द डाइमण्ड बजार : देश ठुलो कि प्रेम ?

द डाइमण्ड बजार : देश ठुलो कि प्रेम ?


एकबार देख लिजिए, दिवाना बना लिजिए
जलनेको हे तयार हम, परवाना बना लिजिए…

हेर्नेहरू मध्ये धेरैको आँखाअगाडि दृष्य छाइरहन सफल ‘हिरामण्डी’को यो सायरी कानमा गुञ्जिरहनेहरूको सङ्ख्या राम्रै हुनसक्छ । हुन त, कुनैपनि सिनेमाका संवाद या साहित्यका हरफहरू कसलाई के मन पर्छ भन्ने कुरा ब्यक्तिको सोच र रुचिमा भरपर्छ । कतिलाई हिरामण्डीका महिलाहरूको पहिरन मन परेको होला, कतिलाई शाही महल त कतिलाई सौन्दर्य र सजावट । भारतीय निर्देशक तथा सिने निर्माता संजय लिला भंसालीको टेलिश्रृङ्खला ‘हिरामण्डी’ले अहिले भारत र पाकिस्तानको कला र सँस्कृतिको दुनियाँमा ठुलै हलचल ल्याइरहेको छ । धेरैले चर्चा गरे, कस्तो रहेछ हेरौँ न त… भनेर राति हेर्न सुरु गरेको यो श्रृङ्खला नसकुञ्जेलसम्म एक पछि अर्को गर्दै हेर्दैजाँदा रात र सिरियल सँगसँगै जस्तो सकिए ।

तात्कालिन भारतमा रहेको लाहोरस्थित शाही मोहल्ला र त्यहाँ रहने ‘तवायफ’हरूको कथा हो हिरामण्डी । तवायफलाई कतिले यौनकर्मी भनेर बुझेपनि उनीहरू यौनकर्मी नभएर प्रतिभावान महिलाहरू हुन् जसले नाचगान गरेर, सायरी/कविता भनेर हवेलीको माहौललाई प्रेमिल बनाउने गर्थे । मुगल राजाहरूको समयमा अहिलेजस्तो सिनेमा, गीत-सङ्गीतको माहौल थिएन । न त संचारका साधनहरू नै थिए । राजा, महाराजाहरू मनोरञ्जन लिनका लागि शाही मोहल्ला पुग्ने गर्थे, जहाँ गीत, सङ्गीत, मुजुरा नाच हुने गर्थ्यो । नाचगान, गीत, सङ्गीत र खानपानकै क्रममा कतिपय तवायफ र राजा, नवाव (राजपरिवारका पुरुष सदस्य) हरूबीच प्रेम हुन्थ्यो । तात्कालीन परिवेशका प्रेम र धोखाका श्रृङ्खलावद्ध कहानीहरूले पठनीय साहित्यको रूप लिएपनि महिलाहरूको मनलाई भने जिन्दगीभर क्षतिग्रस्त बनाइदिन्थ्यो । त्यसरी ध्वस्त मन लिएर बाँचेका महिलाहरूका पीडादायी दृष्यहरू यो वेब सिरिजमा कैद गरिएको छ । कसैसँग प्रेम र निकटताका कारण भएको शारीरिक सम्बन्धबाट बच्चाहरू हुन्थे तर त्यतिबेलाको मोहल्ला अहिलेको ‘रेडलाईट एरिया’ जस्तो थिएन, होइन । हिरामण्डी त्यही समयको कथा हो, त्यतिबेलाकी चर्चित तवायफ मल्लिका जान र फरदिनबीचको प्रतिस्पर्धा, शक्तिको खेल, ल्यामर र जीवन बाँच्ने क्रममा मानिसहरूबीच हुने लोभ, मोह र स्वतन्त्रताको कथा हो ।

