फोहोर ब्यवस्थापनको माग गर्दै नगरप्रमुखलाई तीन पार्टीका नेताको ज्ञापन

फोहोर ब्यवस्थापनको माग गर्दै नगरप्रमुखलाई तीन पार्टीका नेताको ज्ञापन


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा जिल्लाको सदमुकामसमेत रहेको अमरगढी नगरपालिकाका नगरप्रमुख (मेयर) लाई जिल्लाका तीन पार्टीका नेताले ज्ञापनपत्र बुझाएका छन् । अमरगढी नगरप्रमुख डिल्लीराज जोशीलाई नगरपालिकामा संकलित फोहोरमैला फाल्ने ठाउँ हटाइपाउँ भनी तीन जना नेताले ज्ञापनपत्र बुझाएका हुन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालिकामा नेपाली काङ्ग्रेस (बीपी)का तर्फबाट मेयर पदका उम्मेदवार हरिप्रसाद भट्ट, ने.क.पा एमालेबाट उपमेयर पदका उम्मेदवार यज्ञराज अवस्थी र अमरगढी–९ स्वतन्त्रबाट अध्यक्ष पदका उम्मेदवार पदम बहादुर रोकायाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको काँग्रेस (विपी)का नेता हरिप्रसाद भट्टले जानकारी दिए ।

अमरगढी-५ को मुख्य बजारक्षेत्र बसपाकबार्ट केही मिटर पूर्व अनपा-१ मालम जाने बाटोमा नगरपालिकाको संकलित फोहरलाई फाल्ने कार्य सुरु गरेकोमा स्थानीय जनताले उठाएको गुनासोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञापनपत्र उल्लेख छ । सुदूरपश्चिम प्रदेशकै केन्द्रमा रहेको सदरमुकाम क्षेत्रमा फोहोर फाल्न लगाउनुलाई सम्पुर्ण डडेल्धुरा नै दुर्गन्धित बनाउने प्रयासको रूपमा बुझिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

डडेल्धुराको मुख्य बजार बागबजारनजिकै रहेको ऋषिखोला सामुदायिक वन क्षेत्रमा एक महिनादेखि अमरगढी नगरपालिकाले बजार क्षेत्रको फोहर फाल्दै आएपछि पानीका मुहान दुषित हुने र वातावरणीय प्रभावसमेत अत्यन्त नकारात्मक पर्ने भएका कारण तत्काल हटाएर विकल्प खोज्न नगरपालिकालाई ज्ञापनपत्रमार्फत् आग्रह गरिएको छ ।

ऋषिखोलाकै विभिन्न मूलहरूबाट अमरगढी वडा नं. ८ र ९ का सम्पूर्ण टोलमा खोनेपानी जाने भएकाले मुहानकै मुखमा नगरपालिकाले फोहर लगेर थुपारिदिनु गैरजिम्मेवार र पूर्वाग्रह भएको र, यसरी जनताको भविष्यमाथि नै खेलबाड गर्ने प्रत्यक्ष रूपमा मुलहरू दुषित बनाउने कुत्सीत मनसायका साथ गरिएको यस निर्णयप्रति घोर आपत्ति रहेको ज्ञापनपत्रमा उल्लेख छ । नगरपालिकाले बजारछेउमै फोहरमैला फाल्ने काम तत्काल रोकेर नयाँ ठाउँ खोज्नुपर्ने उनीहरूको जिकिर छ ।

वातावरणीय दृष्टिकोणले यस क्षेत्रलाई गम्भीर पर्यावणीय प्रभाव पारी नगरवासीहरूका लागि विभिन्न किसिमका रोग निम्ताउने बाटो नगरपालिकाले खोल्दै छ, यसरी जनताको भविष्यमाथि खेलबाड गर्ने, प्रत्यक्ष रूपमा पानीका मुलहरू दुषित बनाउने कुत्सित मनसायका साथ गरिएको यस निर्णयप्रति घोर आपत्ति रहेको ब्यहोरा ज्ञापनपत्रमा उल्लेख भएको छ ।

‘उक्त निर्णय सच्याइ फोहोरमैला ब्यवस्थापनका लागि सरोकारवाला पक्षको भेला बोलाएर वातावरणीय प्रभाव मुल्याङ्कन गरी ब्यवस्थापनमा आफुहरूको समेत सहयोग रहने जनाउँदै हचुवाको भरमा फोहोर फाल्ने प्रवृत्तिबाट उत्पन्न हुने अप्रिय परिणामको लागि स्वयम् नगरपालिका जिम्मेवार हुनेप्रति स्थानीय जनताले उठाएको गुनासोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ । नगरपालिकाले फोहोर मैला ब्यवस्थापनमा गरेको त्रुटिप्रति जिल्ला प्रसासन कार्यालय र डिभिजन वन कार्यालय डडेल्धुरालाई समेत ध्यान दिन अनुरोध गरिएको नेता यज्ञराज अवस्थीले बताए ।

वैकल्पिक रूपमा फोहोरलाई ब्यवस्थापन गर्न मात्रै वन क्षेत्रमा फोहोर संकलन गरिएको र फोहोर ब्यवस्थापनको पहलमा नगरपालिका लागिरहेको नगरप्रमुख जोशीको भनाइ छ ।