विभिन्न क्षेत्रमा पछाडि रहेको कर्णाली राजनीतिकर्मीका ‘अफेयर’, यौन ब्यवहार र दुर्व्यवहारका मामलामा भने अगाडि देखिन्छ । सार्वजनिक जीवनमा भएका ब्यक्तिगत सम्बन्धका घटनाहरू कर्णालीमा बढी हुने हुन् या सार्वजनिकचाहिँ कर्णालीमा बढी भएका हुन् भन्ने कुरा छलफल, बहस र अनुसन्धानको विषय हुन सक्छ ।
- बबिता बस्नेत
केही समययता हामीकहाँ राजनीतिमा रहेका सार्वजनिक ब्यक्तित्वका ब्यक्तिगत सम्बन्ध र ब्यवहारहरू सामाजिक संजालमार्फत सार्वजनिक हुने क्रम बढेको छ । लुम्बिनी प्रदेशकी एक मन्त्रीले आफ्नो ब्यक्तिगत सम्बन्धमा आएको उतारचढावपछिको ब्यवहारका कारण पदबाट राजीनामा दिएको केही दिनमै कर्णाली प्रदेशमा प्रमुख सचेतकसमेत रहेका सांसदको आपत्तिजनक अवस्थाको भिडियो सार्वजनिक भएको छ । भिडियोमा निदाइरहेको अवस्थामा देखिएका सांसदसँग उनकी केटी साथीले ओछ्यानमै ‘टिकटक’ बनाएकी छन् । केही समयअघि कर्णालीकै एक मन्त्रीलाई आफ्नै स्वकीय सचिवकी श्रीमतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । उक्त घटनाको भिडियो पनि सामाजिक संजालबाट नै सार्वजनिक भयो । प्रतिनिधिसभामा कर्णालीलाई प्रतिनिधित्व गर्ने एक सांसद बलात्कारको आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका छन् । अर्का एक सांसदको गाउँपालिकाकी उपाध्यक्षसँग प्रेमगीतसहितको भिडियो सार्वजनिक भइ ब्यापक चर्चामा रहेर अहिले सेलाएको छ ।
विभिन्न क्षेत्रमा पछाडि रहेको कर्णाली राजनीतिकर्मीका ‘अफेयर’, यौन ब्यवहार र दुर्व्यवहारका मामलामा भने अगाडि देखिन्छ । सार्वजनिक जीवनमा भएका ब्यक्तिगत सम्बन्धका घटनाहरू कर्णालीमा बढी हुने हुन् या सार्वजनिकचाहिँ कर्णालीमा बढी भएका हुन् भन्ने कुरा छलफल, बहस र अनुसन्धानको विषय हुन सक्छ । राजनीतिकर्मीले गरेका ब्यक्तिगत ब्यवहारका घटना प्रायः सबै नै डिजिटल माध्यमबाट सार्वजनिक भएका छन्, हुनेगरेका छन् । तथापि, समग्र डिजिटल हिंसामा सर्वसाधारणले गर्ने उजुरीको ‘ट्रेण्ड’ हेर्दाचाहिँ कर्णालीमा सबैभन्दा थोरै देखिन्छ । केही दिनअघि एक राजनीतिकर्मीसँग यस विषयमा कुराकानी हुँदा उनले भनेका थिए- ‘यस्ता घटना धेरै मानिसका हुन्छन् तर राजनीतिक ब्यक्तित्वका घटना मात्रै बढी चर्चाका विषय बनाइन्छन् । यसमा यहाँहरू जस्ता मिडियाकर्मीको बढी हात छ ।’
सांसदहरू आफै नीति, कानून बनाउने हुँदा सांसदहरूको ब्यवहार अन्य सार्वजनिक ब्यक्तित्वको भन्दा थप उत्तरदायी हुनुपर्ने हुन्छ । त्यसैले राजनीतिक ब्यक्तित्वसँग सम्बन्धित विभिन्न घटना विशेषगरी यौनसम्बन्ध तथा ब्यवहार र, यौनहिंसाका सन्दर्भलाई विश्वमै गम्भीर रूपमा लिने गरिएको छ ।
