- इ. महेन्द्र पराजुली
स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक हुँदा त्यसका केही प्रसङ्ग अनि परिणाम रोचक र चाखलाग्दा छन् । केन्द्रीय सभापति, अध्यक्ष तथा पार्टीका शीर्ष नेताले मतदान गरेका आफ्नै निवास रहेको वडामा समेत आफ्ना दलका उम्मेदवारलाई विजयी गराउन असफल भए राजनेता । नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष कमरेड खड्गप्रसाद ओली, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, लाकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर अनि त्यस्तै गरेर नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा (एमाले) उपाध्यक्ष बिष्णु पौडेल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो, नेपाली काङ्ग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका उम्मेदवार वडास्तरमै पराजित भए ।
निर्वाचनमा ४२ प्रतिशत जनप्रतिनिधि युवा निर्वाचित भए । युवाको प्रतिनिधित्वले देशले परिवर्तन खोजेको सङ्केत दिएको छ । २१ वर्षीय युवा वशिष्ठकुमार पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा, २२ वर्षीय राजबाबु यादव सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा, धनुषाको कमला नगरपालिका-९ को वडाध्यक्षमा २१ वर्षीय रणवीरसिंह मण्डल, २१ वर्षीय सर्जनकुमार थापा बझाङको जयपृथ्वी नगरपालिका-११ को वडाध्यक्षमा, काठमाडौं महानगरपालिका-५ को वडासदस्यमा २१ वर्षीय आरती सुनार, २४ वर्षीय सुष्मा मिश्र बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको उपप्रमुखमा, २४ वर्षीय मञ्जु महरा बैतडीको सुनर्पा गाउँपालिकाको उपाध्यक्षमा, २५ वर्षीय सुजाता थिङ मकवानपुरको मनहरी गाउँपालिकाको उपाध्यक्षमा, २६ वर्षीय भगवती पाण्डे भैरहवाको बुटवल उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित भए । त्यस्तै गरेर २६ वर्षीय अस्मिता थापा कपिलवस्तुको शिवराज नगरपालिकाको नगरप्रमुखमा, २७ वर्षीय शिवकुमार थारु डडेलधुराको पर्शुराम नगरपालिकाको नगरप्रमुखमा, २८ वर्षीय भरत जोशी नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्षमा, २८ वर्षीय दिपेन्द्र सुनारी युवाहरू निर्वाचित हुँदै गर्दा ९४ वर्षका वृद्ध पनि निर्वाचित भए । झापाको हल्दीबारी गाउँपालिकाको उपाध्यक्षमा ७७ वर्षीय लक्ष्मीदेवी मैनाली, सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा ७८ वर्षीय रामआश्रय शाह, ८० वर्षीय रामपदारथ तेली सर्लाहीको बहुमपुरी गाउँपालिकाको अध्यक्षमा, ९४ वर्षीय जीवछ नदाफ महोत्तरीको बलवा नगरपालिका-१ को वडाध्यक्ष र ९४ वर्षीय सूूर्यनारायण यादव मोरङबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
विगत निर्वाचनमा दलित, अल्पसङ्ख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व नगण्य रूपमा रहेकोमा यो निर्वाचनमा उनीहरूको प्रतिनिधित्व नगरपालिकाको प्रमुख र उपप्रमुख अनि गाउँपालिकाको अध्यक्षसम्म भयो । बागलुङ ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा देवकुमार नेपाली, लुम्बिनी साँस्कृतिक नगरपालिकाको उपप्रमुखमा कल्पना हरिजन, उदयपुरको तप्ली गाउँपालिका अध्यक्षमा ढुँगराज विश्वकर्मा, बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा धनबहादुर विक, पाल्पाको रामपुर नगरपालिका-२ को वडाध्यक्षमा कृष्णबहादुर दर्जी र कनकासुन्दरी गाउँपालिका-८ मा दलित समुदायबाट स्वतन्त्र उम्मेदवार दिएकाको प्यानल नै विजयी भयो । वडाध्यक्षमा धनबहादुर कामी र सदस्यहरूमा गोल दमाई, कर्णजीत सार्की, चनाखी कुमाल निर्वाचित भएका हुन् । त्यस्तै गरेर मोरङको जहदा गाउँपालिकाको उपाध्यक्षमा अल्पसंख्यक सन्थाल समुदायबाट हल्ला सोरेन, नवलपरासीको सरावल गाउँपालिकाको उपाध्यक्षमा चमार समुदायबाट बासमती हरिजन र उदयपुरको कटारी नगरपालिका-११ मा सीमान्तकृत समुदायबाट अनन्य हायु पनि निर्वाचित भए ।
