नयाँ प्रधानमन्त्रीको खोजी

नयाँ प्रधानमन्त्रीको खोजी


प्रधानमन्त्री रहनुभएका डा. बाबुराम भट्टराईको कार्यकाल छोटिँदै गएपछि उच्च राजनीतिक तहमा सम्भावित प्रधानमन्त्रीको खोजी कार्य सुरु भएको छ । यतिबेला नेपाली राजनीतिमा प्रधानमन्त्री बन्न इच्छुक आधा दर्जन नेताहरू देखिन्छन् । आश्चर्यजनक के देखिँदै छ भने प्रधानमन्त्री हुन सबैभन्दा बढी लालायित माओवादी अध्यक्ष प्रचण्ड र काङ्ग्रेसका शेरबहादुर देउवाले उक्त जिम्मेवारी पाउनसक्ने सम्भावना सबभन्दा कम देखिएको छ । अहिले सम्भावित प्रधानमन्त्रीका रूपमा काङ्ग्रेस सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, अर्थविद् एवम् काङ्ग्रेस नेता डा. रामशरण महत, माओवादीका महासचिव रामबहादुर थापा बादलको नाम सर्वाधिक अगाडि छ । यद्यपि सम्भावित प्रधानमन्त्रीका रूपमा एमाले नेता केपी शर्मा ओलीलाई पनि लिने गरिन्छ । तर, परिस्थिति एमाले नेतृत्वमा सरकार बन्न सक्ने प्रकारले विकसित नभएको हुँदा ओलीको नामले उच्च प्राथमिकता पाएको छैन । तर, उहाँलाई असहज परिस्थितिमा प्रधानमन्त्रीको सहज विकल्प ठान्ने गरिन्छ । एमालेका नेताहरू माधव नेपाल र झलनाथ खनालले प्रधानमन्त्री बन्ने पालो पुर्‍याइसकेका छन् भने उपाध्यक्ष वामदेव गौतम पनि आफूलाई सम्भावित प्रधानमन्त्रीकै रूपमा उभ्याउन इच्छुक हुनुहुन्छ । तर, गौतमभन्दा पनि प्रधानमन्त्रीका रूपमा एमाले उपाध्यक्ष विद्या भण्डारीको चयन उपयुक्त हुने विश्लेषकहरूको धारणा छ । भण्डारीले रक्षामन्त्रीका रूपमा निर्वाह गर्नुभएको भूमिकाको माओवादीबाहेक सबैतिरबाट प्रशंसा भएको थियो र त्यसैबेलादेखि उहाँको उचाइ पनि निकै बढेको ठानिन्छ । त्यस्तै, नेपाली काङ्ग्रेसमा पनि कोइराला, पौडेल, महत र देउवाबाहेक महामन्त्री प्रकाशमान सिंहलाई पनि सम्भावित प्रधानमन्त्रीका रूपमा लिइन्छ । त्यस्तै, अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, विमलेन्द्र निधि र डा. सशांक कोइरालालाई पनि काङ्ग्रेसमा भविष्य भएका नेताका रूपमा हेरिन्छ । तर, तत्कालै बाबुरामको विकल्पका रूपमा भने उहाँहरूलाई लिइएको छैन । सुशील कोइराला, रामचन्द्र पौडेल र डा. रामशरण महतमध्ये एकले बाबुरामको विकल्प बन्ने अवसर पाउने देखिएको छ । राष्ट्रिय सहमतिको सरकार गठन हुने अवस्था सिर्जना भएमा त्यस्तो सरकारको नेतृत्व सुशील कोइराला या प्रचण्डबाट हुनसक्ने विश्वास गरिन्छ । प्रचण्डलाई उहाँको क्षमता र हैसियतका आधारमा सम्भाव्य प्रधानमन्त्रीका रूपमा लिइए पनि उहाँ बाबुरामपछिका कुनै पनि रूपको सरकारप्रमुख बन्नुहुने सम्भावना न्यून छ ।
आन्तरिक परिस्थितिको मात्र विश्लेषण गर्दा जुनसुकै रूप र आकारको भए पनि सरकारको नेतृत्व काङ्ग्रेसले पाउने सम्भावना बलियो हुँदै गएको छ । कदाचित संविधान निर्माण भई जारी भएमा चुनावी सरकार गठन हुने र त्यस्तो सरकार सर्वपक्षीय स्वरूपको हुनसक्ने सहज अनुमान गर्न सकिन्छ । चुनावी सरकारको नेतृत्व काङ्ग्रेसले र काङ्ग्रेसमा पनि सभापति सुशील कोइरालाले नै गर्नुहुने बढी सम्भावना छ । शान्तिप्रक्रिया पूरा हुन नसकी वर्तमान सरकारलाई विधिवत् विस्थापित गर्नुपर्ने अवस्था आएमा प्रजातान्त्रिक गठबन्धन बन्ने र त्यस्तो गठबन्धन सरकारको नेतृत्व काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले गर्नुहुने निश्चितप्राय: छ । काङ्ग्रेस पार्टी प्रधानमन्त्रीका निम्ति रामचन्द्र पौडेलको विकल्प खोज्ने पक्षमा छैन । व्यक्तिविशेषले शेरबहादुर देउवा वा अरू कसैको नाम लिने गरेको भए पनि देउवाको नाममा पार्टीको निर्णय असम्भव मानिन्छ । सभापति सुशील कोइराला विशेष अवस्थामा प्रधानमन्त्री बन्न चाहनुहुन्छ भने कोइरालालाई सहयोग गर्न रामचन्द्र पौडेल तयार हुनुहुन्छ । कोइराला स्वयम्ले चाहिँ पार्टीका तर्फबाट रामचन्द्र पौडेल नै प्रधानमन्त्रीको उम्मेदवार भएको सार्वजनिक घोषणा गर्दै आउनुभएको छ । काङ्ग्रेसले सरकारको नेतृत्व पाउने, तर विभिन्न कारणवश सुशील कोइराला या