उनको कुरा सही हो । राजनीतिकर्मीका ब्यक्तिगत ब्यवहारका घटनाहरू बढी चर्चामा आउँछन् र तिनलाई मिडियाले महत्व दिन्छन् । किनभने, राजनीतिकर्मी सार्वजनिक ब्यक्तित्व हुन् र सार्वजनिक ब्यक्तित्वका ब्यक्तिगत ब्यवहार, दुर्व्यवहार दुवै मिडियाका लागि सरोकारका विषय हुन् ।
हरेक मानिसका ब्यक्तिगत र सार्वजनिक सीमाहरू हुन्छन् । सार्वजनिक ब्यक्तिका पनि ब्यक्तिगत परिधिहरू हुन्छन् । ब्यक्तिगत जीवन बाँचिरहेका मानिसका पनि सार्वजनिक रूपमा गर्न मिल्ने नमिल्ने कुराहरू हुन्छन् । सार्वजनिक जीवनमा भएका ब्यक्तिले ब्यक्तिगत सम्बन्ध र ब्यवहारमा सजगता अपनाउनुपर्ने हुन्छ । त्यसमा पनि राजनीति गर्नेहरूबाट समाजले बढी अपेक्षा गरेको हुन्छ । सांसदहरू आफै नीति, कानून बनाउने हुँदा सांसदहरूको ब्यवहार अन्य सार्वजनिक ब्यक्तित्वको भन्दा थप उत्तरदायी हुनुपर्ने हुन्छ । त्यसैले राजनीतिक ब्यक्तित्वसँग सम्बन्धित विभिन्न घटना विशेषगरी यौनसम्बन्ध तथा ब्यवहार र, यौनहिंसाका सन्दर्भलाई विश्वमै गम्भीर रूपमा लिने गरिएको छ ।
हिजोको परिस्थिति फरक थियो, कसैमाथि कुनै घटना भए सम्बन्धित ब्यक्तिले मुखले भनेपछि या लिखित रूपमा उजुरी दिएपछि कुराहरू बाहिर आउँथ्यो, केही मानिसले सुन्थे । मिडियामा आउने प्रकृतिका घटनाहरू पनि विश्वब्यापी हुनका लागि अन्तर्राष्ट्रिय मिडियामै आउनु पर्थ्यो, जसमा धेरैको पहुँच नै हुँदैनथ्यो । तर, अहिले सोसियल मिडियामार्फत घटना, दुर्घटना, ब्यवहार/दुर्व्यवहारहरू क्षणभरमै विश्वब्यापी हुने अवस्था छ । यस्ता घटनाहरू रातारात विश्वब्यापी भएकै कारणले कति राजनीतिकर्मीहरूले आफ्नो पदबाट राजीनामा गरी कहिल्यै राजनीतिमा नफर्कने घोषणा गरेका घटनाहरू पनि छन् ।
तमिलनाडुमा भारतीय जनता पार्टीका महासचिव केटी राघभान निकै लोकप्रिय युवा नेता थिए । गत वर्ष (सन् २०२१ अगष्ट) मा आफ्नै पार्टी कर्यकर्ता रहेकी एक महिलासँग गरिएको यौन-संवादको भिडियो सार्वजनिक भएपछि उनले पार्टीबाट राजीनामा गर्नु पऱ्यो । यो घटनापछि भारतीय राजनीतिमा नेतृत्वको आचरणलाई लिएर निकै चर्चा-परिचर्चा हुन थालेको छ । कतिपयले यस्ता घटनालाई सोसियल मिडियाबाट बच्नुपर्ने घटना भनी टिप्पणी गर्ने गरेका छन् ।