अनौठो त होइन संयोग नै भन्नुपर्छ, वडा कार्यालयका पूर्वकार्यालय सहयोगी पनि जनप्रतिनिधिका रूपमा निर्वाचित भए यो निर्वाचनमा । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका-५ मा नेत्र भट्टराई र दाङको राप्ती गाउँपालिका-२ मा चन्द्रबहादुर गुरुङ वडाध्यक्षमा निर्वाचित भएका हुन् । यी दुई पूर्वकार्यालय सहयोगी वडाध्यक्षमा निर्वाचित भएसँगै उनीहरूको भुमिका पनि बदलियो । स्थानीय तह निर्वाचनको ठीक दुई महिनाअघि मात्र नेपाल नगरपालिका सङ्घले आयोजना गरेको सम्मान कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट घोषित गरिएका स्याङ्जाको वालिङ नगरपालिकाका पूर्वनगरप्रमुख दीलिपप्रताप राणा, स्याङ्जाको पुतलीबजार नगरपालिकाकी पूर्वनगरप्रमुख सीमा क्षेत्री र सर्लाहीको हरिवन नगरपालिकाका पूर्वनगरप्रमुख गणेश प्रसाईं पुनः नगरप्रमुखको उम्मेदवार बने पनि पराजित भए । जिउँदै मजदुरलाई इँट्टा भट्टामा जलाई हत्या गरेको अभियोगमा कारागार सजाय काटिरहेका निलम्बित सांसद मोहम्मत आफताफ आलमका छोरा मोहम्मद रजिक आलम रौतहटको राजपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भए ।
निर्वाचनमा एउटै परिवारका सदस्यबीच हार-जित भयो भने श्रीमान्, श्रीमती अनि आमा, छोरी र दाजुभाइ, त्यस्तै गरेर छोरी, बुहारीले पनि निर्वाचन परिणाम आफ्नो पोल्टामा पारे । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका-७ को वडा सदस्यमा सन्दीप अधिकारी र कल्पना अधिकारी श्रीमान्-श्रीमती नै फरक-फरक दलबाट विजयी भए भने भोजपुरको रामप्रसाद राई नगरपालिका-२ को वडा सदस्यमा श्रीमान् राजकुमार तामाङ र श्रीमती प्रभा राई दवैजना निर्वाचित भए । गोरखाको गोरखा नगरपालिका-११ को वडा सदस्यमा अलग-अलग पार्टीबाट उम्मेदवार बनेका बाबु कृष्णप्रसाद रेग्मीले पराजय व्यहोरे भने छोरी निर्वाचित भइन् । अर्घाखाँचीको मालारानी गाउँपालिका-३ बाट आमा रेमकला विक र ५ बाट छोरी अनिता विक वडा सदस्यमा निर्वाचित भए । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा भाइ लोकबहादुर साउदलाई पराजित गर्दै दाजु टेकबहादुर राउत विजयी भए भने नेपालगञ्ज उपमहानगरपालिका-१ को वडाध्यक्षमा प्रमोद रिजालले सहोदर दाजु विनोद रिजाललाई पराजित गर्दै विजयी बने । भक्तपुरको थिमी नगरपालिकामा ज्वाइँ मदनसुन्दर श्रेष्ठलाई पराजित गर्दै जेठान सुरेन्द्र श्रेष्ठ निर्वाचित भए । ओखलढुङ्गाको मोलीका एकै परिवारका चार दाजुभाइ गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षमा उम्मेदवार बनेकामा तीनजनाले जित निकाले भने एकजना पराजित भए । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र सोही गाउँपालिका-१ को वडाध्यक्षमा राजकुमार रुम्दाली अनि धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा जितेन्द्र रुम्दाली निर्वाचित भएका हुन् । नेकपा माओवादी (केन्द्र) का दिवङ्गत नेता पोष्टबहादुर बोगटीकी छोरी एवम् नेकपा माओवादी (केन्द्र)का अध्यक्ष कमरेड प्रचण्डकी बुहारी प्रभा बोगटी नुवाकोटको विदुर नगरपालिकाको प्रमुखमा निर्वाचित भइन् । स्मरण होस्, प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालसँग प्रभाको विवाह भए पनि सम्बन्ध बिच्छेद भएको थियो । नेकपा (एमाले) की सचिव पूर्वमन्त्री पद्मकुमारी अर्यालका पति लक्ष्मीपति पौडेल स्याङ्जाको वालिङ नगरपालिका-१ को वडा सदस्यमै पराजित भए ।