त्यतिबेलाका राजा, महाराजाहरू रवाफिला थिए, सम्पत्ति थियो, खर्च गर्ने ठाउँ थिएन । मनोरञ्जन भनेपनि रेष्टुरेन्ट भनेपनि त्यस्तै मोहल्लाहरू हुन्थे । मुगलकालमा रहनसहन सिकाउन, सभ्यता सिकाउन मानिसहरू आफ्ना सन्तानलाई हिरामण्डी पठाउँथे भन्ने पनि छ । हाम्रो देशमा राजा, महाराजाहरूले आफ्नै दरबारमा नाचगानको माहौल बनाउथे तर भारतमा भने छुट्टै मोहल्ला हुने गर्थ्यो । हिरामण्डी भारत र पाकिस्तान छुट्टिनुअघिको कथा हो । जब बृटिशहरूले भारतमा शासन गर्न थाले उनीहरूले यस्ता शाही मोहल्लाहरूलाई ब्यवसायिक शारीरिक सम्बन्ध राख्ने स्थानमा परिणत गरे भन्ने छ । बृटिशहरूले भावनालाई भन्दा शरीरलाई महत्व दिए । राजाहरूले नाचगानबाट प्रभावित भएर दिने बक्सिसका ठाउँमा उनीहरूले यौनको मोलतोल गरे । फलतः भारतमा अहिलेसम्म पनि विभिन्न शहरमा छ्याप्छ्याप्ती रेडलाइट एरियाहरू छन्, जहाँ यौनको बेचबिखन हुन्छ । राजा र नवावहरूले प्रतिभालाई बक्सिस दिन्थे, बृटिशहरूले शरीरलाई पैसा तिर्न थाले ।

मनोरञ्जन क्षेत्रका महिलाहरूलाई हेर्ने दृष्टिकोण अहिले पनि राम्रो छैन भने त्यतिबेला राम्रो हुने कुरै भएन । वैवाहिक सम्बन्धका लागि स्वीकार नगरेपनि शक्तिशाली ब्यक्तिहरू मनोरञ्जन लिन आफ्नो महलमा आउने हुँदा महलका मालिक्नीहरू स्वतः शक्तिशाली हुन्थे । मल्लिका जान त्यस्तै शक्तिशाली महिलामध्येकी एक हुन्, जसले जिन्दगीमा धेरै कुरा देखेकी छन्, भोगेकी छन् । कहिले पे्रमीको नाममा, कहिले सन्तानका नाममा, कहिले आफ्नो बर्चश्व कायम गर्ने खेलमा आफूलाई कहिले फैलाएकी छन्, कहिले खुम्च्याएकी छन् । भरिभराउ मेहफिलमा आफूलाई खुशी बनाएकी छन्, पटक-पटक दुखाएकी छन् । यो शक्तिशाली भूमिका वलिउडकी चर्चित नायिका मनिषा कोइरालाले निभाएकी छन् ।

नेपालको राजनीतिक परिवारकी छोरी मनिषाले आफूलाई क्यान्सर भएपछि करिव-करिव छोडिसकेको करियरमा पुनः अविष्मरणीय छाप छोड्न सफल भएकी छन् । उनले भारतीय मिडिाहरूसँग भनेकी छन्, यो मेरो करियरको दोश्रो जीवनको सुरुवात हो । करिव-करिव अन्त्य भएको ठानिएको उनको फिल्मी करियरलाई ‘हिरामण्डी, द डाइमण्ड बजार’ फेरि एकपल्ट शिखरमा पु¥याइदिएको छ ।

हिरामण्डीले इतिहास जित्नेहरूको मात्र हुँदैन, जसको पनि हुनसक्छ, हुन्छ भन्ने प्रमाणित गरेको छ । राजा अकबरकै पालामा हिरामण्डी अस्तित्वमा थियो भन्ने छ । राजा औरङ्गजेबले ‘हिराबाई’लाई शाही मोहल्लामै प्रेम भएर विवाह गरेका थिए भन्ने छ । नेटफ्लिक्समा रिलिज भएको वेब सिरिज हिरामण्डीमा शाही मोहल्लामा भएका महिलाहरू मध्ये केहीले भारतीय स्वतन्त्रता सङ्ग्रामलाई सघाएको देखाइएको छ । शक्तिशाली बृटिशहरू आफूहरूसँग आउन थालेपछि विभिन्न सूचना तथा जानकारीहरू भारत स्वतन्त्रताका आन्दोलनकारीहरूलाई दिने गरेको देखाइएको छ । बाहिर स्वतन्त्रताको नारा गुञ्जिँदा पाल्कीभित्र रहेका महिलाहरू पर्दाभित्रबाटै ‘इन्कलाव जिन्दावाद’ भन्छन् । विभिन्न प्रसङ्गमा बोलिएका संवादहरू मार्मिक छन् ।

