प्रथम राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता सोमबारदेखि

प्रथम राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता सोमबारदेखि


एक दशकपछि रष्ट्रिय स्तरको प्रतियोगिता हुँदै

  • हेमशंकर सिंह, राजविराज

कबड्डीका लागि उर्वर मानिने सप्तरीमा लामो समयको अन्तरालपछि राष्ट्रिय स्तरको प्रतियोगिता हुने भएको छ ।

जिल्ला कबड्डी संघ सप्तरीको आयोजनामा यही २० देखि २२ गतेसम्म सप्तरी सदरमुकाम राजविराजमा प्रथम राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा देशभरिबाट नौ वटा उत्कृष्ट टिमको सहभागिता हुने प्रतियोगिता मूल ब्यवस्थापन समितिका संयोजक अरविन्द कुमार झाले जानकारी दिए ।

अखिल नेपाल कबड्डी संघको कोषाध्यक्षसमेत रहेका झाले प्रतियोगितामा प्रथम र द्वित्तिय हुने टिमलाई नगदसहित शिल्डले पुरस्कृत गरिने बताए ।

राजविराज ८ स्थित राधाकृष्ण मन्दिरको परिसरमा प्रतियोगिताको आयोजना हुने र प्रतियोगिताको उद्घाटन राजविराज नगरपालिकाका मेयर भीमराज यादबले गर्ने जिल्ला कबड्डी संघका अध्यक्ष धीरेन्द्र बर्मा (धिरु)ले जानकारी दिए ।

जिल्लामा भने १० वर्षदेखि राष्ट्रिय स्तरको कबड्डी प्रतियोगिता संचालन हुन सकेको छैन ।