२०७४ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र हैसियतमा २ सय ३३ जनप्रतिनिधिहरू निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा यो संख्या बढेर ३ सय ८५ पुगेको छ । अघिल्लो निर्वाचनमा अपाङ्गता भएका जनप्रतिनिधिको प्रतिनिधित्व नगण्य रूपमा रहेकोमा यो निर्वाचनमा अपाङ्गता भएका १ सय २४ जनाले प्रतिस्पर्धा गरेकामा ४० जना निर्वाचित भए । नगरप्रमुखमा १, उपप्रमुखमा ४, वडाध्यक्षमा २० र वडा सदस्यमा १५ जनाले विजय प्राप्त गरेका हुन् । जबकि २०७४ को स्थानीय तह निर्वाचनमा अपाङ्गता भएका जनप्रतिनिधिको प्रतिनिधित्व ४ मात्र थियो । २०७४ को स्थानीय तह निर्वाचनमा १८ पालिकाको प्रमुख/अध्यक्ष पदमा महिला निर्वाचित भएकामा २०७९ को निर्वाचनमा यो सङ्ख्या बढेर २५ पुगेको छ । प्रदेश १ बाट ६ जना, मधेस प्रदेशबाट ४ जना, बागमती प्रदेशबाट ६ जना, गण्डकी प्रदेशबाट ३ जना, लुम्बिनी प्रदेशबाट २ जना, कर्णाली प्रदेशबाट २ जना र सुदूरपश्चिम प्रदेशबाट २ जना गरी जम्मा २५ जना महिला कार्यकारी पदमा निर्वाचित भएका हुन् ।
झापाको विर्तामोड नगरपालिकाको नगरप्रमुखमा पवित्रादेवी महरा, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगरप्रमुखमा विमला राई, मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमती इङनाम, सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको अध्यक्षमा मीनादेवी कार्की, खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षमा अरुणादेवी राई, झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा पूmलमती राजवंशी, सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा गीता चौधरी, सर्लाहीको बरहथवा नगरपालिकाको नगरप्रमुखमा कल्पना कटुवाल, रौतहटको ईशनाथ नगरपालिकाको नगरप्रमुखमा कौशल्या देवी, रौतहटको मौलापुर नगरपालिकाको नगरप्रमुखमा रीनाकुमारी शाह, भरतपुर महानगरपालिाको नगरप्रमुखमा रेणु दाहाल, मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको नगरप्रमुखमा मीना लामा, चितवनको माडी नगरपालिकाको नगरप्रमुखमा ताराकुमारी काजी महतो, सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्षमा पार्वती सुनुवार, सिन्धुलीको सुनकोशी गाउँपालिकाको अध्यक्षमा दीपा बोहरा दाहाल, काभ्रेको चौंरीदेउराली गाउँपालिकाको अध्यक्षमा रेणुका चौलागाइँ, नवलपुरको हुँसेकोट गाउँपालिकाको अध्यक्षमा लक्ष्मी पाण्डे, पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा हीरादेवी शर्मा, बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी थापा, पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको नगरप्रमुखमा बिमला अर्याल, पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नगप्रमुखमा मोहनमाया ढकाल, दैलेखको भैरवी गाउँपालिकाको अध्यक्षमा रीताकुमारी शाही, कैलालीको लम्कीचुहा नगरपालिकाको नगरप्रमुखमा सुशीला शाही र अछामको पञ्चदेवल विनायक नगरपालिकाको नगरप्रमुखमा अम्बिका चलाउने निर्वाचित भएका हुन् ।