आठ भागमा रहेको यो श्रृङ्खलामा स्वतन्त्रताको लडाइँमा होमिएको अक्स्फोर्ड युनिभर्सिटीमा पढेर फर्किएको एउटा युवाको प्रेम र देशभक्तिको कथा निकै रोचक छ । लाइब्रेरी चाहार्दै गर्दा भेट भएकी युवतीलाई उ प्रेम गर्छ जो कविता लेख्छे, सायरी भन्छे । हिरामण्डीमा हुर्किएकी युवती भन्ने थाहा पाएपछि छोड्न खोज्छ तर मनले छोड्न सक्दैन । जिन्दगीमा यस्तो मोड आउँछ, जहाँ स्वतन्त्रताको लडाइँ अर्थात् देश रोज्ने कि प्रेम ? अप्ठ्यारो परिस्थितिबाट गुज्रिन्छ । अन्तिममा प्रेम रोज्छ तर देशको लागि मृत्युवरण गर्छ ।

हिरामण्डीका कलाकारहरू सिरियल हेरेको धेरै दिनसम्म आँखावरिपरि आउँछन् । सायद कुनै पनि सिनेमाको सफलता यस्तै कुरामा हुन्छ । गहना, कपडा, महल, सजावट, मेकअप, अभिनय, संवाद… कुनै दृष्य यस्तो लाग्दैन जसलाई ‘फरवार्ड’ गर्नु परोस् । भारतको स्वतन्त्रता आन्दोलनमा तवायफको भूमिकालाई जनमानसमा ल्याएर यसका परिकल्पनाकारले सो क्षेत्रमा लागेका तत्कालीन महिलाहरूले गरेको कामलाई सम्मान दिएका छन् । महिलाहरूले आफ्ना सन्तानका लागि केसम्म गर्न सक्छन् भन्ने कुरा मल्लिका जानले छोरी प्रहरी हिरासतमा रहेको बेला दर्शाएको दृष्यले मनलाई विभत्स बनाउँछ ।

हिरामण्डीलाई लिएर भारत र पाकिस्तानमा आ-आफ्नै चर्चा छ । पाकिस्तानमा भएको चर्चामा सबैभन्दा बढी स्थान भारतले लाहोरलाई लिएर यस्तो सिनेमा बनाउँदा पाकिस्तानका सिनेमेकरहरू चाहिँ के हेरेर बसेका ? भन्ने पनि छ । पाकिस्तानीहरूले सामाजिक संजालमा आफ्नो देशका सिने निर्माता र लेखकहरूलाई ‘तिमीहरूको दिमागमा चाहिँ यस्तो किन नआएको ?’ भनेर आलोचना गरिरहेका छन् । कतिले चाहिँ लाहोरको हिरामण्डीलाई बढी नै ‘ग्लोरीफाइ’ गरिएको प्रतिक्रिया दिएका छन् । टेलि श्रृङ्खलामा देखाइएजस्ता महल हिरामण्डीमा कहिल्यै थिएनन् भन्नेहरू पनि छन् । प्रतिक्रिया जे-जे आएपनि मुगल कालदेखिको धेरै पुरानो तवायफ संस्कृतिलाई लिएर मानिसहरूलाई मजाले भुलाउने श्रृङ्खला बनेको छ । ब्यापक चर्चा पाउन सफल ऐतिहासिक श्रृङ्खलामा मुख्य भूमिका निर्वाह गरेकी मनिषा कोइरालाले जिन्दगीको फरक मोडमा पुगेर फेरि एक पल्ट आफूलाई फरक महसूस गर्ने अवसर पाएकी छन् ।