उत्तरप्रदेशका मन्त्रीसम्मिलित टोलीद्वारा निरीक्षण

उत्तरप्रदेशका मन्त्रीसम्मिलित टोलीद्वारा निरीक्षण


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको नारायणी नदी आसपासमा भारतको सहयोगमा निर्माणाधीन अवस्थामा रहेको विभिन्न सरंचनाहरुलाई भारत उत्तरप्रदेशका मन्त्रीसहित भारतीय सिचाइँ अधिकारीहरु सम्मिलित टोलीले निरीक्षण गरेको छ ।

भारत उत्तर प्रदेशका सिचाइँमन्त्री स्वतन्त्रदेव समेतको टोलीले नदीको किनारमा भारतीय पक्षबाट निर्माण गरिएको र निर्माण कार्य भइरहेको सरंचनाहरुको निरिक्षण गरेको हो । सिचाइँमन्त्री देवले सुस्ता गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा निर्माण भइरहेको स्पर र कटरको निरीक्षण गर्दै आफ्नो मातहतका प्राविधिकहरुलाई निर्माण कार्य गुणस्तरयुक्त बनाउन निर्देशन दिएका छन् ।

सो अवसरमा गण्डक नदी संघर्ष समिति पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष दुधनाथ गुप्ताले विग्याप बाँधको उचाई बढाउनुपर्ने र नदीको बीच भागमा बालुवा पुरिन गइ नदीको पानी विग्यापतर्फ बढ्ने क्रमलाई तत्काल रोकिनुपर्ने भन्दै सिचाइँमन्त्रीको ध्यानाकर्षण गराएका थिए । नारायणी नदीको पश्चिमी र उत्तरी किनारलाई अझ बलियो सरंचना बनाएर नदीको कटान नियन्त्रण कार्यको लागि नेपाली बाढीपीडितहरुले नेपाल र भारतीय सिचाइँ अधिकारीहरुको ध्यानाकर्षण कार्य यसपहिले देखि नै गराउँदै आएका छन् ।

सिचाइँ मन्त्री देवले नदी नियन्त्रण कार्यको प्रगति निरीक्षण गर्दा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, भारत उत्तरप्रदेश महाराजगन्जका डिएम सत्येन्द्र कुमार, पश्चिमाञ्चल सिचाइँ कार्यालय, डिभिजन कार्यालय, डिई रणधीर कुमार, लाइजन अधिकृत अमित कुमार खड्का, सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलगायत सिचाइँ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसपूर्व उत्तर प्रदेशका सिचाइँमन्त्री देवले पूर्वी नवलपरासी विनयी त्रिवेणी ७ अन्तर्गत रहेको बाँध र नदीको अवस्थाबारे पनि आफ्ना मातहतका प्राविधिकबाट जानकारी लिएका थिए ।