यसपालिको स्थानीय तह निर्वाचन २०७९ मा बागी र स्वतन्त्र उम्मेदवार संख्यात्मक रूपमा निर्वाचित भए नगरप्रमुख÷उपप्रमुख र गाउँपालिका अध्यक्ष÷उपाध्यक्षमा वडाध्यक्ष र सदस्य निर्वाचित हुनेको संख्या त धेरै छ । काठमाडौं महानगरपालिकाको नगरप्रमुखमा बालेन्द्र शाह, धनगढी उपमहानगरपालिका नगरप्रमुखमा गोपाल हमाल, सुनसरीको धरान उपमहानगरपालिकाको नगरप्रमुखमा हर्क साम्पाङ राई, धनुषाको जनकपुर उपमहानगरपालिकाको नगरप्रमुखमा मनोजकुमार शाह, कपिलवस्तुको शिवराज नगरपालिकाको नगरप्रमुखमा अजय थापा, महोत्तरीको बर्दिबास नगरपालिकाको नगरप्रमुखमा प्रह्लादकुमार क्षेत्री, जुम्लाको चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा राजुसिंह कठायत, कालिकोटको खाँडाचक्र नगरपालिकाको नगरप्रमुखमा कमलबहादुर शाही, हुम्लाको चेखेली नगरपालिकाको नगरप्रमुखमा प्यारीलाल शाही, सर्लाहीको लालबन्दी नगरपालिकाको नगरप्रमुखमा वासुदेव अधिकारी, महोत्तरीको बर्दिबास नगरपालिकाको उपप्रमुखमा तारादेवी, बाजुराको बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा रामबहादुर बोहरा, भोजपुरको साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा दौलथकुमार कुलुङ राई, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली, सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा मोहनबहादुर केसी, डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको अध्यक्षमा कार्मा छोइबेल गुरुङ, बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशी, मनाङको डिस्याङ गाउँपालिकाको उपाध्यक्षमा छिरिङ गुरुङ र डोल्पाको से-फोक्सुण्डो गाउँपालिकाको उपाध्यक्षमा पेम्बा वाङछेन गुरुङ निर्वाचित भएका हुन् ।
आफ्ना प्रतिद्वन्द्वीलाई १ मतले पराजित गर्दै ताप्लेजुङको सिदिङमा गाउँपालिकाको उपाध्यक्षमा कृष्णकुमारी कडरिया, काभ्रेको तेमाल गाउँपालिका-१ को वडाध्यक्षमा इन्द्र अधिकारी, काभ्रेको खानीखोला गाउँपालिका-१ को वडाध्यक्षमा सन्तमान तामाङ, काभ्रेको चौंरीदेउराली गाउँपालिका-१ को वडाध्यक्षमा सुशिल लामा, अर्घाखाँचीको मालारानी गाउँपालिका-६ को वडाध्यक्षमा नारायणप्रसाद अर्याल, पर्साको विन्ध्यवासिनी गाउँपालिका-३ को वडाध्यक्षमा जयप्रकाश चौरसिया, गुल्मीको कालीगण्डकी गाउँपालिका-२ को वडाध्यक्षमा रेशमराज न्यौपाने, महोत्तरीको महोत्तरी गाउँपालिका-१ को वडाध्यक्षमा रञ्जितकुमार चौधरी, महोत्तरीको बर्दिबास नगरपालिका-१४ को वडाध्यक्षमा बिजयकुमार महतो र नगरपालिका-७ को वडाध्यक्षमा रामस्वगारथ यादव निर्वाचित भए । मनाङको नार्पाभूमि गाउँपालिका-३ को वडाध्यक्षमा २५ मत प्राप्त गरेर छेवाङ लामा बिजयी भए । यो वडामा जम्मा ७८ मत खसेको थियो ।
प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर नगरप्रमुखको पदमा प्रतिस्पर्धा गरेकाम ८ जनामध्ये ६ जना पराजित भए भने २ जना मात्र निर्वाचित भए । काजीमान कागले इलामको सूर्योदय नगरपालिका, उपेन्द्रप्रसाद कुशवाह सर्लाहीको गोडैता नगरपालिका, अबुलकलाम आजाद रौतहटको गढीमाई नगरपालिका, बिजय सुवेदी चितवनको भरतपुर महानगरपालिका, केशव स्थापित काठमाडौंको काठमाडौं महानगरपालिका र कृष्ण थापा कास्कीको पोखरा महानगरपालिकाको नगरप्रमुखमा पराजित भएका हुन् । गोपाल बुढाथोकी झापाको मेची नगरपालिका र दिपेश थारु राजापुर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भए ।