सन् २००८ मा मलेशियाका स्वास्थ्यमन्त्रीले प्रोनोग्रफिक भिडियो बाहिर आएपछि पदबाट राजीनामा त गरे नै, सार्वजनिक रूपमा जनातसँग माफी पनि मागे । सन् २०१८ मा अष्ट्रेलियामा राजनीतिकर्मीको ‘बेड विहेभियर’ निकै चर्चाको विषय बनेको थियो । त्यहाँका उपप्रधानमन्त्रीले आफ्नी पूर्वकर्मचारीसँग राखेको सम्बन्धलाई लिएर राजनीतिकर्मीको ‘बेड’ ब्यवहारको चर्चा भएको हो । घटना बाहिरिएपछि उनले पदबाट राजीनामा गरेका थिए । सन् २०२१ मा टर्कीका एक सांसदले पनि यौन ब्यवहारकै कारण पदबाट राजीनामा गर्नु परेको थियो ।
यो संसारमा मान्छे हुनुका अनेकौँ जटिलता छन् । मानवीय कमी-कमजोरी हरेकमा हुन्छ चाहे त्यो सार्वजनिक जीवन बाँचिरहेको मानिस होस् या ब्यक्तिगत । ब्यक्तिगत जीवन बाँचिरहेका मानिस भन्दा सार्वजनिक ब्यक्तित्वमा जवाफदेहिता र उत्तरदायित्व बढि हुन्छ । त्यसैले सार्वजनिक जीवनमा भएका मानिसहरूले आफ्नो जिन्दगीको आचारसंहिता आफै बनाएर कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने हुन्छ ।
यस्ता विषयमा विश्वमा अहिले प्रशस्तै घटना, प्रसङ्ग र उदाहरणहरू छन् । विगतमा भए सामान्य रूपमा पन्छिएर जान पनि सक्थे, तर अहिले प्रविधिले मानिसलाई अर्कै दुनियाँमा पुऱ्याइदिएको छ । हिजोको परिस्थिति फरक थियो, आजको यत्तिको छ, भोलिको अवस्था डरलाग्दो हुने देखिन्छ । सूचना प्रविधिले मानिसको जीवनमा जति अवसरहरू ल्याइरहेको छ, जोखिमहरू पनि त्यत्तिकै बढाइरहेको छ । हिजो एउटा चिट्ठी सम्बन्धित ब्यक्तिसम्म पुग्न महिनौँ लाग्थ्यो भने अहिले बेडरुममा खिचेका फोटा र दृष्यहरू एकैछिनमा विश्वब्पापी भइरहेका छन् । हरेक मानिसले पल-पलमा सचेतता अपनाउनुपर्ने अवस्था छ । आफ्ना कुरा मिडिया या सोसियल मिडियामा राख्नुअघि यसको असर केसम्म पर्न सक्छ भनेर सोच्नु आवश्यक छ । राजनीतिकर्मी मात्र होइन सर्वसाधारण नागरिक र राज्यका लागि पनि डिजिटल संसारले उत्पन्न गर्न सक्ने जोखिम भविष्यको ठुलो चुनौतीमध्येको एक हो । यो चुनौतीको सामना गर्न सचेतता आवश्यक छ ।
यो संसारमा मान्छे हुनुका अनेकौँ जटिलता छन् । मानवीय कमी-कमजोरी हरेकमा हुन्छ चाहे त्यो सार्वजनिक जीवन बाँचिरहेको मानिस होस् या ब्यक्तिगत । ब्यक्तिगत जीवन बाँचिरहेका मानिस भन्दा सार्वजनिक ब्यक्तित्वमा जवाफदेहिता र उत्तरदायित्व बढि हुन्छ । त्यसैले सार्वजनिक जीवनमा भएका मानिसहरूले आफ्नो जिन्दगीको आचारसंहिता आफै बनाएर कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने हुन्छ । कर्णालीमा अहिले एकपछि अर्को सार्वजनिक भएका घटना जस्तै गरी अन्य प्रदेश र सङ्घीय संसद्मा पनि बढ्दै जाने हो भने त्यो सम्बन्धित ब्यक्तिको इज्जतको विषय मात्रै बन्दैन जनतालाई गरेको अपमान पनि हुन जान्छ । जनताप्रति जवाफदेही नेताले अनुत्तरदायी ब्यवहार गर्नबाट आफूलाई रोक्न सक्नुपर्छ ।
प्रतिक्रिया