकलाप गरेका थिए । उनीहरुले पढ्ने किताब र प्रयोग गरिरहेका विस्तारा कपडामा समेत आगो लगाएपछि दमकलले आगो नियन्त्रणमा लिइएको गौतमको भनाइ छ ।