नेकपा (एमाले) अध्यक्ष कमरेड खड्गप्रसाद ओलीले बडो तामझामका साथ रातो कार्पेट बिछ्याएर निर्वाचनको सङ्घारमा एमाले प्रवेश गराएका वीरगञ्ज महानगरपालिकाको नगरप्रमुखका उम्मेदवार बिजय सरावगी, नेपालगञ्ज उपमहानगरपालिकाको नगरप्रमुखको उम्मेदवार पशुपति दयाल मिश्र र जनकपुर उपमहानगरपालिकाको नगरप्रमुखको उम्मेदवार शिवशङ्कर शाहजस्ता आयातीतले मात्र नभएर दलबदल गर्दै कहिले माले, कहिले प्रजापरिषद् त कहिले नेकपा माओवादी मात्र होइन राजावादीको समेत खोल ओढ्दै पछिल्लो समय पुनः एमालेमै फर्किएका केशव स्थापितले पनि लज्जास्पद पराजय ब्यहोरे काठमाडौंको काठमाडौं महानगरपालिकाको प्रमुखमा ।
मत गणना सम्पन्न भइ निर्वाचन परिणाम घोषणा भएको ५ दिनपछि महोत्तरीको बर्दिबास नगरपालिका-८ मा शिल नतोडिएको एउटा मतपेटिका भेटियो । मोरङको रङ्गेली नगरपालिका-८ र खोटाङको तुवाचुङ नगरपालिका-८ मा मतदान गर्दाको मुचुल्का र गणनामा फरक मत संख्या पाइयो । त्यस्तै गरेर कञ्चनपुरको भीमदत्त नगरपालिका-१ र धनुषाको धनौजी गाउँपालिकामा खसेको मतभन्दा मत गणनामा बेसी मत देखियो । काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा १ लाख ९० हजार ९९२ मतदान भएकोमा मत गणनामा ६२ हजार २७० मत सत्ता गठबन्धनका उपप्रमुखका उम्मेदवारको पक्षमा खसेका मत बदर भयो । ललितपुरको महालक्ष्मी नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नगरप्रमुखका उम्मेदवारले पाएको मतभन्दा बदर मत बेसी पाइयो । यी उम्मेदवार ३७ सय मत अन्तरले पराजित हुँदा उनको पक्षमा खसेका ५६ सय मत बदर भए । विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनका नगर उपप्रमुखका उम्मेदवारले प्राप्त गरेको ३८ प्रतिशत मत बदर भयो । धेरै मात्रामा मत बदर भएकै कारण यी उम्मेदवारहरू पराजित हुन पुगे । यति धेरै संख्यामा मत बदर हुनु भनेको मतदाता शिक्षाको कमी हो । समयमै मतदातालाई मतदान प्रक्रिया र मतचिह्नका बारेमा प्रशिक्षण नदिँदा यस्तो अवस्था आएको हो । यसको जिम्मेवारी र जवाफदेहीता निर्वाचन आयोगले लिनु पर्छ, त्यसो भन्दै गर्दा राजनीतिक दल पनि दोषमुक्त भने छैनन् ।
२१ वर्षदेखि फरार अभियुक्त भुपेन्द्र पौडेल लमजुङको मध्यनेपाल नगरपालिकामा मतदान गर्न आउँदा पक्राउ परे । सल्यानको कुमाख गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मानबहादुर बुढाथोकी र उपाध्यक्ष लालबहादुर राउतको बिजयउत्सव मनाउने क्रममा विद्युत करेण्ट लागेर मृत्यु भयो । धनकुटाको चिंबिसे गाउँपालिका-२ बाट नवनिर्वाचित वडासदस्य सूर्यअटल मगरको निर्वाचन परिणाम घोषणा भएसँगै हृदयाघातका कारण मृत्यु भयो । रोल्पाको गङ्गादेव गाउँपालिका-५ बाट नेकपा माओवादी (केन्द्र) को तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका मानबहादुर डाँगीको आफू पराजित भएपछि निर्वाचनअघि मत खरिदका लागि स्थानीय मतदातालाई बाँडेको रकम फिर्ता माग्दै गरेको भिडियो सार्वजनिक भयो सामाजिक सञ्जालमा ।
कैलालीको मोहन्पाल गाउँपालिकाको अध्यक्षमा निर्वाचित अध्यक्ष देवीदत्त उपाध्याय, सोही गाउँपालिका-३ बाट वडाध्यक्षमा निर्वाचित नन्दराम गिरी र नुवाकोटको विदुर नगरपालिका-९ बाट निर्वाचित वडाध्यक्ष हरिराम भण्डारी भ्रष्टाचारको कसुरमा मुद्दा खेपिरहेका हुँदा उनीहरूले पदको सपथग्रहण गर्नै पाएनन् । भ्रष्टाचारको कसुरमा सजाय तोकिएका अछामको पञ्चदेवल बिनायक नगरपालिका-७ बाट नवनिर्वाचित वडाध्यक्ष सुरतबहादुर रावल स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) अनुसार अयोग्य ठहर हुँदै पदमुक्त हुने अवस्थामा छन् ।
प्रतिक्रिया