रामचन्द्र पौडेल प्रधानमन्त्री नबन्ने, बन्न नहुने या नसक्ने अवस्था आएमा कसलाई मौका प्राप्त होला ? काङ्ग्रेसलाई बुझ्न नसकेकाहरूले त्यस्तो अवस्थामा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने अनुमान गर्न सक्छन् । तर, यथार्थ त्यस्तो छैन । कदाचित कोइराला र पौडेल प्रधानमन्त्री नबन्ने अवस्था आयो भने पार्टीले नयाँ पात्रलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने सम्भावना छ र यस्तो सम्भावित पात्रमा डा. रामशरण महत सर्वाधिक बलवान् देखिनुभएको छ । त्यर्सथ कोइराला या पौडेलको विकल्प अब देउवा होइन डा. महत नै बन्नुहुने विश्वास गरिएको छ । अर्थविद्का रूपमा समेत परिचित महतलाई स्पष्ट दृष्टिकोण र अडान भएका नेताका रूपमा लिन थालिएको छ । तर, काङ्ग्रेसमा व्रि्रह ल्याउन माओवादीले देउवाको नाम उचाल्ने सम्भावना भने अझै टरेको छैन ।
सम्भावित प्रधानमन्त्रीका रूपमा प्रथम पुस्ताका नेताहरू सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, प्रचण्ड, मोहन वैद्य, माधव नेपाल, केपी ओली, झलनाथ खनाल र नारायणमान बिजुक्छेको नाम विशेष रूपमा लिने गरिन्छ । उहाँहरूमध्ये धेरैजसो ‘एक्स्पोज’ भइसकेकोले तत्काल प्रधानमन्त्री बन्न सक्ने अवस्थामा छैनन् । माओवादीले कहिलेकाहीँ महासचिव रामबहादुर थापा बादलको नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा ल्याउने गर्छ । सीपी गजुरेल र कृष्णबहादुर महरालाई समेत उक्त पार्टीभित्र भविष्यको प्रधानमन्त्रीका रूपमा हेरिन्छ । तर, काङ्ग्रेसमा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका नेताहरूको सङ्ख्या ठूलै छ । डा. रामशरण महतलाई त डा. बाबुरामकै सुन्दर विकल्पका रूपमा हेरिएकै छ, त्यसबाहेक प्रकाशमान सिंह, विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, खुमबहादुर खड्का र डा. सशांक कोइरालालाई काङ्ग्रेसभित्र कुनै पनि समय प्रधानमन्त्रीको रूपमा अघि सारिने नेताका रूपमा लिने गरिएको छ । खुमबहादुर खड्काले ०५१ सालमा नै संसदीय दलको नेता बन्ने अग्रसरता लिनुभएको हो, तर गिरिजाप्रसाद कोइरालाले रोकेका कारणले मात्र उहाँ उम्मेदवार नबन्नुभएको हो । ०५९ सालदेखि राजा र माओवादीको कोपभाजनमा परेपछि खड्का ‘लो प्रोफाइल’मा बस्दै आउनुभएको छ । तथापि काङ्ग्रेसभित्र उहाँको प्रभावकारिता र भूमिकालाई महत्त्वपूर्ण मानिँदै छ ।
बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्दै राजीनामा दिनुभएमा मुलुकको राजनीति केही सहज र शान्तिपूर्ण ढङ्गले अघि बढ्ने देखिन्छ । भट्टराईलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउनुपरेको अवस्थामा भने स्थिति केही तातो र तनावपूर्ण बन्दै जाने देखिन्छ । सत्ताबाट विधिवत् विस्थापित भएपछि माओवादी जुन ढङ्गको प्रतिवादमा उत्रन्छ सोही ढङ्गको कारबाहीमा प्रजातान्त्रिक गठबन्धनको सरकार अघि बढ्ने बताइन्छ । माओवादीसँग भिड्नैपर्ने अवस्था आएमा त्यस निम्ति सक्षम को हुनसक्लान् अहिले प्रधानमन्त्री खोज्नेहरूले यसरी पनि हेरिरहेका छन् । रामचन्द्र पौडेल, डा. महत र केपी ओलीलाई जुनसुकै परिस्थितिका निम्ति पनि उपयुक्त हुनसक्ने नेताका रूपमा हेरिएको बुझिन्छ । तर, बाबुरामको ठ्याक्कै विकल्पका रूपमा भने सीधै रामचन्द्र पौडेललाई लिइएको छ । पौडेल नभएको अवस्थामा डा. महतको सम्भावना प्रबल छ । अहिले अगाडि आएका नामहरू सुशील कोइराला, रामचन्द्र पौडेल, डा. रामशरण महत, शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड र रामबहादुर थापा बादलमध्ये भावी सरकारको नेतृत्व कसले लिन सक्लान् भन्ने प्रश्नको जवाफ बाबुरामको सरकार कहिले र कुन रूपमा विस्थापित हुन्छ भन्ने परिस्थितिमा निर्भर गर्दछ । माओवादीले शान्तिप्रक्रियालाई पूर्णता दिएन र दलहरूबीच भावी नेतृत्वको विषयमा बहुमतीय सहमति पनि बन्न सकेन भने त्यस्तो अवस्थामा प्रधानमन्त्रीको कार्यभारसमेत राष्ट्रपति डा. रामवरण यादवले लिनुभएमा आश्चर्य मान्नुपर्ने छैन ।